images
images

भूकम्पको ६ वर्षः कति भयो खर्च,यस्तो छ पुनर्निर्माणको अवस्था


  • 398
    SHARES
  • २०७८ बैशाख १० गते शुक्रबार

    भूकम्पको ६ वर्षः कति भयो खर्च,यस्तो छ पुनर्निर्माणको अवस्था

    त्यतिबेला पुनर्निर्माणका लागि ४ खर्ब ८८ अर्ब रुपैंया खर्च लाग्ने अनुमान गरिएको थियो । सरकारले भूकम्पले भत्काएका संरचना पुनर्निर्माण गर्न दाता सम्मेलन गरेको थियो । उक्त सम्मेलनमा ४ खर्ब १० अर्ब रुपैयाँको सहयोग गर्ने प्रतिवद्धता भएको हो । सोे रकममध्येबाट ६७ अर्ब राहत तथा उद्दार एवम् अन्य कार्यक्रममा खर्च गरियो भने भारतीय एक्जिम बैंकतर्फको ४९ अर्ब रुपैयाँ नेपाल सरकारतर्फ श्रोतान्तर गरिएको थियो । प्रतिवद्धता भएको रकममध्ये २ सय ९४ अर्ब रुपैयाँ मात्र वास्तविक प्रतिवद्धता हो । 

    काठमाडौं । विनाशकारी भूकम्प गएको ६ वर्ष पुगेको छ । भूकम्पछि पञ्चवर्षीय पुनर्निर्माण तथा पुनस्र्थापना योजना बनाएर पुनर्निर्माणको कार्य अघि बढाएको नेपाल पुनर्निर्माण प्राधिकरणले यो अवधिमा ३ खर्ब ५७ अर्ब रुपैँया खर्च गरेको छ । भूकम्पले भत्काएका संरचना तयार गर्न सरकार तथा दाताबाट प्राधिकरणलाई सहयोग प्राप्त भएको थियो ।

    त्यतिबेला पुनर्निर्माणका लागि ४ खर्ब ८८ अर्ब रुपैंया खर्च लाग्ने अनुमान गरिएको थियो । सरकारले भूकम्पले भत्काएका संरचना पुनर्निर्माण गर्न भूकम्प गएको डेढ महिनापछि दाता सम्मेलन गरेको थियो । उक्त सम्मेलनमा ४ खर्ब १० अर्ब रुपैयाँको सहयोग गर्ने प्रतिवद्धता भएको थियो । सोे रकममध्येबाट ६७ अर्ब राहत तथा उद्दार एवम् अन्य कार्यक्रममा खर्च भएको थियो भने भारतीय एक्जिम बैंकतर्फको ४९ अर्ब रुपैयाँ नेपाल सरकारतर्फ श्रोतान्तर गरिएको थियो । प्रतिवद्धता भएको रकममध्ये २ सय ९४ अर्ब रुपैयाँ मात्र वास्तविक प्रतिवद्धता हो । 

    यसमध्ये २ सय ४३ अर्ब रुपैँया सम्झौता भएको छ । यसका साथै गैरसरकारी संस्थाहरुसँग करिव ९० अर्ब रुपैँया परिचालनका लागि सम्झौता भई करिव ७२ अर्ब रुपैँया परिचालन भएको छ । नेपालको पुनर्निमाणमा दातृ निकायबाट प्रतिबद्धता भएको सत प्रतिशत रकम परिचालन हुने सुनिश्चत भएको छ । 

    सरकारी भवन, साँस्कृतिक सम्पदा एवम् जग्गा भूमिहिनलाई जग्गा वितरणदेखि घर निर्माणसम्मको काम गरेको नेपाल पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताए । ‘भूकम्पको ६ वर्षमा ९३ प्रतिशत निजी आवास निर्माण सम्पन्न भएको छ । धरहरा बनिसक्यो, रानीपोखरी पनि बन्यो,  सिंहदरवार बनेर यहाँबाट प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको काम नै सञ्चालन हुन थालिसकेको छ, काष्ठमाण्डप तथा अन्य दरबार बन्दैछन् ।’ 

    यो अवधिमा प्राधिकरणले विपद्लाई अवसरका रूपमा उपयोग गरी भूकम्पप्रभावित ३२ जिल्लामा निजी आवास, शैक्षिक तथा स्वास्थ्य संस्था एवम् पुरातात्विक सम्पदासहित ठूलो संख्यामा क्षतिग्रस्त संरचनालाई भूकम्पप्रतिरोधी ढंगले पुनर्निर्माण गरेको सीईओ ज्ञवालीले बताए । 

    निजी आवास निर्माणतर्फ अनुदान सम्झौता गरेका ८ लाख ११ हजार ७५४ लाभग्राहीमध्ये घर पुनर्निर्माण सुरु गरेका ७ लाख ५३ हजार १०४ पुगेको छ । यो अवधिमा ९९.८६ प्रतिशतले पहिलो किस्ता, ८६.७८ प्रतिशतले दोस्रो किस्ता र ७८.६६ प्रतिशत तेस्रो किस्ता पाएका छन् । 

