भक्तपुर । भक्तपुरका चार वटै नगरपालिका मतगणनाको नतिजा सर्वजनिक भएको छ । बुधबार बिहानै सूर्यविनायक नगरपालिकाको नतिजा आएसंगै सबै स्थानीय तहको नतिजा आएको हो । पछिल्लो नतिजा अनुसार, सूर्यविनायक नगरपालिकाको प्रमुखमा नेकपा एमाले उमेद्वार वासुदेव थापा विजयी भएका छन् । गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उमेदवार निशान ढुंगेललाई पराजित गर्दै थापा निर्वाचित भएका हुन् ।
मत परिणाम अनुसार जिल्लाका चार नगर मध्ये नेपाली कांग्रेसले दुई वटा नगर प्रमुख जितेको छ । कांग्रेसले मध्यपुर थिमि र चाँगुनारायण नगरपालिकाको प्रमुख जितेको हो । २०७४ को निर्वाचनमा कांग्रेसले मध्यपुरको उप प्रमुखमा मात्र चित्त बुझाएको थियोे । त्यसैगरी नेकपा एमालेले सुर्यविनायकको नगर प्रमुख र उप प्रमुख तथा चाँगुनारायणाको उप प्रमुखमा जित हात पारेको छ ।
त्यस्तै मजदुर किसान पार्टीले भक्तपुर नगरपालिकाको प्रमुख र उप प्रमुखमा जित हात पारेको छ भने माओवादी केन्द्रले मध्यपुर थिमिको उप प्रमुखमा जित हात पारेको छ ।
जिल्लाका ३८ वटा वडामध्ये नेपाली काँग्रेसले सबैभन्दा बढी १५ वटा वडामा जित हात पारेको छ । काँग्रेसले सूर्यविनायक नगरका १० मध्ये पाँच वडा अध्यक्ष जितेको छ। त्यस्तै मध्यपुरका ९ मध्ये १, २, ३, ५, ६ र ९ गरि छ वटा वडामा विजय भएको छ । त्यसैगरी चाँगुनारायणका नौ मध्ये १, २, ५ र ८ गरि चार वटामा जित हात पारेको छ ।
त्यसैगरी मजदुर किसान पार्टीले भक्तपुरका १० वटा सबै, मध्यपुरको ८ र चाँगुनारायणको ९ गरि १२ वडा जितेको छ ।
नेकपा एमालेले सूर्यविनायकका १, ५, ७, ८ र १० गरि पाँचवटा, मध्यपुर थिमिका ४ र ७ गरि दुईवटा र चाँगुनारायणका ३ र ४ गरि नौ वटा वडा जित्न सफल भएको छ ।
यसैगरी स्थानीय तहमा पहिलोपटक राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि चाँगुनारायण नगरपालिकाका ६ र ७ नं वडामा जित दर्ता गरेको छ ।


