काठमाडौं । प्रतिस्पर्धाको दुई पाटो हो हार र जित । प्रतिस्पर्धालाई स्वीकार्नु भनेको सम्भावित हार र जितलाई समेत सहर्ष स्वीकार गर्नु हो । तर, हाम्रोजस्तो मुलुकमा हारलाई सहज रुपमा स्वीकार गर्ने चलन छैन । निर्वाचनमा त यो अवस्था झनै धेरै लागु हुन्छ । धाँधली गर्ने, तोडफोड गर्ने, प्रतिस्पर्धीसँग पानी बाराबारको व्यवहार गर्ने कुरा हाम्रो लागि नौलो होइन । तर, यस्तो अवस्थालाई चिर्दै भक्तपुरको सूर्यविनायकमा मेयरका प्रमुख दाबेदारहरुले भने उच्च राजनीतिक चरित्र देखाएका छन् ।
भर्खरै सम्पन्न भएको निर्वाचनमा सूर्यविनायकको मेयरमा निर्वाचित बासुदेव थापालाई उनका निकटतम प्रतिस्पर्धी निशान ढुंगेलले घरमै गएर बधाई दिएका छन् । बिहीबार बिहान निर्वाचनको अन्तिम मतपरिणाममा थापा विजयी भएपछि उनले वडा नं. १० चित्तपोलस्थित मेयर थापाको घरमै गएर बधाइ दिएका हुन् । सो अवसरमा ढुंगेलले समृद्ध र सुशासित नगर बनाउने काममा मेयरलाई काँग्रेसको साथ र समर्थन रहने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

‘मैले उहाँलाई बधाई र शुभकामना दिएको छु । अब उहाँ मतदान गर्ने÷नगर्ने सबै नगरबासीको मेयर हुनुहुन्छ । सोही रुपमा जनताको काम गर्न आग्रह गरको छु ।,’ मेयरलाई बधाई दिएपछि ढुंगेलले भने, ‘नगरवासीको हितको लागि हुने सबै काममा नेपाली काँग्रेसको साथ र समर्थन रहने प्रतिवद्धता समेत गरेको छु ।’ यसैबीच ढुंगेलले नेपाली काँग्रेसका उम्मेदवारहरुलाई आफ्नो अमूल्य मत दिएर सहयोग गर्ने मतदातालाई धन्यवाद समेत दिए ।
त्यसो त यो सौहार्दता मतपरिणामपछि मात्रै देखिएको होइन । बैशाख १२ गते मनोनयन दर्ता गरेपछि समेत उनीहरु स्वच्छ प्रतिस्पर्धा गर्ने र जसले जिते पनि एक अर्काको सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए । निर्वाचन प्रचारप्रसार र घरदैलोका क्रममा समेत उम्मेदवारहरुबीच कुनै आरोप प्रत्यारोप भएन । त्यसो त थापा आफैं पनि विपक्षीप्रति उदार मेयर मानिन्छन् । अघिल्लो कार्यकालमा समेत मेयर भएका उनले नगरसभा र नगर कार्यपालिकामा आफ्नो २ तिहाई बहुमत हुँदा पनि विपक्षीले उठाएका प्रत्येक विषयलाई सम्बोधन गर्ने गरेका थिए । सोही कारण अघिल्लो कार्यकालमा बसेका नगरसभा र नगरपालिकाको बैठकका सबै निर्णयहरु सर्वसम्मत भएका थिए ।

पछिल्लो मत परिणाममा थापाले १४ हजार ७ सय ५८ मत प्राप्त गरेर विजयी हुँदा ढुंगलले १३ हजार २ सय ३२ मत प्राप्त गरेका छन् । नगरका १० वडा मध्ये ५ वटा वडामा नेपाली काँग्रेसका वडा अध्यक्ष निर्वाचित भएका छन् भने एमालेका पनि ५ वटा वडामा वडा अध्यक्ष निर्वाचित भएका छन् । नगरका २, ३, ४, ६, र ९ वडामा काँग्रेसका वडा अध्यक्ष चुनिएका छन् वडा १, ५, ७, ८, १० मा एमालेका वडा वडा अध्यक्ष चुनिएका छन् ।



