काठमाडौं । बैंकहरुले कर्जा सुरक्षणको शुल्क आधा घटाउन सरकारसँग माग गरेका छन् । बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा बापत गर्नुपर्ने सुरक्षणको शुल्क महँगो भएको भन्दै उनीहरुले यसलाई घटाउनुपर्ने माग गरेका हुन् ।
आगामी बजेटका लागि सुझाव बुझाउँदै बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले हाल धितोरहित कर्जा प्रवाहमा सुरक्षण वापत निक्षेप तथा कर्जा सुरक्षण कोषमा कर्जाको सुरक्षण (बीमा) गराउनुपर्छ । अहिले यस्तो शुल्क बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकबाट असुल उपर गर्दै आएका छन् ।
अहिले यस्तो सुरक्षण शुल्क ०.१६ प्रतिशत तोकिएको छ । यसलाई घटाएर ०.८ प्रतिशतमा सीमित गर्नुपर्ने बैंकहरुको माग छ । यस्तो शुल्क बैंकहरुको वित्तीय आवश्यकता अनुसार लागु गर्नुपर्ने समेत उनीहरुको माग छ ।
यस्तो शुल्क कम हुँदा बैंक तथा वित्तीय संस्थाको स्रोतको लागत कम हुन गई व्याजदर घट्न समेत सहयोग पुग्ने बैंकर्स संघको विश्वास छ ।


