वसन्त बस्नेत त्रियुगा नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट मेयरका उम्मेदवार हुन् । अघिल्लो पटक समेत मेयरका उम्मेदवार बनेका बस्नेतले झिनो अन्तरले निर्वाचन हारेका थिए । यसपटक पार्टीबाट सर्वसम्मत रुपमा सिफारिस भएर उनी उम्मेदवार बनेका हुन् ।
भित्री मधेशको जिल्ला भनेर चिनिने उदयपुरको सदरमुकाम गाईघाट बजार समेत रहेको यो नगरपालिका आफैंमा रणनीतिक महत्वको क्षेत्र हो । महाभारत र चुरे पर्वतको बीचमा रहेको यो उपत्यका पहाड र तराइलाई जोड्ने एउटा बजारको रुपमा चिनिन्छ । खोटाङ, भोजपुर जस्ता पहाडी जिल्लाहरुको केन्द्र रहेको यो शहर मदन भण्डारी लोमार्गको निर्माणसँगै थप मूलधारमा आएको छ ।
अघिल्लो पटक तात्कालिन एमालेले जितेको यो क्षेत्रका मेयर अहिले एकीकृत समाजवादीका छन् । केन्द्रीय रुपमा नेपाली काँग्रेसको नेतृत्वमै सत्ता गठबन्धनमा रहेका दुई दल यहाँ भने मित्रवत प्रतिस्पर्धामा छन् । यस्तो अवस्थामा चुनावी नतिजा कस्तो बन्ला भन्ने आम चासो समेत रहँदै आएको छ ।
यही अवस्थाबीच नयाँ निर्वाचनको तयारी र अवस्थाबारे मेयरका उम्मेदवार बस्नेतसँग कुराकानी गरिएको छ ।
स्थानीय निर्वाचनमा त्रियुगा नगरपालिकाको मेयरका लागि नेपाली काँग्रेसको उम्मेदवार बन्नुभएको छ । पार्टीले राष्ट्रिय रुपमा दिएको घोषणापत्रबाहेक स्थानीय रुपमा प्राथमिकताहरु के के छन् ?
नेपाली काँग्रेसले राष्ट्रिय रुपमा आफ्नो घोषणापत्र बनाएको छ । यसमा आधारभूत रुपमा स्थानीय तहले कस्तो कामगर्ने भन्ने दिशानिर्देश गरेको छ । हामीले त्यही घोषणापत्रलाई सहयोग हुने र त्रियुगा नगरपालिकाका स्थानीय समस्या र आवश्यकताको समेत सम्बोधन हुनेगरी स्थानीय घोषणापत्र बनाएका छौं ।
अघिल्लो पटक पनि हामीले स्थानीय आवश्यकताको आधारमा घोषणापत्र बनाएका थियौं । तर हामीले चुनाव हार्यौं । एमालेले पनि आफ्नै घोषणापत्र बनाएको थियो । तर, एमालेका आफ्नै घोषणापत्रमा गरिएका प्रतिवद्धताअनुसार समेत काम हुन सकेनन् ।
हाम्रो यस नगरपालिकामा अहिले नदी नियन्त्रणको सबैभन्दा ठुलो समस्या छ । यहाँ थुप्रै खहरे खोलाहरु छन् । ती खोलाहरुले वर्षेनी यहाँका किसानहरुको गाँस बास उठाइरहेको छ । त्यसलाई नियन्त्रण गर्नु पर्ने मुख्य आवश्यकता छ ।
अर्को समस्या बाटोघाटोको र छ । राष्ट्रिय राजमार्गबाहेक यहाँ स्तरीय बाटोहरु बन्न सकेका छैनन् । भएका सडकहरु पनि कालोपत्रे हुन सकेका छैनन् । सिँचाइको लागि खोलाबाट कुलो–कुलेसाहरू बनाउनु पर्नेछ, त्यो केही पनि भएको छैन ।
मेरो घोषणापत्रमा त्यस्तै, नदी नियन्त्रणका आयोजना, बाटोघाटो, कुलो कुलेसाहरू निर्माण गर्ने योजनाहरू छन् । यी कामहरु नगरको स्रोतबाट सम्भव भए यहीँबाट गर्ने, नगरपालिका आफैंले गर्न नसक्ने भए संघ र प्रदेशबाट गर्न पहल गर्नु पर्नेछ ।
