images
images

भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माणका लागि बागमती प्रदेशले ६ अर्ब परिचालन गर्ने


  • 106
    SHARES
  • २०८३ मंसिर ८ गते मंगलबार

    भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माणका लागि बागमती प्रदेशले ६ अर्ब परिचालन गर्ने

    काठमाडौं । बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको पुनःस्थापना, पुनर्निर्माण र प्रभावित नागरिकको जीविकोपार्जनका लागि ६ अर्ब रुपैयाँ परिचालन गर्ने भएको छ ।

    बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले ‘विपद् प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनःस्थापनालाई प्राथमिकतामा राखेर विभिन्न मन्त्रालयका कम प्राथमिकताका विकास योजनाको बजेट कटौती गरी स्रोत व्यवस्थापन गरिएको’ जानकारी दिएका हुन् ।

    सोमबार प्रदेश सुशासन केन्द्र, ललितपुरमा बसेको प्रदेश सरकारको विपद् व्यवस्थापन समितिको बैठकमा भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा भएको जनधनको क्षति, प्रभावित नागरिकको अवस्था तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल भएको थियो । 

    सोही छलफलको अवसरमा मूख्यमन्त्री थापाले प्रदेश विपद् कोषमा रहेको १० करोड पाँच लाख रुपैयाँ तत्काल खर्च गर्ने अवस्थालाई ध्यानमा राख्दै विभिन्न मन्त्रालयको बजेटबाट १० देखि २० प्रतिशतसम्म कटौती गरी पुनर्निर्माणका लागि थप स्रोत जुटाइएको जानकारी दिएका थिए । 

    प्रभावित क्षेत्रका सडक, पुल, बस्ती व्यवस्थापन, व्यवसाय पुनःस्थापना तथा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाइने मुख्यमन्त्री थापाले बताए । स्थानीय तहसँग समन्वय गरी प्रभावित नागरिकको आवश्यकता र मागका आधारमा बजेट कार्यान्वयन गरिने उनको भनाइ छ ।

    प्रदेश सरकारले प्रभावित क्षेत्रका नागरिकलाई आवतजावतमा सहज बनाउन यसै वर्ष पाँचवटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्यसमेत राखेको छ । रसुवामा दुईवटा झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा पुगेका छन् भने थप दुई स्थानमा बेलिब्रिज निर्माणका लागि सम्भावित ठाउँको पहिचान भइरहेको जनाइएको छ ।

    बैठकमा पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाले प्रभावित नागरिकको वास्तविक समस्या पहिचान गरी उपलब्ध बजेटअनुसार साना तथा ठूला पुनर्निर्माणका काम तत्काल अघि बढाउनुपर्ने बताए । उनले तीनै तहका सरकारबीच समन्वय गर्न र बाढीपीडितको तथ्याङ्क व्यवस्थित बनाउनुपर्नेमा जोड दिए ।

    बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूले सरकारले योजना घोषणा गर्नेभन्दा पनि परिणाम देखिने गरी काम गर्नुपर्ने धारणा राखेका थिए । उनीहरूले प्रभावित क्षेत्रका लागि विनियोजित बजेट कटौती नगर्न र राज्यले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिएका थिए ।

    प्रदेशका आन्तरिक मामिला, कानुन तथा सहकारीमन्त्री सरल सहयात्री पौडेलले पुनःस्थापना तथा पुनर्निर्माणलाई प्रभावकारी बनाउन परम्परागत कार्यान्वयन प्रणालीभन्दा फरक र परिणाममुखी कार्ययोजना आवश्यक रहेको बताए । उनले मानवीय सहायता, रोजगारी, जीविकोपार्जन, भौतिक पूर्वाधार र बस्ती व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे ।

    गत भदौ १० गतेको बाढीपछि प्रदेश सरकारले खोज, उद्धार, उपचार, राहत वितरण तथा वैकल्पिक सडक सञ्चालनका काम अघि बढाएको थियो । अहिले प्रभावित क्षेत्रको आवश्यकता पहिचान गरी दीर्घकालीन पुनर्निर्माण र नागरिकको सुरक्षित बसोबास सुनिश्चित गर्ने तयारी प्रदेश सरकारले गरेको छ ।


    images
    images

    Logo