काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सहितको टोलीले भक्तपुरको मध्यपुर थिमिस्थित रिकीसी कम्पोष्टको अवलोकन गरेको छ । काठमाडौं महानगरपालिकामा फोहोर व्यवस्थापन चुनौतीपूर्ण बनिरहेको सन्दर्भमा बालेनसहितको टोलीले सोमबार सो क्षेत्रमा भ्रमण गरेको हो ।
भ्रमणको क्रममा मेयर शाहसहित उपमेयर सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेल, ६, १६ र ३२ नम्बर वडाका वडाध्यक्ष सहित करिब ३० जनाको सहभागिता थियो । सो टोलीलाई रिकीसी कम्पोष्ट प्रा.लि.की प्रबन्ध निर्देश कउषा गिरी लगायत कर्मचारीले यो प्रविधिको बारेमा ब्रिफिङ गरेका थिए ।
सीएनबीएम प्रविधिबाट कम्पोष्ट फोहोरलाई मल बनाउने प्रविधिलाई अवलोकन गरेपछि बालेनले काठमाडौंमा पनि यो प्रविधि उपयुक्त हुने भन्दै यसलाई कार्यान्वयनमा लैजाने बताए । यसका लागि महानगरपालिकाले उपयुक्त ठाउँको व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गरेको समेत रिकीसी कम्पोष्ट प्रा.लि.की प्रबन्ध निर्देशक गिरीको भनाइ छ ।
चोभारमा जग्गा उपलब्ध गराउने तयारी
यसैबीच काठमाडौं महानगरपालिकाले रिकीसी कम्पोष्टका लागि चोभारस्थित हिमाल सिमेन्ट रहेको ठाउँमा जग्गा उपलब्ध गराउन गृहकार्य थालेको छ । सोमबार भ्रमणका क्रममा टोलीले सो क्षेत्रमा जग्गा उपलब्ध गराउन लागेको जानकरी दिएको प्रबन्ध निर्देशक गिरीले बताइन् ।
‘यो प्रविधिमा मल बनाउँदा अलि धेरै ठाउँ चाहिने भएकोले हिमाल सिमेन्ट कारखाना भएको ठाउँमा जग्गा उपलब्ध गराउने तयारी गरिरहेका छौं भनेर उहाँहरुले भन्नुभयो,’ गिरीले भनिन्, ‘चक्रपथको बाहिर र ड्राइपोर्टको नजिक हुँदा मलको ढुवानीका लागि समेत सहज हुने उहाँहरुको बुझाइ छ ।’
यसअघि बालेनकै टीमले पटक पटक यो प्रविधिबारे अवलोकन गरिसकेको छ । सो टोलीले यसअघि टेकुमा परीक्षण गर्ने तयारी गरे पनि भक्तपुरमा सफल परीक्षण भएको देखेपछि यसलाई सीधै कार्यान्वयनमै लैजाने तयारी गरेकाे छ ।

त्यसो त, सिसडोलमा अहिलै यो प्रविधिबाट मल उत्पादन गर्न बालेनले प्रस्ताव गरेका थिए । त्यसका लागि सो कम्पनी तयार भए पनि मलको प्रभावकारितामा शतप्रतिशत ग्यारेन्टी गर्न भने गाह्रो हुने जनाएको थियो ।
‘उहाँले सिसडोलमै गएर मल बनाउन भन्नुभएको थियो । हामी पनि त्यसमा सकारात्मक नै भयौं । तर, स्रोतबाटै नछुट्टिएको फोहोर हुँदा मलको गुणस्तरमा शतप्रतिशत ग्यारेन्टी गर्न सकिँदैन, यही कुरा हामीले मेयरसावलाई भन्यौं,’ प्रबन्ध निर्देशक गिरीले भनिन् ।



