काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंमा रहेका रेष्टुरेन्टहरुको शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्ने तयारी गरेको छ । काठमाडौं महानगरपालिकाको कार्यपालिकाको पहिलो बैठकमा मेयर बालेन्द्र साहले यस्तो प्रस्ताव गरेका हुन् ।
यसका लागि महानगरपालिकाले काठमाडौंमा रहेका विभिन्न रेष्टुरेन्टसँग नगरवासीका लागि शौचालय प्रयोग गर्ने विषयमा सम्झौता गर्नेछ । सो सम्झौतापछि त्यस्ता शौचालयहरुलाई सार्वजनिक शौचालयको रुपमा म्यापिङ गरिनेछ ।
शहरबासीले गुगलमा म्याप हेरेर समेत शौचालयबारे थाहा पाउने र यसको निःशुल्क प्रयोग गर्न सक्नेछन् ।
बैठकमा मेयर साहले विस्तारै सार्वजनिक शौचालय विस्तार गर्दै जाने भए पनि तत्कालका लागि यस्तो व्यवस्था गर्न लागिएको बताए । साहले यसका लागि महानगरपालिकाले कुनै खर्च गर्न नपर्ने बताए । यसका लागि काठमाडाैं उपत्यकाभित्रका रेष्टुरेन्टहरु तयार रहेकाे समेत उनले जानकारी दिए ।


