सुर्खेत । कर्णाली प्रदेश सरकारले ३२ अर्ब ६१ करोड ६१ लाखको बजेट ल्याएको छ । आर्थिक वर्ष २०७९÷८० को लागि सो प्रदेशले उक्त बजेट ल्याएको हो । बुधबार प्रदेशका आर्थिक योजनामन्त्री विन्दमान विष्टले उक्त बजेट प्रस्तुत गरे ।
उक्त बजेटमध्ये चालु खर्चतर्फ ९ अर्ब १६ करोड ४९ लाख, पुँजीगततर्फ १९ अर्ब ४३ करोड ५ लाख र वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब १ करोड ५७ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
उक्त बजेटको स्रोततर्फ राजश्वबाट ७१ करोड २९ लाख, चालु वर्षको बचतबाट ४ अर्ब ५५ करोड, संघीय सरकारको राजश्व बाँडफाँटबाट ९ अर्ब २ करोड, समानीकरण अनुदानबापत १० अर्ब ७२ करोड, सशर्त अनुदानबापत ५ अर्ब ६९ करोड समपूरक अनुदानबापत १ अर्ब २१ करोड र विशेष अनुदानतर्फ ६६ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । यो वर्ष वैदेशिक अनुदानबाट २ अर्ब रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।


