काठमाडौं । रुस र युक्रेनबीच जारी युद्धका कारण नेपाल सरकारले दैनिक ५० करोड रुपैयाँ नोक्सान व्यहोर्न थालेको छ । सरकारको एकल नियन्त्रणमा रहेको उर्जा तथा इन्धनको आपूर्तिका लागि सरकारलाई दैनिक रुपमा सो बराबरको नोक्सानी हुन थालेको हो ।
युद्धको प्रभावले विश्व बजारमा कच्चा तेल तथा कोइलाको मूल्य उच्च भएको छ । मूल्य बढ्दा यसको प्रत्यक्ष तथा अप्रत्यक्ष दुवै प्रभाव नेपालको उर्जा तथा इन्धनको आपूर्तिमा देखिएको छ ।
कोरोनाभाइरस महामारीको संक्रमण कम हुँदै गएसँगै विश्व बजारमा बढ्दै गएको इन्धनको खपतका कारण कच्चा तेलको मूल्यमा उच्च वृद्धि भयो । सोही प्रभावले नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनबाट इन्धन किन्दा लाग्ने मूल्यमा समेत उच्च वृद्धि भयो । पछिल्लो मूल्यसूची अनुसार मात्रै निगमले दैनिक २७ करोड रुपैयाँ बराबरको नोक्सानी ब्यहोरिरहेको छ ।
अहिले यही युद्धको प्रभाव विद्युत् व्यापारमा पनि परेको छ । सुख्खा यामका कारण विद्युत् आपूर्ति कम हुँदा अहिले नेपालले भारतबाट बिजुली आयात गरिरहेको छ । तर, पछिल्लो समय कोइलाको मूल्य बढ्दा यसरी आयात हुने बिजुलीको मूल्य समेत बढेको छ ।
भारतमा थर्मल पावर प्लान्टबाट उत्पादन हुने बिजुली मात्रै एक्सचैञ्ज बजारमा बिक्री गर्न पाउने नियम छ । कोइलाको मूल्य बढ्दा कोइलाबाट सञ्चालन हुने उक्त प्लान्टको लागत बढ्दै गएको छ । सोही कारण नेपालले किन्ने बिजुली महँगो बनेको छ ।
बुधबार नेपालले सो बजारमा २० भारतीय रुपैयाँ प्रतियुनिट तिरेर बिजुली किन्नेगरी बोलबकोल गरेको छ । यो मूल्यमा विद्युत् खरिद गर्दा लागत समेत ३८ रुपैयाँ मूल्य पर्न आउँछ ।
तर, अहिले प्राधिकरणले स्थानीय बजारमा औसत ९ रुपैयाँमा बिजुली बिक्री गरिरहेको छ । अहिले दैनिक ७ हजार मेगावाट घण्टासम्म बिजुली किन्ने तयारी प्राधिकरणको छ । यसो गर्दा दैनिक २२ करोड रुपैयाँ नोक्सान हुने प्राधिकरणको प्रक्षेपण छ । सरकारको मूर्ण स्वामित्वको संस्थानको हैसियतमा यो समेत सरकारकै नोक्सानी हो ।
यसरी उर्जा र इन्धनको समेत गरी नेपाल सरकारले झन्डै ४९ करोड नोक्सानी व्यहोर्नु परेको छ । यद्यपि एक हप्ताभन्दा बढी यही मूल्य पर्ने अवस्थामा भने प्राधिकरणले नोक्सानी थेग्न नसक्ने प्राधिकरणका कार्याकारी निर्देशक कुलमान घिसिङ बताउँछन् ।


