images
images

प्रत्यारोपण केन्द्रले गर्यो ८९२ जनाको मिर्गौला ट्रान्सप्लान्ट, 'अंगदान गर्नेहरु झनै धेरै बाँच्छन्'


  • 507
    SHARES
  • २०७९ आषाढ १७ गते शुक्रबार

    प्रत्यारोपण केन्द्रले गर्यो ८९२ जनाको मिर्गौला ट्रान्सप्लान्ट, 'अंगदान गर्नेहरु झनै धेरै बाँच्छन्'

    काठमाडौं । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले ८ सय ९२ जनाको मिर्गौला प्रत्यारोपण गरेको छ । १० वर्ष अघि स्थापित सो केन्द्रले हालसम्म सो संख्यामा मिर्गौला प्रत्यारोपण गरेको हो । यो संख्या यही आर्थिक वर्षभित्र ९ सय पुग्ने केन्द्रका कार्यकारी निर्देशक पुकारचन्द्र श्रेष्ठले जानकारी दिए ।

    हालसम्म भएका ट्रान्सप्लान्टमध्ये अधिकांश ट्रान्सप्लान्ट आफन्त वा नातेदारबाट हुने गरेका छन् । त्यसबाहेक गैरनातेदारबाट समेत मिर्गौला ट्रान्सप्लान्ट साटासाट गर्नसक्ने कानूनी व्यवस्था छ । अहिलेसम्म केन्द्रले गरेका प्रत्यारोपणमध्ये ३८ वटा प्रत्यारोपण गैरनातेदारको मिर्गौला साटासाटबाट भएको कार्यकारी निर्देशक श्रेष्ठले बताए । 

    अहिले सरकारले ब्रेनडेथ भएका व्यक्तिबाट मिर्गौला ट्रान्सप्लान्टलाई प्राथमिकता दिँदै आएको छ । तर, अहिलेसम्म जम्मा ६ वटा मिर्गौला र एउटा कलेजो मात्रै ब्रेन डेथ भएकाबाट ट्रान्सप्लान्ट गरिएको छ । 

    विकसित देशहरुमा अंग प्रत्यारोपणको ८० प्रतिशत हिस्सा ब्रेनडेथबाट हुने गरेको कार्यकारी निर्देशक श्रेष्ठ बताउँछन् । तर, नेपालमा १ प्रतिशत हिस्सा पनि लिन सकेको छैन । यसका पछाडि जनचेतनाको अभाव नै मुख्य कारण रहेको श्रेष्ठको भनाइ छ ।

    त्यसो त अहिलेसम्मको अवस्था हेर्दा मिर्गौला दान गरेको व्यक्ति सामान्य व्यक्तिभन्दा धेरै बाँच्ने गरेको समेत पाइएको उनी बताउँछन् । यसको पछाडी अंगदानपछिको केयर मुख्य कारण हुनसक्ने उनको भनाइ छ ।


    उपत्यका बाहिर पहिलोपटक सफल ट्रान्सप्लान्ट

    अहिले सरकारले केन्द्रलाई मिर्गौला प्रत्यारोपणलाई देशभर विस्तार गर्ने जिम्मा दिएको छ । यश अनुसार केन्द्रले पोखरामा पहिलोपटक सफल ट्रान्सप्लान्ट गरेको छ । 

    असार ९ गते केन्द्रकै चिकित्सक टोलीले श्रीमानको मिर्गौला श्रीमतीको शरिरमा ट्रान्सप्लान्ट गरेको जानकारी दिँदै श्रेष्ठले नेपालको लागि यो गौरवको विषय भएको बताए । यो ट्रान्सप्लान्टसँगै पोखरामा प्रत्यारोपणलाई निरन्तरता दिने र सबै प्रदेशमा सेवा विस्तार गर्दै लैजाने समेत उनले उल्लेख गरे । 

    'अब हाम्रो मिसन सुर्खेत हो । त्यसपछि पूर्वमा सेवा विस्तार गर्छौं, सरकारले दिएको सातै प्रदेशमा सेवा विस्तार गर्ने लक्ष्यलाई हामी पूरा गर्दैछौं,' कार्यकारी निर्देशक श्रेष्ठले भने । 

    केन्द्रले आफ्नै टोली गएर प्रदेश अस्पतालका डाक्टरहरुलाई मिर्गौला प्रत्यारोपणसम्बन्धी प्रशिक्षण दिनेछ । उनीहरु सक्षम भएपछि सम्बन्धित अस्पताललाई नै यो कामको हस्तान्तरण गर्ने उनले बताए । 

    'प्रतिष्ठान बनाउन सबैले सहयोग गरौँ'

    अहिले धर्मभक्त प्रत्यारोपण केन्द्र विकास समिति एेन अन्तर्गत स्थापित छ । सरकारले यो वर्षको बजेटमार्फत् यसलाई प्रतिष्ठानको रुपमा विस्तार गर्ने कार्यक्रम समावेश गरेको छ । 

    अंग प्रत्यारोपणका लागि छुट्टै संस्था स्थापना गर्ने विश्वमा धेरै उदाहरण नभएको अवस्थामा यसलाई प्रतिष्ठानको रुपमा विकास गर्ने सरकारको उक्त नीति निकै सकारात्मक भएको भन्दै यसलाई कार्यान्वयनमा लैजान सम्बद्व सबै पक्षसँग सहयोगको अपेक्षा समेत उनले गरे ।


    images

    Logo