काठमाडौं । अहिले फैलिएको कोरोना संक्रमणमा सरकार र आम सर्वसाधरणलाई सहयोग गरेर फेरि एक पटक निजी क्षेत्रले आफूलाई अब्बल सावित गरेर देखाएको छ । संक्रमण व्यवस्थापनको काममा सरकार धेरै ठाउँमा असफल भै रहँदा निजी क्षेत्र भने दरिलो खम्बा बनेर उभिएको छ । गत वर्ष कोरोनाको पहिलो लहर सुरु भएदेखि व्यापार व्यवसाय बिग्रिदै गएपनि व्यवसायीले यो महामारीलाई सहयोग गर्ने अवसरको रुपमा उभ्याएका छन् ।
गत वर्ष कोरोना कहर शुरु हुँदा राज्य कोषमै सहयोग गरेर सरकारलाई सघाएको निजी क्षेत्रले दोस्रो लहरसँगै आफ्नै खुलेर राज्यलाई सघाउन थालेका हुन् । अहिले गरिएको यो सहयोगलाई हेर्दा राज्यलाई संकट तथा आपत्त विपद पर्दा साथ दिने भनेको आखिरमा उद्यमी व्यवसायी नै हुन् भन्ने कुरालाई प्रमाणित गरिदिएको छ ।
कोरोनाको दोस्रो लहरले दैनिक तीन अंकमा स्वास्थ्य उपचार नपाएकै कारण ज्यान जान थालेपछि उनीहरूले आ–आफ्नो अग्रसरतामा सहयोगका हातहरू अघि बढाएका हुन् । पक्कै पनि उनीहरूको यो सहयोगले मृत्युवरण गर्ने अवस्थामा पुगेका आम नेपालीको जीवन रक्षा गर्न सहयोग मिल्नेछ ।
विषम परिस्थितिमा पनि निजी क्षेत्र आफ्नो दायित्व बोधबाट पछि नहटनु साँच्चै सुखद संयोग हो । सरकारले अहिले धेरै स्वास्थ्य सामग्री अरुसँंग मागेर वा सहयोगको भरमा चलाएको छ । तर, निजी क्षेत्रले भने आफ्नो बल बुताले सरकारलाई नगददेखि स्वास्थ्य सामग्री तथा आइसोलेस वार्ड नै बनाएर जनताको सेवामा जुटेको छ । त्यतिले मात्रै नभएर अस्पताल बनाउने देखि अक्सिजन प्लान्ट राख्ने सम्मका काममा निजी क्षेत्रका सहयोगी हातहरू जुटने भएको छ ।
गत वर्ष सरकारलाई राम्रै सहयोग गरेको बैंक तथा वित्तीय संस्थाहरू भने अहिलेसम्म सहयोगका लागि जुटेको छैन । बैंक तथा वित्तीय संस्थाले सामाजिक उत्तरदायित्वभित्रको कोषबाट यो क्षेत्रका लागि आफ्नै छुट्टै अस्पताल बनाउन खोजिरहेका छन् । बीमा क्षेत्रपनि यसरी नै अल्मल्लिरहेको छ । यी बाहेक अन्य निजी क्षेत्र भने सहयोग गर्ने यहि बेला हो भनेर आमजनताको जीवन रक्षाका लागि सरकारलाई साथ दिँदै सहकार्यमा जुटेका छन् ।
कुनै पनि काम गर्दा पुच्दै नपुच्ने अर्थात जहिले पनि अन्तिममा राख्ने अनि सधै पेल्ने सरकारले अब उप्रान्त अप्ठेरो पर्दा निजी क्षेत्र चाहिन्छ भन्ने मात्रै सोच्यो भने आउँदा दिनमा यस्तो खालका महामारी तथा विपद आइपर्दा यसको व्यवस्थापन अझ सहज तरिकाबाट व्यवस्थापन गर्न सकिने अवस्था सिर्जना भएको छ । देशलाई अप्ठ्यारो पर्दा अहिले गरेको सहयोगलेले यसरी नै आगामी दिनमा पनि निजी क्षेत्रको साथ र सहयोग मिल्ने आशा विश्वास गर्न सकिने आधार तय भएको छ ।
अहिले निजी क्षेत्रबाट सरकारले पाएको साथ र सहयोग साँच्चै सरहना गर्न लायक छ । निजी क्षेत्रले गरेको काम र राष्ट्र तथा जनताप्रति देखाएको सेवाभाव र सहयोगी मनको यो काम साँच्चै सलाम गर्न योग्य छ ।
कुन उद्यमी तथा व्यवसायीले कहाँ र कसरी गरे सहयोग ?