यसको लागि मैले पहिल्यै नगरपालिकाको पञ्चवर्षीय गुरुयोजना बनाउने तयारी गरिरहेको छु । यस नगरपालिकाका विज्ञहरु र बाहिरका पनि केही विज्ञहरु राखेर यहाँका किसानका समस्या, मजदुरका समस्या, व्यापारी समस्या, युवाका समस्या सम्बोधन हुनेगरी वृहत गुरुयोजना बनाउने र त्यही अनुसार काम अघि बढाउने तयारी अघि बढेको छ ।
सो गुरुयोजना अन्तर्गत संघ र प्रदेश र नगरपालिका र बैदेशिक लगानीबाट बन्ने योजना समेत त्यही पर्नेछन् । त्यसभित्र चक्रपथ निर्माण, नगरबस सञ्चालन, सार्वजनिक जग्गा संरक्षण, खेल मैदान निर्माण, पार्कहरु निर्माण लगायत सबै योजनाहरु पर्छन् ।
त्यस्तै, नगरपालिकाको १४, १५ र १६ नम्बर वडा पर्यटन प्रवद्र्धनको दृष्टिले निकै राम्रो छ । हिलसाइड भएकोले अरु क्षेत्रमा गर्मी हुँदा यो क्षेत्र निकै शीतल हुने गर्छ । यो क्षेत्रमा पर्यटन प्रवद्र्धनको लागि व्यवसायिक होमस्टे, रिर्सोट बनाउन सकिन्छ । यहाँबाट भारत समेत नजिकै पर्ने भएकोले यहाँ भारतीय पर्यटकलाई समेत आर्षित गर्ने राम्रो सम्भावना छ ।
यहाँको शिक्षालाई पनि गुणस्तरीय बनाउनु पर्नेछ । स्वास्थ्य क्षेत्र अन्तर्गत त्रियुगा नगरपालिकाम एउटा मेडिकल कलेज स्थापना गर्नको लागि केन्द्रमा प्रस्ताव गर्ने योजना छ । अहिले यहाँ सगरमाथा विमानस्थल निर्माण गर्ने योजना बनेको छ । यसलाई छिटोभन्दा छिटो सम्पन्न गर्न पहल समेत गर्नु पर्नेछ ।
मैले आफ्नो घोषणापत्रमा कृषि क्षेत्रलाई पनि विषेश प्राथामिकता दिएको छु । अहिलेसम्म यहाँ वितरणमुखी बजेट छ । अब चाहिँ उत्पादनमुखी बजेट निर्माण गर्न खोजिरहेको छु । यसमा कृषि क्षेत्र, महिला उद्यमशीलता र रोजगारी र स्वरोजगारी क्षेत्रलाई बढी प्राथमिकता दिइन्छ ।
मेरो उद्देश्य भनेको नगरपालिकालाई बस्नलायक शहर बनाउने र मासिक ३०–३५ हजार रुपैयाँ कमाउने खाडी मुलुक जान नपर्ने बाध्यताको अन्त्य गर्ने हो । यही अनुसार घोषणापत्र बनेको छ ।
तपाइँले ५ वर्ष अगाडि पनि उठ्नुभएको थियो, तर जित्नुभएन । अहिलेको नेतृत्वबाट तपाइँले उठाएका के के काम भए, के के भएनन् ?
गत स्थानीय चुनावमा तात्कालिन नेकपा एमालेका बलदेव चौधरीले जित्नुभएको थियो । उहाँले मेरो घोषणापत्र होइन, आफ्नै घोषणापत्र अनुसार समेत काम गर्न सक्नुभएन । नगरपालिका आफ्नो जनताप्रति केही उत्तरदायी हुन सकेन । यही कारण जनताहरु उहाँप्रति निराश छन् ।
जनप्रतिनिधि भएपछि हामी जनताका हरेक समस्याप्रति उत्तरदायी बन्नुपर्छ । यहाँको विकास र यहाँको सुशासनका लागि काम गर्नुपर्छ । तर, यो ५ वर्षमा त्यस्तो प्रत्याभुति नै हुन सकेन । त्यसैले त्रियुगाका जनताहरु नयाँ र सक्षम नेतृत्वका लागि प्रतिक्षारत छन् ।

गत निर्वाचनमा पनि पार्टी तपाइँलाई टिकट दिएको थियो । तर, आफ्नै पार्टीभित्रको असहयोगले हारेको भन्ने कुरा पनि आयो । यसपटक निर्वाचन जित्ने आधार के छ ?
