काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादीका नेता नारायणकाजी श्रेष्ठबीच ३ घण्टा गोप्य वार्ता भएको छ । आइतबार अपराह्न ३ः५५ देखि साँझ ६ः५५ सम्म ओली निवास बालकोटमा छलफल भएको बालकोट स्रोतले जानकारी दिएको छ ।
पाँचदलीय गठबन्धनका कारण स्थानीय चुनावमा नराम्रो पराजय व्यहोरेको एमालेले आसन्न संघ तथा प्रदेशको निर्वाचनका लागि नयाँ रणनीति बनाउँदैछ । यस्तो अवस्थामा दुई नेताबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
आइतबारको भेटमा ओलीले आगामी चुनावमा माओवादी, एकीकृत समाजवादीसहितको गठबन्धन गर्न चाहिरहेका छन् । यसका लागि प्रयास गरिरहेका ओलीले त्यसो हुन नसकेको अवस्थामा ती पार्टीमा असन्तुष्ट रहेका नेतालाई तान्ने रणनीति बनाएका छन् ।
यसका लागि दोस्रो तहका नेतसँग भेटेर महौल बनाउने ओलीले योजना बनाएका छन् । यही सिलसिलामा उनीहरुबीच भेट भएको स्रोतको भनाइ छ ।
झलनाथ र बाबुरामसँग पनि भेट्दै
यसैबीच ओलीले एमालेका सम्मानित नेता झलनाथ खनाल र जनता समाजवादीका नेता बाबुराम भट्टराईसँग पनि भेट गर्दैछन् । उनीहरुसँग आजभोलि नै भेट हुनसक्ने स्रोतले बताएको छ ।
आगामी निर्वाचनमा दुवैजना उम्मेदवार बन्ने तयारी गरेका छन् । दुवै नेतासँग अहिले गठबन्धबनको दूरी बढिरहेको बेला उनीहरुले ओलीलाई भेट गर्न लागेका हुन् ।
एकीकृत समाजवादीले सरकारमा सहभागी मन्त्रीहरुको हेरफेर गर्न गरेको प्रयास असफल भएपछि खनाल गठबन्धनप्रति आक्रोशित देखिएका छन् । यो अवस्थालाई ‘क्यास’ गर्न चाहेको ओलीले चाहनामा झलनाथ भेट हुन लागेको हो ।
उता अघिल्लो चुनावमा गोरखामा एक्लै लडेको जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई पनि संघीय चुनावमा यस्तै अवस्था आए पराजय भोग्नसक्ने विश्लेषणसहित सबैसँग समदूरी सम्बन्ध बनाउन चाहिरहेका छन् ।


