images
images

सिभिल बैंकको नाफा ३९ प्रतिशत बढ्यो, निष्क्रिय कर्जामा उच्च सुधार


  • 489
    SHARES
  • २०७८ बैशाख ९ गते बिहीबार

    सिभिल बैंकको नाफा ३९ प्रतिशत बढ्यो, निष्क्रिय कर्जामा उच्च सुधार

    काठमाडौं । सिभिल बैंकको नाफा ३९ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको ९ महिनामा ५० करोड २५ लाख नाफा कमाएको सिभिलले खुद नाफाको आकाकार ३९.३९ प्रतिशतले बढाएको हो । अघिल्लो वर्षको चैतसम्म यस्तो नाफा ३६ करोड रुपैयाँ मात्रै थियो । 

    नाफामा मात्रै नभएर यो अवधिमा बैंकले निक्षेप तथा कर्जा विस्तारमा पनि निकै ठूलो प्रगति गरेको छ । सिभिलले ८५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ७७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष यस्तो निक्षेप ५७ अर्ब र कर्जा लगानी ५२ अर्ब रुपैयाँ मात्रै थियो । 

    हाल ८ अर्ब ६४ करोड रुपैयँ चुक्त पुँजी रहेको सिभिलसँग रिजर्भ फण्डमा १ अर्ब ६४ करोड रुपैयाँ छ । करिब ५३ करोड नबाँडिएको नाफासहित सिभिलसँग शेयरधनीको सम्पत्ति १० अर्ब ६६ करोड रुपैयाँ रहेको देखिएको छ । 

    ५० करोड हाराहारीमा नाफा कमाउन सिभिलले ४ अर्ब ९८ करोड रुपैयाँ ब्याज आम्दानी गरी ३ अर्ब ४४ करोड रुपैयाँ खर्च गरेको छ । त्यस्तै, गैरब्याज आम्दानीतर्फ सिभिलले करिब ६ करोड रुपैयाँ आम्दानी गरेको छ । बैंकले कर्मचारी खर्चतर्फ ७६ करोड ५३ लाख तथा अन्य सञ्चालन खर्चतर्फ ३७ करोड २३ लाख रुपैयाँ खर्च गरेको छ । 

    बैंकले निष्क्रिय कर्जा अनुपात घटाउने सम्बन्धमा ठूलो सफलता पाएको छ । अघिल्लो वर्ष २.९६ प्रतिशत रहेको सिभिलको निष्क्रिय कर्जा १.२५ प्रतिशतमा झरेको छ । बैंकको जोखिम कम देखिएपछि राष्ट्र बैंकले इम्पेरिमेन्ट चार्ज पनि घटाइदिएको छ । एनपीएल घटेपछि खराब ऋणको लागि गरिएको प्रोभिजन बढेर १ सय ७३ प्रतिशत पुगेको छ । 

    व्यवसाय विस्तारको आकार बढेसँगै सिभिलको पुँजीकोष अनुपात भने कसिलो बन्दै गएको छ । अहिले त्यस्तो अनुपात ११.४३ प्रतिशतमा झरेको छ । यो अनुपात हालका लागि पर्याप्त भए पनि काउन्टरसाइक्लिकल बफर लागुभएको अवस्थामा यो अपुग हुुन जान्छ । यद्यपि यसले भविष्यमा बोनस शेयरको सम्भावनालाई भने बढाएको छ ।

    हाल बैंकको आधारदर ७.८२ प्रतिशत, व्याजदर अन्तर ३.३८ प्रतिशत र सीसीडी अनुपात ८०.३० प्रतिशत रहेको छ ।


    images

    Logo