काठमाडौं । आइतबार बिदा भएपछि पेट्रोलियम पदार्थको माग झण्डै २० प्रतिशतले घटेको छ । नेपाल आयल निगमका अनुसार बैशाख महिनाको पहिलो २२ दिनको तुलनामा जेठको पहिलो २२ दिनमा पेट्रोलियम पदार्थको माग सो बराबरले घटेको हो ।
बैशाखको पहिलो २२ दिनमा पेट्रोलको माग ४७ हजार ८ सय ५० किलोलिटर थियो । यो माग जेठको सोही अवधिमा ३९ हजार ४ सय ५० किलोलिटरमा झरेको छ । यो १७.५५ प्रतिशतको गिरावट हो ।
त्यस्तै, डिजेलको माग बैशाखको २२ गतेसम्म १ लाख ८ हजार ४ सय ९३ किलोलिटर रहेकोमा अहिले त्यो घटेर ८८ हजार ५ सय ४८ किलोलिटरमा झरेको छ । यो अघिल्लो महिनाको तुलनामा १८.३८ प्रतिशत कम हो ।
निगमका प्रवक्ता विनितमणि उपाध्यायले बैशाखको तुलनामा जेठमा औसत १८ प्रतिशत माग कम भएको बताए । यसअघि निगमले आइतबार बिदा दिँदा ८ देखि १० प्रतिशत घट्ने अनुमान गरेको थियो ।
के हुनसक्छ कारण ?
सरकारले जेठ १ गतेदेखि आइतबार बिदा दिन थालेको थियो । आइतबार बिदा हुन थालेपछि सरकारी कार्यालय बन्द हुने भएकोले माग घटेको देखिए पनि यो मात्रै कारण भने नभएको जानकारहरु बताउँछन् ।
निर्माण सामाग्रीमा भएको मूल्यवृद्धि र बेमौसमी वर्षाका कारण अहिले निर्माण क्षेत्रको काम सुस्त हुन पुगेको छ । आर्थिक वर्षको अन्तिम समयमा तीव्र रुपमा हुने गरेको काम सुस्त हुँदा यसले उल्लेख्य रुपमा पेट्रोलियम पदार्थको माग घटेको हुनसक्ने अनुमान गरिएको छ ।
अर्कोतर्फ सीमावर्ती बजारबाट भारततर्फ हुँदै आएको पेट्रोलियम पदार्थको तस्करी समेत यतिबेला रोकिएको छ । नेपाली बजारमा भन्दा भारतीय बजारमा पेट्रोलियम पदार्थको मूल्य सस्तो पर्न थालेपछि यतिबेला बरु नेपाली बजारबाट भारतबाट पेट्रोल किन्ने क्रम बढ्दा समेत यसले नेपालको माग घटेको हुनसक्ने अनुमान गरिएको छ ।
निगमका प्रवक्ता उपाध्याय भने पेट्रोलियमको माग घटे पनि यस्तो माग के कारणले घट्यो भन्नेबारे अहिलेसम्म आधिकारिक रुपमा समीक्षा नगरिएको बताउँछन् । ‘पेट्रोलियम पदार्थको माग घट्नुका विभिन्न कारण हुन सक्छन्,’ उपाध्याय भन्छन्, ‘शनिबार बिदा हुन थालेपछि माग घट्नुले बिदा प्रभावकारी भयो भनेर सामान्य रुपमा बुझ्न चाहिँ सकिन्छ । हामी नोक्सानमा चल्नु परेकोले माग घट्नु निगमको लागि राम्रो कुरा पनि हो ।’