    निजी आवास पुनर्निर्माणका क्रममा ६ लाख ३४ हजार ९७३ गुनासाहरुको सम्बोधन भएको छ । करिब ९ यस घुम्ती डकर्मी र २५४ सामाजिक परिचालकहरू परिचालन गरेर जोखिम एवम् विपन्न वर्गका लाभग्राहीहरूको घर पुनर्निर्माण गर्ने कार्य प्राधिकरणले अघि बढाएको छ । 

    भूकम्पपछि २९९ असुरक्षित स्थानमा रहेका ४ हजार ७२० लाभग्राहीलाई सुरक्षित आवासको  लागि जग्गा मिलाइदिएको छ भने १२ हजार ७८८ भूमिहीन लाभग्राहीलाई जग्गा व्यवस्थापनसहित घर निर्माण गर्ने वातावरण सिर्जना प्राधिकरणले गरेको छ । 
    क्षतिगस्त ९२० सम्पदामध्ये ४९३ वटाको पुनर्निर्माण सम्पन्न गरेका छौं भने २८८ वटा पुनर्निर्माण भइरहेका छन् । रानीपोखरी पुनर्निर्माण सम्पन्न भई सकेको छ भने भोलि वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दैछन् । 

    राष्ट्रको मुख्य प्रशासनिक भवन, सिंहदरबारको उत्तर, दक्षिण र पूर्वी भागको गत फागुन ३ गते देखि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका लागि संचालनमा आएको छ । केशरमहल, बबरमहल, बालमन्दिर, नारायणहिटी संग्राहालय क्षेत्रमा रहेको रणोद्दीप दरबारलगायतका पुरातात्विक महत्वका दरबारहरुको जिर्णोद्धार जारी छ । 

    बृहत्तर रानीपोखरी–टुँडिखेल–रत्नपार्क–खुल्लामञ्च–भृकुटीमण्डप–रंगशाला–लोकतान्त्रिक संग्रहालय, नारायणहिटी संग्रहालय, गोरखा एवम् नुवाकोट दरबार क्षेत्र, उपत्यकाका सातवटै पुरातात्विक सम्पदाहरुको गुरुयोजना स्वीकृतिको चरणमा रहेका छन् ।

    क्षति भई मर्मत गर्नुपर्ने ४०२ गुम्बामध्ये २९४ वटा सम्पन्न भइसकेका छन् । पुनर्निर्माण गर्नुपर्ने ८९५ मध्ये १ सय वर्षभन्दा पुराना र २ हजार वर्ग फिटभन्दा बढी प्लिन्थ एरिया भएका २६४ वटा गुम्बामध्ये ३६ वटा र १०० वर्षभन्दा कम र २ हजार वर्ग फिटभन्दा मुनिका ६ हजार ३१ गुम्बामध्ये १०१ वटाको पुनर्निर्माण कार्य अगाडि बढिरहेको छ ।

    त्यसैगरी, भूकम्पबाट क्षतिग्रस्त कुल ७ हजार ५५३ विद्यालयमध्ये ८३ प्रतिशत विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ भने १७ प्रतिशत विद्यालय पुनर्निर्माण भइरहेका छन् । यी विद्यालयको पुनर्निर्माण यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य प्राधिकरणले लिएको छ । 

    १ हजार १९७ स्वास्थ्य संस्थामध्ये ६९८ को पुनर्निर्माण सम्पन्न भएको छ भने २९६ को पुनर्निर्माण जारी छ । ४ सय १५ सरकारी भवनमध्ये ९० प्रतिशतको पुनर्निर्माण सम्पन्न भइसकेको छ । प्राधिकरणअन्तर्गत निर्माण भइरहेका सुरक्षा निकायका २१६ वटा संरचनामध्ये २१४ को पुनर्निर्माण सम्पन्न भइसकेको छ । पुनर्निर्माणका क्रममा विभिन्न जिल्लामा ७६२ किमी सडक पुनर्निर्माण गर्नुपर्नेमा ५२५ कि.मी. सडकको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने बाँकीको पुनर्निर्माण मुलतः यसै आवमा सम्पन्न लक्ष्य राखिएको छ । 

    भूकम्प र त्यसपछिका परकम्पबाट भएको क्षतिको पुनर्निर्माण र पुनस्र्थापनाको मूल उद्देश्यसहित २०७२ पौष १० गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको गठन भएको यहाँहरुलाई विदितै छ । प्राधिकरण स्थापना भएको आजैका दिन ६४ महिना पुग्दैछ । 

    लकडाउनका कारण कार्यसम्पादनमा अवरोध उत्पन्न भएपछि नेपाल सरकारले प्राधिकरणको कार्यावधि २०७८ पौषसम्म पुर्याएको यहाँहरुलाई विदितै छ । थपिएको एक वर्षमध्ये २०७८ असार मसान्तसम्मको अवधिमा प्राधिकरणले नियमित काम गर्नेछ । 

