भक्तपुर । भक्तपुरका चार वटै स्थानीय तहमा जित हात पार्न ठुला राजनीतिक दलहरु अन्तिम कसरतमा लागेका छन् । आज राती १२ बजेपछि मौन अवधि शुरु हुने र प्रचारप्रसार गर्न नपाइने भएकाले जित हातपर्ने अन्तिम प्रचारप्रसारमा दलहरु लागेका हुन् ।
सोही क्रममा नेपाली काँग्रेसले मंगलबार मध्यान्ह चाँगुनारायणको हेलमेट डाँडामा अन्तिम चुनावी सभा गर्दैछ । सो चुनावी सभाको प्रमुख वक्ताका रुपमा नेपाली काँग्रेसका महामन्त्री गगन थापा उपस्थित हुने नेपाली काँग्रेसले जनाएको छ ।

सोमबार मात्र नेपाली काँग्रेस र माओवादी केन्द्र गठबन्धनले मध्यपुर थिमिको बालकुमारीमा चुनावी सभाको आयोजना गरेको थियो । सभामा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मदन कृष्ण श्रेष्ठ, नेकपा माओवादी केन्द्रका बाग्मती प्रदेश इन्चार्ज हितमान शाक्य, केन्द्रीय सदस्य दिलिप प्रजापतिले सम्बोधन गरेका थिए ।
यसैगरी, नेपाली काँग्रेसका जिल्ला सभापति दुर्लभ थापा, गठबन्धनका तर्फबाट मध्यपुर थिमिका नगर प्रमुखका उम्मेदवार एवं नेपाली काँग्रेस नगर समितिका निवर्तमान अध्यक्ष सुरेन्द्र श्रेष्ठ, उप प्रमुखका उमेद्वार एवं नेकपा माओवादी केन्द्रका मध्यपुर थिमि अध्यक्ष विजय श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

त्यसैगरी नेकपा एमालले पनि मंगलबार जिल्लाका तीन वटा नगरपालिकामा अन्तिम चुनावी सभा गर्ने भएको छ । एमालेले मध्यपुर थिमि, सुर्यविनायकको चक्रपाणी चोक र नलिनचौकमा र भक्तपुरको दत्तात्रयमा चुनावी सभा गर्ने भएको हो । ती सबै सभामा पोलिटब्युरो सदस्य तथा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले प्रमुख अतिथिका रुपमा सम्बोधन गर्ने नेकपा एमालेले जनाएको छ । त्यसैगरी राप्रपा लगायतका दलले पनि अन्तिम चुनावी सभा आयोजना गर्ने जनाएका छन् ।
निर्वाचन कार्यालय भक्तपुरका अनुसार आसन्न निर्वाचनमा जिल्लाको चार नगरमा ९ सय २८ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।

मध्यपुरमा गठबन्धन र एमालेबीच प्रतिस्पर्धा
भक्तपुरको मध्यपुर थिमिमा नगरप्रमुखमा १३ र उपप्रमुखमा ७ जनाको उम्मेदवारी परेपनि गठबन्धन र एमाले उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । २०७४ मा भएको निर्वाचनमा मध्यपुर थिमिमा उपप्रमुख सहित छ वटा वडामा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका थिए ।
नगरप्रमुखमा भने मजदुर किसान पार्टी (नेमकिपा) सँग तालमेल गरेका नेकपा एमालेका मदनसुन्दर श्रेष्ठ निर्वाचित भएका थिए । त्यतिबेला एमालेले एउटा वडाअध्यक्ष मात्र जितेको थियो । श्रेष्ठ यसपटक पनि एमालेका तर्फबाट उम्मेदवार बनेका छन् । तर, यसअघि जस्तो नेमकिपासँग श्रेष्ठको एलाइन्स भने छैन । एमालेले उपप्रमुखमा उत्तरा नेपाललाई उम्मेदवार बनाएको छ ।

नेपाली काँग्रेसले नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरेर सुरेन्द्र श्रेष्ठलाई नगर प्रमुखमा उमेद्वार बनाएको छ । सो गठबन्धनका तर्फबाट नेकपा माओवादीका बिजय श्रेष्ठ उप प्रमुखमा उम्मेदवार बनेका छन् ।
अघिल्लो निर्वाचनमा मध्यपुर थिमिमा एमालेसँग गठबन्धन गरे पनि उपप्रमुखमा पराजित भएपछि यसपटक नेमकिपाले एक्लै उम्मेदवारी दिएको छ । नेमकिपाले मध्यपुर थिमि नगरप्रमुखमा आशाहरि प्रजापति र उपप्रमुखमा दिक्षा बाडेलाई उम्मेदवार बनाएको छ ।

