images
images

काँग्रेसलाई काठमाडौं महानगरमा शानदार बहुमत, मेयर बालेनलाई दोहोरो चुनाैती


  • 1.0K
    SHARES
  • २०७९ जेठ १३ गते शुक्रबार

    काँग्रेसलाई काठमाडौं महानगरमा शानदार बहुमत, मेयर बालेनलाई दोहोरो चुनाैती

    काठमाडौं । नेपाली काँग्रेसले काठमाडौं महानगरपालिकामा सानदार बहुमत हासिल गरेको छ । आज सम्पन्न मतगणना अनुसार १९ वडाको नेतृत्वसहित नगरसभा र नगर कार्यपालिकामा बहुमत हासिल गर्न सफल भएको हो । 

    अहिले काठमाडौंमा ३२ वडा छन् । प्रत्येक वडाबाट  नगरसभामा वडाध्यक्षसहित ५÷५ जनाको प्रतिनिधित्व हुन्छ । यसो गर्दा कुल १६० जना हुन आउँछ । त्यसमा मेयर र उपमेयर जोड्दा नगरसभाको आकार १६२ हुन्छ । 

    तर, वडा नम्बर २४ र २५ मा दलित महिला सदस्यतर्फ कसैको पनि उम्मेदवारी नपरेकोले नगरसभा १६० सदस्यमा सीमित हुन पुगेको छ । 

    १६० जना सदस्यमध्ये नगरसभामा बहुमत पुग्न कम्तीमा ८१ सदस्य चाहिन्छ । यो निर्वाचनमा काँग्रेसले ३२ मध्ये १९ वडाध्यक्ष, ६४ मध्ये ४० जना खुला वडा सदस्य, ३२ मध्ये १८ जना महिला सदस्य र ३० मध्ये १६ जना दलित महिला सदस्य गरि जम्मा ९३ जना सदस्य जितेको छ । 

    उता नेकपा एमालेले उपमेयरसहित ३२ वडाध्ये १२ वटा वडाध्यक्ष पदमा जीत निकालेको छ । त्यस्तै, ६४ जना खुला सदस्यमध्ये २२ जना, ३२ महिला सदस्यमध्ये १२ जना र ३० दलित महिला सदस्यमध्ये १३ जना निर्वाचित भएका छन् । यसो गर्दा महानगरमा एमालेबाट ६० जना निर्वाचित भएका छन् ।

    एकीकृत समाजवादीबाट भने एक जना वडाध्यक्ष, २ जना खुला सदस्य, एक जना महिला सदस्य र १ जना दलित महिला सदस्य समेग गरी ५ जना निर्वाचित भएका छन् । मेयरमा भने स्वतन्त्र उम्मेदवार बालेन्द्र साह निर्वाचित भएका छन् । 

    उल्लेखित सबै प्रतिनिधिहरु नगरसभाका सदस्य हुन् । मेयर गुमाएको काँग्रेस नगरसभामा स्पष्ट बहुमतसहित देखिएको छ । 

    कार्यपालिकामा पनि काँग्रेसको बहुमत

    उता नगर कार्यपालिकामा समेत काँग्रेसकै बहुमत छ । कार्यपालिकामा मेयर, उपमेयर र निर्वाचित सबै वडाध्यक्षहरु रहने व्यवस्था छ । निर्वाचित कुल ३४ जनामध्ये काँग्रेससँग १९ सदस्य छन् जुन बहुमत हो । 

    त्यसबाहेक समानुपातिक प्रतिनिधित्वका लागि महिला र दलित महिला कोटाबाट निर्वाचित क्रमशः ५ जना र ३ जना सदस्यलाई निर्वाचित प्रतिनिधिहरुको बहुमतबाट कार्यपालिका सदस्य बनाउने व्यवस्था छ । नगरसभामा काँग्रेसको बहुमत भएकोले यसरी निर्वाचित हुने थप कार्यपालिका सदस्य पनि काँग्रेसकै हुने निश्चित छ । यसो गर्दा काँग्रेस नगर कार्यपालिकामा समेत स्पष्ट बहुमतसहित रहने पक्का भएको छ ।

    एमाले उपमेयरसहित बलियो अवस्थामा

    स्थानीय सरकार सञ्चालन ऐनले उपमेयरलाई मुलतः न्यायिक समितिको जिम्मेवारी सम्हाल्ने र मेयर र कार्यपालिकाको कामलाई अनुगमन र नियन्त्रण गर्ने जिम्मेवारी तोकेको छ । बहुमत नभए पनि एमालेसँग सो जिम्मेवारी रहेको उपमेयर र ६० सदस्य छन् । नगर कार्यपालिकामा समेत एमालेसँग १३ जना सदस्य छन् । यसले सभा र कार्यपालिकामा एमालेको आवाजलाई समेत बलियो बनाउनेछ । 

    एकीकृत समाजवादीले एउटा वडामा क्लिनस्वीप गरेर १ वडाध्यक्षसहित ५ जना सदस्य जिते पनि नगर कार्यपालिकामा १ जना वडाध्यक्षको मात्रै प्रतिनिधित्व हुनेछ । 

    चुनौतीको चाङमा बालेन

    स्वतन्त्र रुपमा मेयरमा निर्वाचित भएका बालेन्द्र साह (बालेन) नगरसभा र नगर कार्यपालिका दुवैमा एक्लो छन् । निर्वाचनको समयमा कुनै पनि राजनीतिक दललाई गाली नगरेका कारण राजनीतिक दलको तारोमा नभए पनि सबै राजनीतिक दलको चुनौती उनी बनेका छन् । अब बर्षौंदेखि राजनीतिमा खारिएका वडाध्यक्ष र सदस्यसँगको तेतृत्व उनले गर्नुपर्नेछ । 

    बालेनलाई एउटा दललाई रिझाएर अर्को दललाई चिढ्याउने छुट समेत छैन । किनकी नगरपालिकामा बहुमतसहितको काँग्रेसलाई चिढ्याउँदा सभा वा कार्यपालिकाबाट अनुमोदन गर्नुपर्ने विषय अनुमोदन नै नहुनसक्ने खतरा हुन्छ । सशक्त उपस्थितिसहितको उपमेयरलाई चिढ्याउँदा पनि निवर्तमान मेयर विद्यासुन्दर शाक्यजस्तै अलोकप्रिय बन्ने कारण बन्न सकिन्छ । 

    त्यसो त, उनलाई स्वतन्त्र रहेर ५ वर्ष बिताउने समेत अर्को चुनौती छ । काठमाडौं महानगरपालिकामा चामत्कारिक जितसँगै उनलाई पार्टीमा ल्याउन सबै पार्टीले कसरत सुरु गरिसकेका छन् । आफूले चाहेका कामहरु गराउन समेत उनले एउटा पार्टीको साथ र सहयोग लिनुपर्ने अवस्थामा ५ वर्षमा उनलाई स्वतन्त्र उम्मेदवारकै रुपमा जनताले देख्न पाउँछन् कि पाउँदैनन् भन्ने हेर्न समेत बाँकी नै छ ।


    images

    Logo