काठमाडौं । सुदूरपश्चिम प्रदेशको घनगढीमा भौतिक संरचना निर्माण सम्पन्न भएको गेटा मेडिकल कलेजमा ३ सय शैयाको अस्पताल यसैबर्षदेखि सञ्चालनमा आउने भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमका सबै जनतालाई स्वास्थ्यमा पहुँच र स्वास्थ्य जनशक्ति उत्पादन गर्ने उदेश्यले एक दशक अघि गेटा मेडिकल कलेज स्थापना गर्ने निर्णय गर्नुभएको थियो । गेटा मेडिकल कलेजको भौतिक संरचना अहिले तयार भएको छ ।
यसै आर्थिक बर्षमा ३ सय शैयाको अस्पताल सुरु गर्न प्रधानमन्त्रीले स्वास्थ्य र शिक्षा मन्त्रालयलाई यसअघि नै निर्देशन दिईसक्नु भएको छ । प्रधानमन्त्रीको निर्देशन अनुसार यसै आर्थिक बर्षदेखि अस्पताल सुरु हुन लागेको हो ।
कांग्रेस नेतृ एवं कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवाको पहलमा गत चैतमा स्वास्थ्य सचिव डा. रोशन पोखरेलको संयोजकत्वमा राष्ट्रिय ट्रमा सेन्टरका कार्यकारी निर्देशक डा. प्रमोद जोशी सदस्यसचिव र शिक्षा, अर्थ र सामान्य प्रशासन मन्त्रालयका सचिव सदस्य रहेको एक विज्ञ समिति गठन भई स्थलतगत भ्रमण गरी अस्पताल संचालनको कार्ययोजना तयार गरेको थियो ।
उक्त कार्ययोजनाकै आधारमा तत्काल ३ सय सैयाको अस्पताल सञ्चालन गर्ने निर्णय स्वास्थ्य मन्त्रालयले गरेको हो । ‘हामीले गेट मेडिकल कलेजको स्थलगत अध्ययन गरेर कसरी छिटो भन्दा छिटो अस्पताल संचालन गर्न सकिन्छ भन्ने विस्तृत प्रतिवेदन पेश गरेका थियौ, सोही आधारमा यसै बर्षदेखि ३ सय शैय्याको अस्पताल संचालन हुने भएको हो’, डा. जोशीले भने ।
मेडिकल कलेज सञ्चालनका लागि कम्तिमा ३ सय शैय्याको अस्पताल ३ वर्षसम्म सञ्चालन भएको हुनुपर्ने प्रावधान छ । सोही प्रावधान अनुसार यस बर्षदेखि अस्पताल संचालन गरिने भएको हो ।
उक्त समितिले ७५ बिगाहा जमिनमा फैलिएको अस्पतालमा ढल, विजयली र पानीको तत्काल प्रवन्ध गर्नुपर्ने पनि सुझाव दिएको थियो । सोही सुझावका आधारमा आवश्यक सबै कामहरु यसै आर्थिक वर्षको सुरुदेखि अघि बढाइने भएको हो ।
गेटा मेडिकल कलेज शिक्षा मन्त्रालयको विश्वविद्यालय अनुदान सहयोग कार्यक्रमबाट भौतिक संरचना निर्माण सम्पन्न भएको हो । भौतिक संरचना निर्माण भएपछि तत्काल अस्पताल सञ्चालन गर्न नेतृ राणा विगत एक वर्षदेखि पहल गर्दै आएकी छिन् । राणाकै पहलमा यसै आर्थिक बर्षको बजेटमा अस्पताल संचालनका लागि माग भए अनुसारको २ अर्ब रुपैयाँ बजेट विनियोजनको प्रस्ताव भएर बजेटमा समावेश गरिएको छ ।
गेटा मेडिकल कलेज सञ्चालनमा डा. देउवाले पटक पटक विभिन्न बैठक, स्थलगत अध्ययन समिति बनाएर अगुवाई गरेपछि स्वास्थ्य मन्त्रालयको सिफारिसमा गत चैत ४ गते शिक्षा मन्त्रालयले तत्काल ३ सय शैयाको अस्पताल सञ्चालन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
कम्तीमा ३ सय शैय्या रहनेगरी तत्काल अस्पताल सञ्चालन गर्न शिक्षा सचिवले मन्त्रिपरिषदमा पेश गरेको प्रस्ताव छलफल भइ स्वीकृत गरी सो काम छिटोभन्दा छिटो सुरु गर्न प्रधानमन्त्रीले निर्देशन गरेका थिए ।
सरकारले गेटा अस्पताल सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयका ११ तहको चिकित्सक कार्यकारी निर्देशक हुनेगरी पद सिर्जना पनि गरेको छ । त्यसका साथै अन्य आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारी सरकारले काजमा वा करारमा लिएर खटाउन सक्ने पनि निर्णय गरेको छ । स्थानीय चुनावका कारण कार्यकारी निर्देशक नियुक्त लगायतका प्रक्रिया रोकिएपनि अब केही हप्तामै कर्मचारी नियुक्ती गरेर अस्पताल संचालन हुने बताइएको छ ।
‘यसै आर्थिक बर्षदेखि गेट मेडिकल कलेज ३ सय शैयाको अस्पताल संचालनमा आउँछ’, स्वास्थ्य सचिव डा. पोखरेलले भने । गेटा मेडिकल कलेजको भौतिक संरचना निर्माणको काम विगत १० बर्षदेखि सुरु भएको थियो । भौतिक पुर्वाधार सम्पन्न भएपछि डा. देउवाको अगुवाईमा अस्पताल सञ्चालन हुन लागेको हो ।
प्रत्येक प्रदेशमा कम्तीमा एउटा मेडिकल कलेज सञ्चालन गर्ने सरकारको नीति अनुसार गेटा मेडिकल कलेजको भौतिक संरचना तयार भएको हो । गेटा सुरु भए लगत्तै सुदूरपश्चिम क्षेत्रका सयौले रोजगारी पाउनुका साथै सुदूरपश्चिमको विकासमा एउटा फड्को मार्ने बताइएको छ ।