सुर्यविनायकमा पनि गठबन्धन र एमालेबीच प्रतिष्पर्धा
नगरप्रमुखमा १२ र उपप्रमुखमा ८ जना चुनावी मैदानमा उत्रिएको सुर्यविनायक नगरपालिकामा पनि गठबन्धन र एमालेका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । नगरपालिका प्रमुखमा २०७४ सालको निर्वाचनमा एमालेका तर्फबाट विजयी भएका वासुदेव थापा पुनः प्रमुखको उम्मेदवार बनेका छन् । सो निर्वाचनमा एमालेले उप प्रमुख, सात वडा अध्यक्ष सहित बहुमत सदस्यमा जित हात पारेको थियो ।
गठबन्धनको तर्फबाट सूर्यविनायक नगरप्रमुखमा नेपाली काँग्रेस सुर्यविनायक नगर समितिका सभापति निशान ढुङ्गेल उम्मेदवार बनेका छन् । सो नगरमा एकिकृत समाजवादी र नेपाली काँग्रेसले गठबन्धन गरेका हुन् ।

गठबन्धनका तर्फबाट उप प्रमुखमा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष श्याम बस्नेत उम्मेदवार बनेका छन् । गठबन्धनको तर्फबाट नगरप्रमुखका उमेद्वार ढुङ्गेलले निर्वाचनमा विजयी भए जनताले दिएको मतदानको गुण तिर्न कुनै कसर बांकी नराख्ने बताए ।
राजधानीसँग जोडिएको नगरलाई थप व्यवस्थित बनाउन पूर्वाधार विकासका अलवा शिक्षा, स्वास्थ्य जस्ता आधारभुत कुराहरु निःशुल्क उपलव्ध गराउने ढुंगेलको भनाइ छ । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट सुर्यविनायकका तीन वटा वडाअध्यक्ष सहितका जनप्रतिनिधि निर्वाचित भएका थिए ।

सुर्यविनायकमा नेकपा माओवादी केन्द्रले छुट्टै उम्मेदवार उठाएको छ । केन्द्रको तर्फबाट सूर्यविनायक नगरप्रमुखमा कल्पदिप राई र उपप्रमुखमा नमूना चौलागाइँ उम्मेदवार छिन् । त्यसैगरी नेमकिपाको तर्फबाट प्रमुखमा श्यामु बिसुंके र उपप्रमुखमा चनमती खुलिमुलीले उम्मेदवारी दिएकी छन् । राप्रपाको तर्फबाट नगरप्रमुखमा राधिका रानाभाट र उपप्रमुखमा प्रविण शर्मा ढुङ्गेलको उम्मेदवारी परेको छ ।
अघिल्लो निर्वाचनमा सूर्यविनायक नगरपालिका प्रमुखमा निर्वाचित थापाले आफु निर्वाचित भएपछि सबै जनप्रतिनिधिलाई समेटेर विकास निर्माण गरेको भन्दै नगरलाई थप व्यवस्थित गर्न पुनः उमेद्वारी दिएको बताएका छन् । आफ्नो पा“च वर्षे कार्यकालमा सडक, शिक्षा, स्वास्थ्य, खानेपानीका क्षेत्रमा उल्लेख्य सुधार गरेको थापाको भनाई छ । एमालेका तर्फबाट उपप्रमुखमा सरिता भट्टराई (तिमिल्सिना) चुनावी मैदानमा छन् ।
चाँगुनारायणमा त्रिपक्षीय प्रतिस्पर्धा
भक्तपुरकै अर्को नगरपालिका चा“गुनारायणमा भने नगरप्रमुखमा २० र उप्रमुखमा ९ जनाको उम्मेदवारी परेको छ । चा“गुनारायण नगरमा एमाले, कांग्रेस र राप्रपा मुख्य प्रतिस्पर्धी देखिन्छ ।

त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । सो नगरमा नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच प्रतिस्पर्धा हुने देखिएको हो ।
चांगुनारायणमा नेपाली कांग्रेसका तर्फबाट क्षेत्रीय सभापति जीवन खत्री, अघिल्लो निर्वाचनमा एमालेको तर्फबाट नगरउपप्रमुखमा निर्वाचित बिणा बास्तोला र राष्ट्रिय प्रजातन्त्र पार्टीका सह महामन्त्री रविन्द्र प्रताप शाहबीच कडा प्रतिस्पर्धा हुने देखिएको हो ।
त्यसैगरी उप प्रमुखमा नेपाली कांग्रेसका तर्फबाट सुभद्रा काफ्ले, एमालेको तर्फबाट रमेश बुढाथोकी र राप्रकाकी मञ्जु कार्की बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । अन्य नगरमा तालमेल भएपनि यो नगरमा काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले छुट्टाछुट्टै उम्मेदवार उठाएका छन् ।

