काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले जीतको प्रतिशोध साँध्न आफ्ना वडाध्यक्षमाथि गम्भीर षडयन्त्र गरिएको जनाएको छ । चाँगुनारायण नगरपालिका–७ का वडाध्यक्ष श्यामकृष्ण नायाजु श्रेष्ठमाथि ठगी आरोप लागेपछि राप्रपाले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो । शुक्रबार भक्तपुरमा पत्रकार सम्मेलन आयोजना गर्दै राप्रपाका सहमहामन्त्री रवीन्द्रप्रताप शाहले ठगी हुनै नसक्ने विषयमा ठगीको आरोप लगाएर आफ्ना जनप्रतिनिधि र समग्र पार्टीकै बदनाम गर्ने प्रयास भएको उल्लेख गरे ।
वडाध्यक्ष श्रेष्ठ एवं चाँगुनारायण–७ कै केशवप्रसाद अधिकारी र भक्तपुर–८ का ईश्वर गाइजु मिलेर तात्कालिन सुडाल गाविस–४ (क) को कित्ता नम्बर ३९९ को जग्गा बिक्री गर्न बैना गरिएको आरोप लागेको छ । बैना गरिएको सो जग्गा सरकारी जग्गाको रुपमा कायम भएको भन्दै उनीहरुमाथि सरकारी जग्गा कीर्ते र ठगीको आरोप लगाइएको छ । सोही आरोपमा अधिकारी र गाइजुलाई प्रहरीले पक्राउ गरिसकेको छ भने वडाध्यक्ष श्रेष्ठलाई समेत खोजी गरिरहेको छ ।
तर, राप्रपाले भने वास्तविकता यसो नभएको जनाएको छ । उक्त जग्गा बिक्री गर्नको लागि जाहेरीवाला धनीराम राई र सुन्दर चामलिङ राईसँग २०७७ चैत ३० गते बिक्रीका लागि बैनापट्टा गरिएको थियो । त्यसरी बैना हुँदा पास गर्न ६ महिनाको भाखा राखिएको थियो । तर, ६ महिनाभित्र निजले पैसा जम्मा गर्न नसकेको र बैनाको लागि दिइएको तेकसमेत बाउन्स भएपछि दुई पक्षबीच विवाद भएको राप्रपाले जनाएको छ ।

बैनाको चेक बाउन्स हुने र जग्गा खरिद समेत नहुने अवस्था भएपछि सो जग्गा अर्कै समूहलाई बिक्री गरिएको थियो । बिक्री गर्दा बाटो कायम गर्ने प्रयोजनको लागि उक्त जग्गा सरकारको नाममा कायमा गरिएको राप्रपाले प्रष्ट पारेको छ । तर, राई र चाम्लिङले बैनाबापतको रकम फिर्ता लिन मानेनन् बरु उनीहरु अदालत गएका थिए ।
अहिले समेत उक्त मुद्दा अदालतमा विचाराधिन नै रहेको जनाइएको छ । अदालतमा बिचाराधिन मुद्दाको सम्बन्धमा अन्य कुनै कारबाही हुन नसक्ने भए पनि सरकारी अधिकारीहरुलाई नै गुमराहमा राखेर निर्दोष व्यक्तिलाई पक्राउ गराइएको राप्रपाको आरोप छ । यसलाई राप्रपाले पार्टीलाई बदनाम गराउने नियतको रुपमा लिएको छ ।
‘यो विवाद पुरानै हो । तर, वडाध्यक्ष निर्वाचित भएलगत्तै यसरी घटनालाई उचाल्नुलाई राप्रपाप्रतिको बढ्दो विश्वासलाई धुमिल्याउने षड्यन्त्रको रुपमा हामीले लिएका छौं,’ राप्रपाका सहमहामन्त्री रवीन्द्रप्रताप शाहले भने, ‘राप्रपा भ्रष्टाचार गरेर खानु भनेको आमाको रगत खानुसरह भएको ठान्दछ, हाम्रा जनप्रतिनिधिहरु पनि सोही विश्वासको आधारमा अघि बढ्नुहुन्छ । वर्षौं अघिको व्यक्तिगत घटनालाई उचालेर राजनीतिक रङ दिने जुन प्रयास गरिएको छ, त्यो षडयन्त्र हो ।’
राप्रपाले वयोवृद्ध व्यक्तिलाई पक्राउ गर्ने र हतार हतार सार्वजनिक गर्नुले पनि यो नियतको थप पुष्ट्याइँ गर्ने प्रष्ट पारेको छ ।


