images
images

व्यक्तिगत आयकरमा उदार सरकार : २० अर्बभन्दा बढी राजश्व घट्ने अनुमान


  • 482
    SHARES
  • २०७९ जेठ १७ गते मंगलबार

    व्यक्तिगत आयकरमा उदार सरकार : २० अर्बभन्दा बढी राजश्व घट्ने अनुमान

    काठमाडौं । बजेटमा प्रस्तावित गरेको आयकरको सीमाका कारण अहिलेको आयकरमा झण्डै २० अर्ब रुपैयाँसम्म गुम्ने भएको छ । आन्तरिक राजश्व विभागले विद्यमान प्रावधानले २० देखि २५ अर्ब बराबरको राजश्व कम हुनसक्ने अनुमान रहेको आन्तरिक राजश्व विभागमा महानिर्देशक रितेशकुमार शाक्यले जानकारी दिए । 

    सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा आगामी आर्थिक वर्षदेखि वार्षिक ६ लाख रुपैयाँसम्म आम्दानी हुने व्यक्तिलाई १ प्रतिशत मात्रै कर लाग्ने व्यवस्था गरिएको उल्लेख गरेको छ । यस्तो सीमा एकल व्यक्तिका हकमा भने ५ लाख कायम गरिएको छ । 

    अहिले दम्पत्तिले वार्षिक ४ लाख ५० हजार रुपैयाँ र अविवाहित एवं एकल व्यक्तिले वार्षिक ४ लाख रुपैयाँभन्दा बढीको आम्दानीमा १ प्रतिशत भन्दा धेरै आयकर तिर्नुपर्ने व्यवस्था छ ।

    यो व्यवस्था अनुसार दम्पत्तिले वार्षिक ६ लाख रुपैयाँ कमाइ गर्दा ६ हजार रुपैयाँ मात्रै कर तिर्नुपर्छ । यसअघि सोही कमाइमा २४ हजार ५ सय रुपैयाँ कर तिर्नुपर्छ । त्यस्तै, एकल व्यक्तिले ५ लाख रुपैयाँ कमाइ गर्दा १४ हजार ५ सय रुपैयाँ कर तिर्नुपर्ने व्यवस्था रहेकोमा अहिले ५ हजार रुपैयाँ मात्रै कर तिरे पुग्ने व्यवस्था गरिएको छ । 

    सरकारले न्यूनतम आयकरमो सीमा मात्रै बढाएको छैन । त्योभन्दा माथिका करमा स्ल्याबमा समेत उदार बनेको छ । यसअनुसार तोकिएको सीमाभन्दा २ लाख माथि कमाइ हुनेका लागि १० प्रतिशत मात्रै आयकर लाग्ने व्यवस्था गरिएको छ । यसअघि सीमाभन्दा १ लाख आयसम्मको आयका लागि मात्रै १० प्रतिशत कर लाग्ने व्यवस्था थियो । 

    नयाँ स्ल्याब अनुसार अब दम्पत्तिको हकमा ८ लाख रुपैयाँसम्म कमाइ गर्दा जम्मा २६ हजार रुपैयाँ मात्रै कर तिर्नुपर्छ । यसअघि ८ लाख रुपैयाँ कमाउँदा ६४ हजार ५०० रुपैयाँ कर तिर्नुपथ्र्यो । त्यस्तै, एकल व्यक्तिले ७ लाख रुपैयाँसम्म कमाउँदा जम्मा १६ हजार रुपैयाँमात्रै कर तिर्नुपर्छ । यसअघि ५४ हजार रुपैयाँ कर तिर्नुपर्ने व्यवस्था थियो । 

    यसपछिका स्ल्याब भने यथावत् राखिएको छ । जसअनुसार सम्पत्तिको हकमा ८ लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्म कमाइ गर्दा ३० प्रतिशत र सोभन्दा बढीका हकमा ३६ प्रतिशत करलाई तोकिएको छ । एकल व्यक्तिका लागि भने ७ लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्म कमाइ गर्दा ३० प्रतिशत कर तिर्नुपर्छ ।

    महानिर्देशक शाक्यले अहिलेको स्ल्याब अनुसार ठूलो संख्यामा नागरिकहरु १ प्रतिशत भन्दा धेरै करको दायराबाट बाहिरिने र दायरामा रहेका व्यक्तिहरुको समेत करभार निकै कम हुने बताए । 

    ‘१ प्रतिशत करको स्ल्याब ४/४.५ लाखलाई बढाएर ५/६ लाखमात्रै पुर्याएका छैनौं, त्योभन्दा माथि १० प्रतिशत कर लाग्ने सीमालाई १ लाखबाट बढाएर २ लाख पुर्याएका छौं । यसले पनि आयकरलाई घटाउँछ,’ महानिर्देशक शाक्यले भने ।  


    images

    Logo