नगर प्रमुखका लागि नेपाली काँग्रेसका खत्रीले नगरलाई भ्रष्टाचार मुक्त बनाइ सुशासन कायम गर्न, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक लगायतका विकास निर्माण, पर्यटन प्रवर्द्धन, कृषिमा आधुनिकीकरण लगायतका काम गर्ने प्रतिबद्धता जनाएका छन् । २०७४ सालको स्थानीय र प्रदेश निर्वाचनमा नेकपा एमालेले विजयी हात पारेको सो क्षेत्रमा २०७६ को उपनिर्वाचनमा नेपाली काँग्रेसका कृष्णलाल भँडेल प्रदेश सांसदमा निर्वाचित भएका थिए ।
सो नगरमा नेकपा माओवादी केन्द्रको तर्फबाट नगरप्रमुखमा नरेश खत्री र उपप्रमुखमा चण्डिका पाण्डेको उम्मेदवारी परेको छ । अघिल्लो निर्वाचनमा केन्द्रको एमालेसँग गठबन्धन थियो । चाँगुनारायण नगरप्रमुखमा नेमकिपाका तर्फबाट केशवप्रसाद तिमल्सिना र उपप्रमुखमा कल्पना लामाको उम्मेदवारी छ ।

भक्तपुरका वडा नेमकिपाबाट वडा खोस्ने दाउमा अन्य दल
भक्तपुर नगरप्रमुखमा १४ र उपप्रमुखमा ९ जनाको उम्मेदवारी परेको छ । अघिल्लो स्थानीय निर्वाचनमा भक्तपुर नगरपालिकाको १० वटै वडामा नेमकिपाका उम्मेदवार विजयी भएका थिए ।
यसपटक केही वडा नेमकिपाबाट खोस्ने दाउमा अन्य दल लागेका छन् । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) पकड रहेको एक मात्र नगर भक्तपुरका केहि वडा हातपार्न नेपाली कांग्रेस र नेकपा एमाले लागि परेका हुन् ।
भक्तपुर नगर क्षेत्रकै मतका कारण नेमकिपाले प्रतिनिधिसभा र प्रदेशसभामा एक÷एक सिट जित्न सफल हुँदै आएको छ । अघिल्लो निर्वाचनका नगरप्रमुख विजयी सुनिल प्रजापति र उपप्रमुख रजनी जोशी सहित ७ वटा वडाका वडाध्यक्ष समेतले पुनः उम्मेदवारी दिएका छन् । सो नगरमा नेमकिपा २०३९ बाट लगातार बिजयी हुंदै आएको छ । सो नगरमा पछिल्लो समय अन्य दलमा आस्था राख्नेहरुको संख्या वृद्धि हुँदै गएको स्थानीयको दावी छ ।
गठबन्धन दलले अघिल्लो निर्वाचनमा प्रजापतिका निकटतम प्रतिद्धन्द्धी कांग्रेस नेता रामप्रसाद कासुलालाई नै उम्मेदवार बनाएको छ । त्यसैगरी गठबन्धनबाट उपप्रमुखमा एकीकृत समाजवादीका तर्फबाट ओमचरण अमात्य उम्मेदवार बनेका छन् । एमालेका तर्फबाट भक्तपुर नगरप्रमुखमा रविन्द्र लाछिमस्यू र उप्रमुखमा रञ्जना खर्बुजा उम्मेदवार रहेका छन् । माओवादी केन्द्रले नगरप्रमुखमा तुल्सीभक्त सुवाल र उपप्रमुखमा इन्द्रमाया सुवाललाई उम्मेदवारी दिएको छ ।
भक्तपुर नगरप्रमुखमा नगरपालिकाद्धारा संचालित देको मिवा इँटा पाके जग्गा एकीकरण आयोजना पीडित किसानले स्वतन्त्र उम्मेदवारी समेत दिएका छन् । जनप्रतिनिधिले पीडितको पक्षमा काम नगरेको, पीडितले भेट्न खोज्दा समय नदिएको, आयोजना लम्ब्याएर जग्गाधनीलाई दुःख दिएको, जथाभावी जग्गा कटौती गर्ने लगायत असन्तुष्टी जनाउँदै पीडितको आवाजलाई सम्बोधन गर्ने प्रतिबद्धता सहित सत्य त्वायनाले नगरप्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
त्वायनासँगै पीडितकै तर्फबाट भक्तपुर वडानम्बर २ मा सञ्चज्ञान याकामी र ६ मा रामप्रसाद कुम्पाखले स्वतन्त्र उम्मेदवारी दिएका छन् । याकामी पीडित संघर्ष समितिका अध्यक्ष समेत हुन् ।


