काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा भक्तपुरको एउटै सेन्टरबाट आमाछाेरी सहभागी भएका छन् । भक्तपुरको गठ्ठाघरस्थित आस्था महिला विद्यालयबाट ३९ वर्षीया राम कुमारी पाण्डे र उनकी १६ वर्षीया छाेरी अस्मिता पाण्डे गठ्ठाघरकै इमानुयल इङलिस स्कुलबाट यस बर्षकाे एसइईमा सहभागी भएका हुन् ।
३४ बर्षकाे उमेरसम्म कलम समेत समाउन नजानेकी रामकुमारी उपचारका लागि अस्पताल, कामका लागि विभिन्न कार्यालय पुग्दा धेरै हण्डर खानु परेपछि पढ्ने दृढ इच्छा पलाएकाे बताउँछिन् ।

पढ्ने इच्छाशक्ति पलाए पनि उमेरले साथ नदिँदा अलमलमा परेकी पाण्डेलाई आस्था महिला स्कुलका बारेमा जानकारी पाएपछि राहत मिलेकाे थियाे ।
उमेर ढल्कँदा समेत पढ्न नपाएका र बीचैमा पढाइ छाडेका महिलालाई लक्षित गरी २०६४ सालमा स्थापना भएकाे उक्त विद्यालयबाट दस वर्षकाे अवधिमा पाण्डे जस्तै १ सय ४१ जनाले एसएलसी र एसइईमा सहभागिता जनाइसकेका छन् ।

साे विद्यालयबाट पाकाे उमेरमा एसइई पास गरेकामध्य केहीले स्नातकसम्म उतीर्ण गरिसकेको प्रधानाध्यापक विना देउजा बताउँछिन् । उनका अनुसार, विद्यालयबाट ६३ वर्षसम्मका आमाले एसईई पास गरेका छन् ।
प्रौढ कक्षामा पढ्नेहरूले पढ्ने इच्छा देखाएपछि २०६४ सालमा ३५ जना महिलनले पाँच/पाँच हजार रूपैयाँ संकलन गरी विद्यालयकाे स्थापना गरिएकाे देउजाकाे भनाइ छ ।



