काठमाडोैं । कोरोनाको जोखिम बढ्न थालेपछि वैशाख १० गते शुक्रबारदेखि पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्र आसपासका मन्दिर बन्द गरिने भएको छ ।
पशुपतिनाथ, गुह्येश्वरीलगायत मन्दिरमा नित्य पूजा भने निरन्तर जारी रहने विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले राससलाई जानकारी दिए । फैलँदै गइरहेको नयाँ भेरियन्टसहितको कोभिड १९ को सङ्क्रमण नेपालमा समेत बढ्दै जान थालेपछि रोकथाम तथा नियन्त्रणका लागि सङ्क्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सरकारले स्वास्थ्य मापदण्ड जारी गरेकाले त्यसैअनुसार मन्दिर बन्द गरिएको कोषले आज जारी गरेको सूचनामा उल्लेख छ ।
सोही ऐनको दफा ४ ले दिएको अधिकार प्रयोग गरी अर्को व्यवस्था नभएसम्मका लागि पशुपतिनाथ, गुह्येश्वरीलगायत मन्दिर बन्द गरिने उहाँले बताउनुभयो । पशुपति क्षेत्रका मठ मन्दिरमा नित्य पूजाबाहेक अरु सबै क्रियाकलाप गर्न निषेध गरिएको छ । यसबाट भक्तजनमा पर्न गएको असुविधाप्रति कोषले क्षमा मागेको छ ।
मन्दिर बन्द गरिएसँगै पशुपति क्षेत्रको घाट सेवामा पनि सरकारले तोकेको मापदण्डभन्दा बढी मानिस उपस्थित नहुन कोषले आह्वान गरेको छ । घाट सेवामा आउने सबैलाई अनिवार्य रुपमा मास्क लगाई स्वास्थ्य सुरक्षाका विधि अपनाउन कोषले आह्वान गरेको छ ।