बतास फाउन्डेशन
बतास फाउन्डेशनले राज्यलाई नागरिकको ज्यान बचाउन धौ धौ परेका बेला ‘१०० रुपैयाँ दान गरौं, महामारीमा प्राण राखौं’ भन्ने मूल नारा बोकेर गण्डकी अस्पतालमा ३ वटा अक्सिजनको प्लान्ट जडान गर्न लागेको हो । मानिसको ज्यान बचाउनका लागि सबैभन्दा महत्वपूर्ण वस्तु अक्सिजन भएकाले भन्दै यो कार्य अघि बढाएको हो ।
अहिले सो कार्यका लागि ३ करोड ३८ लाख रुपैयाँको प्रतिवद्धता भइसकेको छ भने ९१ लाख रुपैयाँ बैंकमै जम्मा भएको छ । केही दिनअघिदेखि ५३ लाख रुपैयाँ सिड मनी राखेर बतास फाउन्डेशनले यो अभियान शुरु गरेको हो । फ्रान्सबाट अक्सिजन प्लान्ट ल्याएर गण्डकी अस्पतालमा जडान गर्न लागिएको हो ।
गोर्खा ब्रुअरीको २० करोडको स्वास्थ्य सामग्री सहयोग
तामासेक फाउन्डेसन सिंगापुर, लोटस लाइफ फाउन्डेसन सिंगापुर तथा गोर्खा ब्रुअरीले २० करोड मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ । गोर्खा ब्रुअरीको ३६ वटा भन्टिलेटरसहित कोभिड–१९ परीक्षण गर्ने टेष्ट किट, अक्सिमिटर, विपाप मेशिन तथा अन्य स्वास्थ्य सामग्री सहयोग गर्न लागेको हो ।
चौधरी फाउन्डेशन र नबिल बैंकको आईसीयू वार्ड र अक्सिजन प्लान्ट
चौधरी फाउन्डेसनले स्वास्थ्य प्रणाली सुधारको लागि भन्दै १० करोड खर्चने भएको छ । फाउन्डेसनले वीर अस्पतालमा १८ शैयाको आईसीयू वार्ड र चौधरी ग्रूपद्वारा प्रवद्र्धित नबिल बैंकले अक्सिजन प्लान्ट निर्माण गर्न सहयोग गर्ने सम्झौता नै गरिसकेको छ ।
आईएमएस ग्रूपले ५ सय अक्सिजन सिलिण्डर सहयोग
कोभिड–१९ को पहिलो भेरियन्ट आएका बेला माक्स सिलाउने मेशिन आयात गरेर बजारमा माक्सको आपूर्ति व्यवस्थापन मिलाएको आईएमएस ग्रूपले यो वर्ष पनि सरकारी अस्पताललाई अक्सिजनको सिलिण्डर प्रदान भएको छ । ग्रूपले अहिले अक्सिजन सिलिण्डर आवश्यकता देखिएमा अन्य सहयोग गर्ने योजना बनाएको छ ।
जेजीआईको पनि धूलिखेल अस्पतलालाई सहयोग
जावलाखेल ग्रूपले अफ इन्डस्ट्रिजले २ करोड रुपैयाँ सहयोग गरेको छ । ग्रूपले धुलिखेल अस्पताललाई १ करोड ३४ लाख २५ हजार रुपैयाँ र प्रदेशहरुमा सामुदायिक समूहको प्रयासको लागि सहयोग स्वरुप ७५ लाख प्रदान गरेको छ । उक्त सहयोग रकम आईसीयूका लागि आवश्यक उपकरण, अक्सिजन प्लान्ट र सिलिण्डरको प्रयोजनका लागि खर्च गर्ने प्रतिवद्धता धुलिखेल अस्पतालले गरेको छ ।
गोल्छा अर्गनाइजेसनको १ करोड रुपैयाँ सहयोग
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा प्रबन्ध निर्देशक रहेको गोल्छा अर्गनाइजेसनले पनि १ करोड रुपैयाँ सहयोग उपलब्ध गराएको छ । गोल्छा ग्रूपले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना संक्रमणको उपचारका लागि सहयोग उपलब्ध गराएको हो ।
लक्ष्मी हुण्डाईद्वारा ५० लाखको स्वास्थ्य सामग्री सहयोग
लक्ष्मी ग्रूपको हुण्डाईले ५० लाख बराबरको कोभिड–१९ उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरणमा सहयोग गरेको छ । कम्पनीले कोभिड उपचारको लागि आवश्यक पर्ने पीपीइ लगायतका स्वास्थ्य सामग्री गण्डकी प्रदेशलाई हस्तान्तरण गरेको हो ।
एनसेलद्वारा १५० अक्सिजन कन्सन्ट्रेटर्स सहयोग
