काठमाडौं । सरकारले २ खर्ब १७ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाएको छ । आर्थिक बर्षको असार मसान्तसम्म सरकारले नेपाल राष्ट्र बैंकमार्फत ट्रेजरी विल, विकास ऋणपत्र, नागरिक बचतपत्र र बैदेशिक रोजगार मार्फत २ खर्ब १७ अर्ब ३८ करोड ६४ लाख बराबरको आन्तरिक ऋण उठाएको हो । अब राष्ट्र बैंकले यो आर्थिक बर्षको लागि ८ अर्ब ८१ करोडको ट्रेजरी विल र ५ अर्बको विकास ऋणपत्र उठाउन बाँकी रहेको छ । त्यसमध्ये ट्रेजरी विल मंगलबार र विकास ऋणपत्र विहीबार निष्काशन गर्नेछ ।
यो वर्ष विभिन्न समयमा राष्ट्र बैंकले ट्रेजरी बिलमार्फत् १ खर्ब ३९ अर्ब ९१ करोड ६६ लाख रुपैयाँ उठाएको छ । त्यस्तै, विकास ऋणपत्रमार्फत् १ खर्ब २४ अर्ब ५० करोड रुपैयाँ, नागरिक बचतपत्रमार्फत् २ अर्ब ८२ करोड ९८ लाख रुपैयाँ र वैदेशिक रोजगार बचतपत्रमार्फत ५ करोड ६७ लाख रुपैयाँ ऋण उठाइएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
बैंकका अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६ अर्ब रुपैयाँ उठाइएको थियो । त्यस्तै, तेस्रो त्रैमासमा ९९ अर्ब ४६ करोड रुपैयाँ उठाइएको थियो भने चौथो त्रैमासमा १ खर्ब २५ अर्ब ८३ करोड उठाइएको छ । त्रैमासिक क्यालेन्डरका आधारमा दोस्रो त्रैमासमा २.६ प्रतिशत, तेस्रो त्रैमासम ४३ प्रतिशत र चौथो त्रैमासमा ५४.४० प्रतिशत आन्तरिक ऋण उठाइएको छ ।
सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत् २ खर्ब ५७ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने अनुमान गरेको थियो । प्रतिस्थापित बजेटले त्यो आकारलाई घटाएर २ खर्ब ३९ अर्ब रुपैयामा झारेको थियो । आगामी आर्थिक वर्षको बजेटको क्रममा अर्थमन्त्री जनार्दन शर्माले २ खर्ब ३१ अर्ब रुपैयाँमा मात्रै ऋण उठाउने बताएका थिए । सोही अनुसार राष्ट्र बैंकले सो बराबरको ऋण उठाएको हो ।
चालु आर्थिक बर्षको फागुनसम्ममा सरकारले १८ खर्ब ४८ अर्ब आन्तरिक ऋण उठाउको थियो । त्यसपछि असारसम्म १ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाएको छ । यसमध्ये फागुनसम्ममा ४२ अर्ब ९१ करोड रुपैयाँ बराबरको सावाँ भुक्तानी गरेको थियो ।


