काठमाडौं । सूर्यविनायक नगरपालिकाको नगरसभा असार ९ गते बस्ने भएको छ । असार १० गते बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था बमोजिम असार ९ गते नगरपालिकाले नीति तथा कार्यक्रम नगरसभामा पेश गर्न लागेको हो ।
नगरपालिकाका मेयर वासुदेव थापाले ९ गते नीति तथा कार्यक्रम र १० गते बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको जानकारी दिए । उक्त नगरसभा होटल भक्तपुर भ्युमा दिउँसो साढे ११ बजे बस्ने जनाइएको छ ।
नगरसभा बस्नुअघि अहिले नगरपालिकाले सबै वडा तथा विभागीय स्तरबाट नयाँ बजेटका लागि सुझाव संकलन गरी नीति तथा कार्यक्रम र बजेटलाई अन्तिम रुप दिने काम गरिरहेको मेयर वासुदेव थापाले जानकारी दिए । उनले आफ्ना सुझावहरु नीति तथा कार्यक्रम प्रस्तुत हुनुअघि नै आफ्ना जनप्रतिनिधि वा कर्मचारीमार्फत् नगरपालिकामा पेश गर्न आग्रह समेत गरे ।
यसैबीच शुक्रबार नगरपालिकाले राष्ट्रिय तथा स्थानीय स्तरका मिडियामा कार्यरत पत्रकारसँग समेत बजेटबारे सुझाव मागेको थियो । सो क्रममा झण्डै २ दर्जन पत्रकारले आफ्नो सुझाव प्रस्तुत गरेका थिए ।
पत्रकारहरुले विगतमा नगरपालिकाले संख्यात्मक रुपमा पूर्वाधार निर्माणमा ठूलो प्रगति गरेको भए पनि गुणस्तरमा शंका गर्ने प्रशस्त ठाउँ रहेको भन्दै यसलाई सच्याएर अघि बढ्न आग्रह गरेका थिए ।
त्यस्तै, नगरपालिकाले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्दै रोजगारीका लागि काठमाडौं धाउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने सुझाव दिएका थिए । त्यस्तै, अन्तरपालिका कनेक्टिभिटीको सन्दर्भमा विशेष ध्यान दिन पत्रकारले सुझाव दिएका थिए ।
त्यस्तै, सूचनाको हकलाई कार्यान्वयन गर्दै निरन्तर सूचनाको प्रवाह गर्ने मेकानिजम बनाउन समेत आग्रह गरेका थिए । कार्यक्रममा पत्रकार महासंघका पदाधिकारीहरुले पत्रकार महासंघ भवन निर्माणका लागि सहयोगको अपेक्षा गरेका थिए ।
पत्रकारहरुको सुझाव ग्रंहण गर्दै मेयर थापाले पत्रकारहरुले दिएका सुझावलाई आफूले मनन गरेको भन्दै यसलाई नीति तथा कार्यक्रम र बजेटमा यथोचित ढंगबाट समेट्ने बताए । म भन्दा हामी को भावनाबाट अभिप्रेरित भएर नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट बनाउने प्रतिवद्धता समेत व्यक्त गरे । नगरपालिकाका प्रबक्ता रबिन्द्र साप्कोटाले नगरपालिका सञ्चार जगतसंग सहकार्य गरेर जाने बताउँदै नगरपालिकाले गरेका कार्यका बारेमा जानकारी दिन हरेक १५-१५ दिनमा पत्रकार सम्मेलनकाे आयाेजना गरिने बताए ।


