काठमाडौं । श्रीलंकाको मन्त्रिपरिषद्का सबै मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । विदेशी मुद्रा सञ्चितिको अभावका कारण चरम आर्थिक संकटबाट गुज्रिरहेको सो देशका मन्त्रीहरुले महिन्दा राजपाक्षेसमक्ष आइतबार राती सामूहिक राजीनामापत्र बुझाएका हुन् । अहिले मन्त्रिपरिषद्मा २६ जना मन्त्री छन् । मन्त्रीहरुले सम्हाल्दै आएको कार्यभार अब प्रधानमन्त्री राजपाक्षेले सम्हाल्ने छन्।
अहिले श्रीलंकामा दैनिक उपभोग्य वस्तु समेत नपाउने अवस्था सिर्जना भएको छ । सो विरोधमा प्रदर्शन बढ्दै गएपछि सरकारले केही क्षेत्रमा कर्फ्यु समेत लगाएको छ । तर, कफ्युको समेत उल्लंघन गर्दै जनता सडकमा उत्रिएपछि मन्त्रिहरुले सामूहिक राजीनामा दिएका हुन् । यद्यपि प्रधानमन्त्री राजपाक्षेले भने अहिलेसम्म राजीनामा दिएका छैनन् । बरु प्रदर्शन बिरुद्ध सरकारले सेना परिचालन गरेको छ ।
यसरी राजीनामा दिने मन्त्रिहरुमा प्रधानमन्त्री राजपाक्षेका छोरा नमल राजपाक्षे समेत छन् । राजीनामापछि प्रधानमन्त्री राजपाक्षेले नयाँ नयाँ मन्त्रिमण्डल गठन सुरु गरेका छन् ।
विदेशी मुद्राको अभावकै कारण श्रीलंकामा अहिले चरम उर्जा र खाद्य संकटको अवस्था छ । दैनिक २ तिहाइ समय बिजुली जाने गरेको छ भने पेट्रोलियम पदार्थ पाउन समेत छाडिएको छ । पछिल्लो समय सार्वजनिक सवारी सञ्चालनमा समेत समस्या सुरु भएको छ । यही कारण देश ‘हाइपर इन्फ्लेसन’को अवस्थामा पुगेको छ ।


