काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्धजयन्तीको अवसरमा सोमबार भगवान बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्दैछन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच सोमबार दिउँसो हुने द्विपक्षीय भेटमा जलविद्युत् आयोजना निर्माण, नेपालको भौतिक पूर्वाधारको विकास र कनेक्टिभिटी विस्तारका विषयमा केन्द्रित रहनेछ ।
बैठकमा समग्र पारस्परिक हित र चासोका साथै व्यापार, पर्यटन, लगानी र जनस्तरको सम्बन्ध अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ ।
वार्तामा शिक्षा र स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा विकास सहायता, व्यापार सहजीकरण, आपसी लाभ, सहकार्य र साझेदारी प्रवद्र्धनलगायतका एजेण्डालाई जोड दिने परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले प्रधानमन्त्री देउवाको भर्खरको भारत भ्रमण र त्यस अवसरमा भएको समझदारीपत्रको समीक्षा गरिने जानकारी दिए । ‘यसैगरी आयोजना र पहललाई द्रुत गतिमा कार्यान्वयनका लागि अपनाउनुपर्ने उपायबारे पनि विचार आदानप्रदान हुनेछ,’ शर्माले थपे ।
‘मलाई आशा छ शिक्षा, स्वास्थ्य, कनेक्टिभिटी विस्तार र सांस्कृतिक क्षेत्रमा साझेदारी सुदृढीकरण सम्बन्धी एजेन्डाहरू वार्ताको केन्द्रबिन्दु बन्नेछन्’, राजदूत शर्माले थपे।
प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डलमा गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा, विज्ञान तथा प्रविधि, मुख्य सचिव, परराष्ट्र सचिव र राजदूत शर्मालगायत मन्त्रालयका मन्त्री सहभागी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्यसैगरी, प्रधानमन्त्री मोदीको नेतृत्वमा रहेको भारतीय प्रतिनिधिमण्डलमा परराष्ट्र सचिव, परराष्ट्र मन्त्रालयका सहसचिव र काठमाडौंस्थित भारतीय दूतावासका कार्यबाहक नम्ग्या खम्पा सहभागी छन् ।