एनसेल आजियाटा लिमिटेडले १५० थान भन्दा बढि अक्सिजन कन्सन्ट्रेटर्स स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहयोग गरेको गर्ने भएको छ । एनसेल कोभिड–१९ हटलाइन सेवा ९८०५५५४५०० मा फोन गरि कोरोनाभाइरस रोग सम्बन्धी कुनै पनि जिज्ञासा भए हटलाइन मार्फत चिकित्सक तथा स्वास्थ्यकर्मीसँग निःशुल्क स्वास्थ्य परामर्श लिन सकिने व्यवस्था गरेको छ ।
शंकर ग्रूप र इन्फिनिटी पनि सहयोगमा जुट्दै
व्यापारिक समूह शंकर ग्रूप र इन्फिनिटी होल्डिङ पनि यति बेला सहयोगमा जुटेका छन् । दुबै समूहले संयुक्त रुपमा हालसम्म ३ करोड ५० लाख रुपैयाँ भन्दा बढिको स्वास्थ्य सामाग्री, उपकरण र प्राविधिक सहयोग प्रदान गरेको छन् ।
इस्कोन नेपालले दैनिक ५ सयलाई खाना खुवाउँदै
इस्कोन नेपालले कोरोनो महामारी बढ्न थालेपछि वीर अस्पतालमा विरामीको सेवामा खटिने डाक्टर, नर्स, अन्य कर्मचारी तथा विरामी र विरामीका कुरुवालाई दिउँसोको खाना खुवाउन थालेको छ । इस्कोनले विरामीको सेवामा खटिने ५सय जना कर्मचारी तथा विरामी वा विरामीका कुरुवालाई पोषकतत्वयुक्त खाना खुवाउने उद्देश्य सहित यो अभियान शुरु गरेको हो ।
नेपाल उद्योग वाणिज्य महासंघ आईसोलेसन सेन्टर
नेपाल उद्योग वाणिज्य महासंघको अगुवाइमा उपत्यकामा २ सय वटा वेड भएको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याउने तयारी गरेको छ । महासंघले कोभिड संक्रमितका लागि कमलादीस्थित र क्षेत्रपाटीमा ड्राई आइसोलेसन सेन्टर निर्माण गरेर सञ्चालनमा ल्याएको छ ।
निम्न आय भएका र दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने संक्रमितलाई पौष्टिक आहारका साथै, सेवन गर्ने औषधि र स्वास्थ्य उपचार निःशुल्क उपलब्ध गराउने उद्देश्यसहित आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको हो । भक्तपुर र ललिपुरमा पनि यस्तै आईसोलेसन सेन्टर सञ्चालन गर्ने तयारी महासंघले थालिसकेको छ ।
त्यस्तै, महासंघले एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल’ अभियानको थालनी गरेको छ । ‘कोभिड संक्रमित भई घर वा अनय आइसोलेसनमा बसेका र चिकित्सकको परामर्श लिन चाहनेलाई पाँच जना डाक्टरमार्फत परामर्श दिइएकोे छ ।
बिहान ९ बजेदेखि १२ बजेसम्म र दिउँसो ३ बजेदेखि ६ बजेसम्मका लागि समय छुट्याइएको यो कार्यक्रमबाट परामर्श लिन २११११२११११ भाइवर नम्बरमा म्यासेज गरेर भिडियो संवाद पनि गर्न सकिने छ ।
चेम्बरको अक्सिजन सिलिण्डरदेखि एम्बुलेन्स सेवासम्म
विभिन्न सरकारी अस्पतालाई स्वास्थ्य सामग्री वितरण गरेको नेपाल चेम्बर अफ कमर्सले देशभरका सरकारी अस्पतालहरूलाई अक्सिजनको सिलिण्डर उपलब्ध गराउने गृहकार्य अघि बढाएको छ । चेम्बरको यो अभियानले सरकारी ठूला अस्पताललाई ४० र साना अस्पताललाई १५देखि २० वटासम्म अक्सिजनको सिलिण्डर उपलब्ध गराउने तयारी गरिरहेको छ ।
चेम्बरले अहिले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । आपत्कालीन स्वास्थ्य प्रयोजनका लागि बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म एम्बुलेन्स सेवा उपलब्ध छ । चेम्बरको यो सेवा लिन मोबाइल नम्बर ९८५१२१६०३९ मा सम्पर्क गर्न आमसर्वसाधारणलाई आह्वान गरेको छ ।
सीएनआईको करिब २ करोड बराबरको सहयोग
नेपाल उद्योग परिसंघ (सीएनआई) ले सरकारलाई अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको छ । परिसंघले करिब २ करोड मूल्य पर्ने ८ लिटर क्षमताका २०० थान अक्सिजन कन्सन्ट्रेटर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बुझाएको छ ।