काठमाडौं । सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट ल्याएको छ । आइतबार संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो बराबर बजेट ल्याएका हुन् ।
उक्त बजेटमध्ये चालु खर्चतर्फ ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्चतर्फ ३ खर्ब ८० अर्ब ३८ करोड र वित्तीय व्यवस्थातर्फ २ खर्ब २९ अर्ब ८३ करोड रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब २९ अर्ब ८३ करोड विनियोजन गरिएको छ ।
विनियोजित बजेटका लागि राजश्वबाट १२ खर्ब ४० अर्ब ११ करोड रुपैयाँ स्रोत परिचालन गरिने सरकारको लक्ष्य छ । त्यस्तै, सो आर्थिक वर्षमा द्विपक्षीय तथा बहुपक्षीय अनुदान वापत ५५ अर्ब ४६ करोड जुटाउने सरकारले अनुमान गरेको छ ।
यसबाट अपुग हुने रकममध्ये वैदेशिक ऋणबाट २ खर्ब ४२ अर्ब २६ करोड र आन्तिरिक ऋणबाट २ खर्ब ५६ अर्ब रुपैयाँ जुटाउने अनुमान गरिएको छ ।