अघिल्लोपटक मैले हार्दा मैले मात्रै हारिन, सम्पूर्ण त्रियुगाले हार्यो । सक्षम नेतृत्व नहुँदाको अवस्था के हुँदो रहेछ भन्ने कुरा त्रियुगामा स्थानीयवासीले बुझेका छन्, हाम्रो पार्टीले पनि त्यो महशुस गरेको छ । त्यसैले यसपटक सबैले काँग्रेसलाई जिताउनुपर्छ भनेर लागिरहनुभएको छ । त्यसले गर्दा कार्यकर्तामा हौसला बढेको छ ।
यो उदयपुर जिल्लाको सदरमुकाम मुख्य केन्द्र भएको हुनाले सबै नेताहरु यो चुनावलाइ महत्वपुर्ण रुपमा लिएर चुनावको प्रचारमा लागिरहनु भएको छ । सबैको ध्यान यो निर्वाचन जित्नै पर्ने भएकाले सबैको उत्साह छ, सबै राम्रो नै छ । हिजो हारेको कुरा सत्य हो, हिजो हारे पनि आज जित्नु पर्छ भनेर हामी लागि परेका छौं ।
अहिले चुनावी प्रचार प्रसारलाई चाहिँ तपाइँले कसरी अगाडी बढाउनु भएको छ ?
चुनावी प्रचार प्रसारमा चाहिँ वडा वडामा जाने क्रम हाम्रो जारी छ । १ देखि १० नम्बर वडासम्मको कार्यक्रम हामीले सम्पन्न गरिसकेका छौं । त्यसपछि घरदैलो, कोणसभा, सामुहिक भेटघाट यही अनुसार चुनावी कार्यक्रम अगाडी बढिरहेको छ ।
२७ गते केन्द्रीय स्तरका नेताहरुको सहभागितामा खुला चुनावी सभा गर्ने कार्यक्रम छ । त्यो दिन केन्द्रिय महामन्त्रीको २७ गते दिउँसो आमसभा राखिएको हुनेछ ।
अहिले देशभर ५ दलीय गठबन्धनको माहौल छ । त्रियुगामा चाहिँ किन गठबन्धन हुन सकेन ?
स्थानीय जनता र मतदाताको दबाबका कारण हामी स्वतन्त्र भएर चुवान लड्नुपर्ने अवस्था आएको हो । केन्द्रीय नेतृत्वले गठबन्धन हुन नसकेको अवस्थामा मित्रवत् प्रतिस्पर्धा गर्ने भनेको छ । हामी त्यही अनुसार प्रतिस्पर्धा गर्छौं ।
केन्द्रीय गठबन्धनमा रहेका माओवादी र नेकपा एकीकृत समाजवादी त तालमेलमा छन् । कतिको चुनौती देख्नुहुन्छ ?
चुनौती केही पनि छैन । नेपाली काँग्रेस भनेको सबैभन्दा दह्रो संगठन हो । हाम्रो संगठन हरेक टोलमा पुगेको छ । गठबन्धन टोलीको जम्मा ३–४ वटा वडामा वडा कमिटी छ । एउटा वडामा २० वटा टोल कमिटी छ । त्यसैले अरु सबै एकै ठाउँमा हुँदा पनि हाम्रो पार्टीले जित्ने निश्चित छ ।

अहिलेसम्मको अवस्था हेर्दा कति मत ल्याउन सक्छु भन्ने आँकलन गर्नुभएको छ ?
अहिलेको अवस्था हेर्दा करिब ४३ हजार मत खस्नसक्ने देखिएको छ । त्यसमा २५ हजार मतसहित म विजयी हुन्छु भन्ने विश्वास मैले लिएको छु ।
मेयरमा तपाइँले जित्दै गर्दा नगरसभामा तपाइँको उपस्थिति चाहिँ कति बलियो होला ? नगरसभामा अल्पमतमा हुँदा मेयरले काम गर्न नपाएको÷नसकेको उदाहरण पनि छन् ।
हाम्रो नगरसभामा कुल ८२ जना सदस्य निर्वाचित हुने व्यवस्था छ । हामी ८२ वटै सीट जित्नेगरी तयारी अघि बढाइरहेका छौं । त्यसो भएन भने पनि नगरसभामा आरामदायी बहुमतका साथ हाम्रो उपस्थिति हुनेछ, हामी निर्वाचित हुनेछौं ।
अन्त्यमा आम मतदातालाई के भन्न चाहनुहुन्छ ?
त्रियुगावाासी आम नागरिकसँग नेपाली काँग्रेसलाई मतदान गर्न आग्रह गर्दछु । केही परिवर्तनको लागि अँध्यारो हैन उज्यालोको लागि म लगायत मेरो टोलीलाइ मतदान गर्न अनुरोध गर्दछु ।


