काठमाडौं । देशभरका ११ उपमहानगरपालिकामध्ये २ वटाको नतिजा आएको छ । बाराको जितपुर सिमरा र दाङको घोराही उपमहानगरपालिको नतिजा आएको हो ।
सिमरामा सत्तारुढ गठबन्धनको तर्फबाट माओवादी उम्मेदवारले जित निकाल्दा घोराहीमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । सिमरामा माओवादीका राजन पौडेलले एमालेकी सरस्वती चौधरीलाई झन्डै १ हजार मतान्तरले पराजीत गरे । पौडेलले १८७४३ मत ल्याउँदा चौधरीले १७७७९ मत ल्याइन् ।
यहाँको उपमेयरमा भने एमालेका भोलाप्रसाद अधिकारी विजयी भएका छन् । उनले १७४९२ मत ल्याउँदा नेपाली काँग्रेसकी मेघा शाहीले १५८४२ मत ल्याइन् ।
यहाँ वडा अध्यक्षमा काँग्रेसले वडा नम्बर १, ५ १८, २२ र २४। एमालेले २, ३, ६, ७, ८, १२, १३, १४, १६, १७, २०, २१ र २३, माओवादीले ४, ११, १५ र १९, लोकतान्त्रि समाजवादी पार्टीले ९ र नेकपा एकीकृत समाजवादीले १० नम्बर वडा जितेका छन् ।
दाङको घोराहीमा एमालेका नरुलाल चौधरीले ३१७२८ मतसहित विजय हासिल गर्दा उनका प्रतिद्वन्द्वी माओवादीका हेमराज शर्मा पोख्रेलले २६३६८ मत प्राप्त गरे । उपप्रमुखमा समेत एमालेकै हुमाकुमारी डीसीले ३०४०३ मत ल्याउँदा काँग्रेसका भुपबहादुर डाँगीले ३०३५४ मत ल्याए ।
घोराहीको वडा अध्यक्षमा एमालेले वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ११, १२, १४, १७ र १८, काँग्रेसले १०, १३, १५, १६ र १९ र माओवादीले वडा नम्बर ९ मा जित हासिल गरेका छन् ।
११ उपमहानगरपालिका मध्ये बाँकी ९ वटाको मतगणना हुँदैछ । इटहरीको धरानमा अहिले स्वतन्त्र उम्मेदवार हर्कराज राइले अग्रता लिइरहेका छन् । उनलाई नेपाली काँग्रेसका किसोर राइले पच्छ्याइरहेका छन् ।
इटहरीमा काँग्रेका उम्मेदवार हेमकर्ण पौडेल १६५०८ मतसहित अगाडि छन् । उनलाई एमालेका यामकुमार सुब्बाले १३८७९ मतसहित पच्छ्याइरहेका छन् ।
धनुषाको जनकपुर उपमहानगरपालिकमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडीले अग्रता बनाइरहेका छन् । उनले एमालेका उम्मेदवारलाई निकै पछाडि पारेका छन् ।
बाराको कलैयामा एमाले उम्मेदवार विनोद साहले फराकिलो अग्रतासहित अगाडि छन् । उनले १३ हजार मत कटाउँदा काँग्रेसका राजश राय यादवले ८ हजार मतमात्रै ल्याएका छन् ।
उता हेटौंडा उपमहानगरपालिकामा अहिले एकीकृत समाजवादीकी मीनाकुमारी लामा अगाडि छिन् । उनले १५५१२ मत ल्याउँदा एमालेका अनन्तप्रसाद पौडेलले १४५४० मत ल्याएका छन् । यसअघि पहिलो स्थानमा समेत पुगेको राप्रपाको १३९८८ मत आएको छ ।
वुटवल नगरपालिकामा काँग्रेसका खेरलारज पाण्डेय ५ हजार बढी मतान्तरले अगाडि छन् । उनले १५८८९ मत ल्याउँदा एमालेका बाबुराम भट्टराईले १०५८९ मत ल्याएका छन् ।
हिजोदेखि मात्रै मतगणना सुरु भएको दाङको तुल्सीपुरमा काँग्रेसका गेहेन्द्र गिरी झिनो मतान्तरसहित अगाडि छन् । उनले २८५६ मत ल्याउँदा एमालेका टीकाराम खड्काले २८३९ मत प्राप्त गरेका छन् ।
उता बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा काँग्रेसमा प्रशान्त विष्ट दोब्बर मतान्तरसहित अगाडी छन् । उनले १५ हजार भन्दा बढी मत ल्याउँदा एमालेका पशुपति दयाल मिश्रले ८ हजारभन्दा कम मत प्राप्त गरेका छन् ।
धनगढीमा भने स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता कायमै छ । उनले १३८२३ मत ल्याउँदा काँग्रेसका नृपबहादुर वडले ६७७२ मतमात्रै ल्याएका छन् ।
गणना भइरहेका ९ उपमहानगरपालिकामध्ये धरानमा कसले जित्छ भन्न सकिने अवस्था छैन । इटहरीमा काँग्रेसले जित्ने निश्चित हुँदा जनकपुरमा स्वतन्त्र उम्मेदवारले जित्ने निश्चित भएको छ ।
उता कलैयामा एमाले उम्मेदवारले जित्ने निश्चित देखिँदा हेटौंडामा एकीकृत समाजवादीले जित हासिल गर्ने देखिन्छ । बुटवलमा काँग्रेसले जित्ने निश्चितप्राय हुँदा तुल्सीपुरमा भने यसै भन्न सकिने अवस्था छैन ।
नेपालगञ्जमा काँग्रेस र धनगढीमा स्वतन्त्र उम्मेदवार हमालको जित हुने पक्का भइसकेको छ ।
यसरी हेर्दा उपमहानगरपालिकामध्ये धरान, हेटौंडा र तुल्सीपुरका लागि मात्रै गणना कुर्नुपर्ने अवस्था छ । अरु उपमहानगरमा भने कसले जित्छ भन्ने निश्चितजस्तै छ ।


