सिन्धुलीको दुधौली नगरपालिकाले नगर क्षेत्रमा ३ वटा वडामा १ हप्ता लकडाउन घोषणा गरेको छ । बिहीबार बसेको नगरपालिकाको कार्यपालिका बैठकले वडा १, २ र ४ मा वैशाख १० देखि १७ सम्म लकडाउन घोषणा गर्ने निर्णय गरेको हो ।
बुधबार दुधौली नगरपालिका–१ का एक व्यक्तिमा कोरोना पोजेटिभ पुष्टि भएपछि नगरको विपद् व्यवस्थापन समितिको बैठकले लकडाउन घोषणा गर्ने निर्णय गरेको हो ।
नगर प्रमुख घनश्याम राउतका अनुसार ‘हामीले नगरका तीनवटा वडामा कोरोना भाइरस सङ्क्रमण बढी फैलन सक्नेतर्फ सचेत हुँदै लकडाउन गर्ने निर्णय गरेका हौँ ।’
लकडाउनको घोषणा भएका क्षेत्रमा अति आवश्यक सेवाहरू एम्बुलेन्स, दमकल, स्वास्थ्य सेवा, दूध, तरकारी फलफूल, खाद्यान्न पसलबाहेक शैक्षिक संस्था, सरकारी तथा गैरसरकारी कार्यालय, वडा कार्यालय (वडा नं ४ बाहेक) बजार, होटल, यातायातका सेवा र अन्य व्यवसाय पनि बन्द रहनेछ । लकडाउनको उल्लङ्घन गरेमा कानूनबमोजिम कारबाही गरिने पनि उल्लेख गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले पनि जिल्लाभर सभा सम्मेलन, गोष्ठी सङ्घसंस्थाका कार्यक्रममा सरकारले तोकेको मापदण्डअनुसार २५ भन्दा बढी मानिस सहभागी नगराई सामाजिक दूरी कायम गरी कार्यक्रम नगर्न आग्रह गरेको छ । जिल्लाको गोलन्जोर गाउँपालिकाले पनि कोरोनाको सङ्क्रमण फैलनसक्ने जनाउँदै साप्ताहिक हाटबजार बन्द गर्ने निर्णय गरेको छ । कोरोनाको जोखिम हुन नदिन खनियाँखर्क, खुर्कोट, ग्वाल्टार र च्याकुटार बेँसीमा लाग्ने साप्ताहिक हाटबजार बन्द गर्ने गाउँपालिकाले जनाएको छ ।


