images
images

नेपाल सुपरलिगको मेडिकल पार्टनर नर्भिक हस्पिटल


  • 1.5K
    SHARES
  • २०७८ बैशाख ९ गते बिहीबार

    नेपाल सुपरलिगको मेडिकल पार्टनर नर्भिक हस्पिटल

    काठमाडौं । ‘नेपाल सुपरलिग’ प्रतियोगिताको मेडिकल पार्टरमा नर्भिक हस्पिटल अनुबन्धित भएको छ । फ्रेञ्चाइज फुटबल प्रतियोगिताको रुपमा नेपालमा पहिलोपटक आयोजना हुन लागेको सो लिगको आधिकारिक मेडिकल पार्टनरको रुपमा नर्भिक अनुन्धित भएको हो । 

    नेपाल सुपरलिगको आयोजक संस्था नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्ट र नर्भिक अस्पतालबीच बुधबार सो सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा नर्भिकको तर्फबाट प्रबन्ध निर्देशक मेघा चौधरी र आयोजकको तर्फबाट कम्पनीका निर्देशक श्रेयांश कार्कीले हस्ताक्षर गरेका छन् । 

    सात टिमको सहभागिता रहने उक्त प्रतियोगिता बैशाख ११ गतेदेखि दशरथ रंगशालामा हुँदैछ । सो प्रतियोगिता स्वास्थ्यका सबै मापदण्ड पालना गरी आयोजना हुने आयोजकले जनाएको छ । प्रतियोगिता अवधिभर रंगशालामा उपस्थित खेलाडी र आयोजकका सदस्यमा देखा पर्नसक्ने आपतकालीन स्वास्थ्य समस्या समाधानका लागि नर्भिकको तर्फबाट ३ मेडिकल अफिसरसहितको टिम मैदानमै तैनाथ रहनेछ । 

    आधारभूत औषधि तथा अन्य स्वास्थ्य सामाग्रीसहितको नर्भिकको लोगो अंकित मेडिकल ब्याग खेलमा सहभागी प्रत्येक टिमका लागि उपलब्ध गराइने सम्झौतामा उल्लेख छ । 

    नर्भिकले यो अवधिमा खेलाडी तथा आयोजकका कुनै सदस्यको पीसीआर टेस्ट गर्नुपरे विशेष छुटमा त्यस्तो सेवा समेत उपलब्ध गराउनेछ । कुनै खेलाडीमा कोभिड संक्रमण देखिए तिनीहरुको नर्भिकमा उपचार गराउने क्रममा लाग्ने बेड चार्जमा २० प्रतिशत छुटको सुविधा समेत उपलब्ध हुनेछ । 

    रंगशालामा सम्भव नहुने उपचारका लागि कुनै खेलाडी, दर्शक वा आयोजकका सदस्यलाई अस्पताल लैजानु परे त्यहाँ लाग्ने सबै उपचार खर्च स्वयम् बिरामीले व्यहोर्नुपर्ने सम्झौतामा उल्लेख छ । कुनै खेलाडीलाई उपचारका लागि अस्पताल लैजानुपरे एक्स रे र एमआरई सेवामा नर्भिकले ५ प्रतिशत छुट दिनेछ । 

    सम्झौतापछि प्रतिक्रिया दिंदै नर्भिक इन्टरनेशनल हस्पिटलकी प्रबन्ध निर्देशक मेघा चौधरीले नेपालमै पहिलोपटक आयोजना हुन लागेको फ्रेञ्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिगसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताइन् । हरेक क्षेत्र र वर्गका मानिसहरुको स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर अगाडि बढिरहेको नर्भिकले आगामी दिनमा यस्तै अन्य इभेन्ट्सहरुमा समेत सहकार्य गर्ने नीति लिएको उनको भनाई छ । 

    नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्टको तर्फबाट सो कम्पनीका निर्देशक श्रेयांश कार्कीले नेपालमा गुणस्तरीय स्वास्थ्य सेवाको जग बसालेको नर्भिकजस्तो अन्तर्राष्ट्रिय स्तरको सेवा दिने अस्पतालसँग नेपालको पहिलो फ्रेञ्चाइज फुटबल लिगमार्फत सहकार्य गर्ने मौका पाएकोमा खुशी लागेको बताए ।


    images

    Logo