images
images

५ वर्षको उपलब्धि समेटेर सूर्यविनायक नगरपालिकाले निकाल्यो ४३० पेजको पुस्तक


  • 525
    SHARES
  • २०७८ चैत्र १४ गते सोमबार

    ५ वर्षको उपलब्धि समेटेर सूर्यविनायक नगरपालिकाले निकाल्यो ४३० पेजको पुस्तक

    भक्तपुर । सूर्यविनायक नगरपालिकाले ५ वर्षमा भएका उपलब्धि समेटेको पुस्तक सार्वजनिक गरेको छ । २०७४ बैशाखमा स्थानीय जनप्रतिनिधिहरु निर्वाचित भएपछि अहिलेसम्म भएका नगरपालिकाका समग्र गतिविधि समेटेर ‘सूर्यविनायक दर्पण’ नामक पुस्तकको आइतबार एक कार्यक्रमबीच लोकार्पण गरिएको हो । उक्त पुस्तक ४ सय ३० पृष्ठको छ ।  

    नगरपालिकाले आयोजना गरेको उक्त कार्यक्रममा वाग्मती प्रदेशसभाका सांसदहरु शशीजंग थापा, र सरस्वती वाटी, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, मध्यपुरथिमिका नगर प्रमुख मदनसुन्दर श्रेष्ठ सहभागी थिए । उनीहरुले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरेका हुन् । 

    कार्यक्रममा प्रदेश सभा सदस्य शशीजंग थापाले संघ, प्रदेश र स्थानीय तहको राम्रो समन्वय भयो भने विकासमा अपार उपलब्धि हासिल गर्न सकिन्छ भन्ने उदाहरण सूर्यविनायक नगरपालिका प्रस्तुत गरेको बताए ।

    स्थानीय तहमा ०५४ साल पछिको रिक्तताको खाडल यो पाँच वर्षमा पुरा गर्ने सक्दो प्रयास गरेको भन्दै उनले आगामी बैशाख ३० गते हुने निर्वाचनमा जनताले विकासको मूल्यांकन गर्ने बताए । कार्यक्रममा वाग्मती प्रदेश सांसद सरस्वती वाटीले पुस्तकले सूर्यविनायकको सम्पूर्ण विकास झल्काएको बताइन् । 

    कार्यक्रममा जिसस प्रमुख नवराज गेलालले स्थानीय तहले गरेको पाँच वर्षे विकासको चित्रण गर्दै यो अवधिमा भएको परिवर्तनको ऐना यो पुस्तक भएको बताए ।

    मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठले आफ्नो नगरपालिकाले चैत १ गतेदेखि नै स्वघोषित आचारसंहिता लागू गरेको भन्दै नगरपालिकाका अरु जनप्रतिनिधिले साथ नदिए पनि नगरको विकासलाई अगाडि बढाउन आफू सफल भएको बताए ।

    कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले जनप्रतिनिधि आएपछि सूर्यविनायकमा के के भयो भन्ने जान्न यो पुस्तक हेरे पुग्ने भन्दै जनतासँग गरेको प्रतिबद्धता पुरा भयो कि भएन भनेर जनताले नै मूल्यांकन गर्नसक्ने बताए । 

    नगरपालिकामा दुई दलको प्रतिनिधित्व हुँदा पनि कहिले पनि प्रतिपक्ष र सत्तापक्षको व्यवहार नभएको भन्दै नगरपालिकाको काममा सबै एकजुट भएर लाग्दा विकासले फड्को मारेको चर्चा गरे । 

    कार्यक्रममा नगरपालिकाका पूर्वाधार विकास समितिका संयोजक एवं वडा नं. ७ का वडाध्यक्ष रवीन्द्र सापकोटा, नगरपालिकाका प्रवक्ता एवं वडा नं. ९ का वडाध्यक्ष उपेन्द्र केसीलगायतले पाँच वर्षमा धेरै काम गर्न सफल भए पनि अझै काम गर्न धेरै बाँकी रहेको बताए । 


    images

    Logo