काठमाडौं । मुलुककै महत्त्वाकाङ्क्षी परियोजनाका रूपमा रहेको थानकोट–नागढुङ्गा–सिस्ने खोला सुरुङ मार्गको सुरुङ खन्ने काम आधा सकिएको छ । थानकोट–नागढुङ्गा–सिस्ने खोला सुरुङ मार्ग आयोजनाका प्रमुख नरेशमान शाक्यले सुरुङ खन्ने काम ५० प्रतिशत सकिएको जानकारी दिए । उनले नागढुङ्गा (पूर्व) र नौबिसे (पश्चिम) तर्फबाट सुरुङ खन्ने काम तीव्र गतिमा भइरहेको पनि बताए ।
अहिलेसम्म मुख्य सुरुङमार्गको पूर्वतर्फ ५ सय ८० मिटर र पश्चिमतर्फ ५ सय ८१ मिटर खनिएको छ । मुख्य सुरुङको कुल लम्बाइ २ हजार ६ सय ८८ मिटर रहेको छ । २ हजार ५ सय ५७ मिटर कुल लम्बाइरहेको सहायक (इभ्याकुएसन) सुरुङको अहिलेसम्म १ हजार ४ सय १३ मिटर सुरुङ खन्ने काम सम्पन्न भइसकेको छ ।
सहायक सुरुङको पूर्वतर्फ ८ सय २२ मिटर र पश्चिमतर्फ ५ सय ९१ मिटर खनिएको छ । सुरुङ मार्गभित्र सिर्जना हुनसक्ने आपत्कालीन अवस्थामा प्रयोगका लागि मुख्य सुरुङ मार्गको समानान्तर हुने गरी सहायक सुरुङ मार्ग निर्माण गरिएको हो ।


