काठमाडौं । सर्वोच्च अदालतले यसअघिको आफ्नै आदेश उल्ट्याएको छ । पत्नी हत्याको अभियोग लागेका सशस्त्र प्रहरी बलका पूर्व डीआईजी रञ्जन कोइरालाको कैद मिनाहा गर्ने आफ्नै फैसला उल्ट्याएको छ ।
कामू प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु टंकबहादुर मोक्तान र डा. कुमार चुडालको पूर्ण इजलासले यसअघि सर्वोच्च अदालतको संयुक्त इजलासले गरेको फैसला उल्ट्याएको हो ।
पूर्ण इजलासको यो फैसलापछि कारागारबाट रिहा भएका कोइराला अब करिब साढे ११ वर्ष कैद बस्नुपर्नेछ । उनी अहिलेसम्म साढे ८ वर्षमात्र कैद बसेका छन् ।
सर्वोच्चले यसअघि जिल्ला र पुनरावेदन अदालतबाट भएर आएको फैसलालाई बदर गर्दै सजाय घटाएको थियो । अहिले सर्वोच्चको सो फैसला उल्टिएर जिल्ला र तत्कालिन पुनरावेदन अदालतको फैसला सदर भएको हो ।