काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका घरबेटी शारदा अधिकारीको कम्पनी शैलुङ कन्स्ट्रन्सनको लापरबाहीका कारण भक्तपुर क्षेत्रको एउटा गाउँ नै हिलाम्मे भएको छ ।
बिहीबार परेको वर्षाले सडकको हिलो गाउँमा पस्दा करिब २ दर्जन घरहरु हिलाम्मे भएका हुन् । तेलकोटको फेदीगाउँ, बास्तोला गाउँ लगायत करिब २ दर्जन घर हिलाम्मे बनेको भक्तपुरका स्थानीय पत्रकार जयराम बास्तोलाले जानकारी दिए ।

कमलविनायकदेखि नगरकोटसम्म जाने १६ किलोमिटर लम्बाईको उक्त सडक स्तरोन्नतिका लागि शैलुङ र अर्को ठेकेदार कम्पनी एआईपीएल जेभीले २०७१ साल जेठ २२ गते जिम्मा पाएका थिए ।
भारतको एक्जिम बैंकको सहयोगमा २०७३ कात्तिक ४ गतेसम्म सक्नेगरी पहिलोपटक यी दुई कम्पनीसँग ठेक्का सम्झौता गरिएको थियो । तर, उक्त सम्झौता सकिएको साढे ४ वर्ष बितिसक्दा पनि अहिलेसम्म ४ किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ । समयमा कालोपत्रे हुन नसक्दा टोलभरी हिलो पसेको हो । अहिले सो ठेक्काको म्याद छैटौंपटक थपिएको छ ।

अहिले उक्त सडक थप जीर्ण बनेको छ । कतिपय स्थानमा कालोपत्रे समेत उप्किसकेको छ । आयोजनाले भने अहिलेसम्म करिब ७५ प्रतिशत काम सम्पन्न भइसकेको जनाएको छ ।
स्थानीय बासिन्दाले भने सडक विस्तारको नाममा सडक अलपत्र पार्ने ठेकेदार कम्पनीको ठेक्का रद्ध गर्न पटकपटक माग गर्दै आएका छन् । सो ठेक्काको लागत पनि बढाइएको छ । २७ करोड ९० लाखमा काम सक्ने भनिए पनि हाल अनुमानित लागत बढाएर ३४ करोड रुपैयाँ कायम गरिएको छ ।


