काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मालाई पदबाट हटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले तयारी सुरु गरेका छन् । बजेटको अघिल्लो रातको फुटेज डिलिट भएको जवाफसँगै देउवाले उनलाई कारबाही गर्ने तयारी अघि बढाएका हुन् ।
बजेट वक्तव्यको अघिल्लो दिन अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर राजश्वको दर परिवर्तन गरेको आरोपपछि उनीमाथि छानबिनको माग हुँदै आएको थियो । सो सम्बन्धमा प्रमुख प्रतिपक्षीले समेत उक्त रातको सीसीटीभी फुटेज देखाउनुपर्ने माग गरेको थियो ।
उपभोक्ता हित संरक्षण मञ्चले सूचनाको हक प्रयोग गरेर सो दिनको भिडियो उपलब्ध गराउन माग गरेको थियो । जवाफमा अर्थ मन्त्रालयले फुटेज डिलिट भएको बताएपछि अर्थमन्त्रीको नियतमाथि थप प्रश्न उब्जिएको छ । यस्तो अवस्थामा देउवाले उनलाई हटाउने तयारी थालेका हुन् ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार देउवा अब जनार्दनलाई बोक्न नसक्ने अवस्थामा पुगिसकेका छन् । ‘उहाँलाई विश्वास गर्दा राष्ट्र बैंकका गभर्नरको केशमा सरकार नराम्रोसँग चुक्यो, बजेटमा पनि उहाँ विवादरहित हुनुभएन, अहिले फुटेज डिलिट भयो भन्ने जवाफको डिफेन्स गरेर बस्नसक्ने अवस्था छैन,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो, ‘सरकारको मन्त्रीको हिसाबले प्रधानमन्त्रीले उहाँलाई निकै नै विश्वास गर्नुभएको हो । तर, उहाँको कमजोरीले सरकारमाथि प्रश्न उठ्ने अवस्था आएको छ, त्यसैले अब प्रधानमन्त्रीज्यू उहाँलाई बोक्ने पक्षमा हुनुहुन्न । आजभोलि नै गठबन्धनमा छलफल गर्नुहुन्छ ।’
फुटेज डिलिट प्रकरणपछि काँग्रेसमा समेत अर्थमन्त्रीको राजीनामा माग्नेको मत बलियो भएको छ । महामन्त्री गगन थापाले सोमबार संसदमै शर्माको राजीनामा माग गरिसकेका छन् । त्यसो त काँग्रेसकै संस्थापन इतर समूहको बैठकले पनि अर्थमन्त्रीको नियतमा देउवाको मौनताबारे प्रश्न उठाएको छ ।
त्यसो त शर्माको कार्यकालमा अर्थतन्त्रको अवस्था समेत बिग्रिँदै गएको छ । यसमा विश्व अर्थतन्त्रको प्रभाव प्रमुख कारण रहे पनि नेपालको सन्दर्भमा गर्नुपर्ने न्यूनतम काममा समेत शर्मा चुकेको काँग्रेसकै नेताहरुबाट देउवालाई पटक पटक रिपोर्टिङ गएको छ ।