    विभिन्न प्रतिकूलताका बाबजुद हामीले प्राप्त गरेका अनुभव र सिकाइ हाम्रै भावी पुस्ताका लागि उपयोगी हुने विश्वाससहित व्यवस्थित ढंगले अभिलेखीकरण कार्य गरिरहेका छौं । त्यसक्रममा हामीले डेढ दर्जनभन्दा बढी प्रकाशनहरु गर्दैछौं ।

    भूकम्पपश्चात्को पुनर्निर्माण तथा पुनस्र्थापना कार्यमा नेपालले प्राप्त गरेको उपलब्धिलाई विश्व समुदायले विभिन्न अवसर र मञ्चहरुमा प्रशंसा गरिरहेको छ । हाम्रा अनुभव र सिकाईहरु अन्य मुलुकका निम्ति पनि अनुकरणीय हुने विश्वाससहित नेपाल सरकारद्वारा प्रस्तावित सगरमाथा संवादको समेत सन्दर्भ पारेर हामीले आगामी सन् २०२१ को नोभेम्वरको अन्तिम साता वा डिसेम्वरको पहिलो साता भित्र अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने तयारी गरेका छौं । 

    पुनर्निर्माणमा कतिले पाए रोजगारी ? 

    भूकम्पले भत्काएका संरचना पुनर्निर्माण गर्न करिब ४० करोड ७५ लाख कार्यदिन बराबरको रोजगारी श्रृजना भएको छ । यो कार्यको लागि स्थानीय जनता रोजगारीमा आवद्ध भएका थिए । पुनर्निर्माणका क्रममा १ लाखभन्दा बढी दक्ष निर्माणकर्मी तयार भएका छन् । यसमा महिलाको संख्या पनि उल्लेखनीय छ । 

    पुनर्निर्माणले सिमेन्ट, इँटा, छड, जस्तापाता, क्रसर एवम् काठलगायतका उद्योगहरुको प्रवर्द्धनमा टेवा पुगेको प्राधिकरणले जनाएको छ । यसले हाम्रो अर्थतन्त्रमा उल्लेखनीय योगदान गरेकोे छ । प्राधिकरणले १ हजार ११ जनप्रतिनिधि र ७ सय ९९ कर्मचारीहरुलाई लागि विपद् जोखिम उत्थानशील विकाससम्बन्धी अनुशिक्षण तालिम उपलब्ध गराएको छ ।  

    ८ लाख सेवाग्राहीको वित्तीय पहुँच

    पुनर्निर्माणबाट करिब ८ लाख घरपरिवारको बैंक खातामार्फत् वित्तीय पहुँचमा वृद्धि भएको छ । पुनर्निर्माणका लागि सरकारले उपलब्ध गराएको सहयोग बैंक खातामा जम्मा हुने भएकोले वित्तीय पहुँच वृद्धि भएको दावी प्राधिकरणले गरेको हो ।  
    प्रविधिको प्रयोग बढ्दो

    भूकम्पले भत्काएका संरचना तयार गर्नको लागि प्रवलीकरण प्रविधिको बाग बढ्दो छ । पुरातात्विक सम्पदाहरुको पुनर्निर्माणमा परम्परागत प्रविधिको पुनर्विकास गरिएको छ । स्थानीय निर्माण सामाग्रीहरु काठ, ढुङ्गा, माटोको प्रयोग गर्न सकिने गरि भूकम्पप्रतिरोधी ईञ्जिनियरिङ प्रविधिहरुको विकास भएको छ । 

    नयाँ प्रविधिको प्रयोग गरेर स्थानीय ढुंगा माटोले बनेका घरहरुलाई पनि बलियो बनाउन सकिएको प्राधिकरणले जनाएको छ । ‘विपद् जोखमबाट सुरक्षित मुलुक बनाउने हाम्रो सपनालाई पूरा गर्न यस प्रविधिले महत्वपूर्ण योगदान पु¥याएको प्राधिकरणले दावी गरेको छ । 

    नेपालको पुनर्निर्माणमा विभिन्न तहका जनप्रतिनिधिहरु एवं स्थानीय तहहरुको उल्लेखनीय भूमिका रहेको प्राधिकरणले बताएको छ । स्थानीय तहको निर्वाचन पश्चात् संभव भएसम्मका कार्यहरू सोही तहको समन्वय र सहकार्यमा सम्पादन गर्ने व्यवस्था मिल्दा काम गर्न सजिलो भएको पनि सीईओ ज्ञवालीले बताए । संघीय संसद, प्रदेश सभा एवं स्थानीय तहका जनप्रतिनिधिहरुले पुनर्निर्माणसम्बन्धी विभिन्न समिति एवं संयन्त्रहरूमा रहेर महत्वपूर्ण योगदान गरेको प्राधिकरणले अनुभूति गरेको छ । 


    images

    Logo