images
images

मन्सेको कीर्तिमानी शतकमा सुदूरपश्चिमलाई पहिलोपटक एनपीएल उपाधि


  • 326
    SHARES
  • २०८३ मंसिर ५ गते शनिबार

    मन्सेको कीर्तिमानी शतकमा सुदूरपश्चिमलाई पहिलोपटक एनपीएल उपाधि

    काठमाडौं । जर्ज मन्सेको विस्फोटक शतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम पहिलोपटक च्याम्पियन बनेको हो ।

    लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले १३.३ ओभरमै कुनै विकेट नगुमाई पूरा गर्‍यो । सुदूरपश्चिमको जितमा ओपनर जर्ज मन्सेले कीर्तिमानी शतकीय इनिङ्स खेले । उनले ५४ बलमा अविजित १२५ रन बनाए । यस क्रममा उनले १२ छक्का र ८ चौका प्रहार गरे ।

    एनपीएलको फाइनलमा शतक प्रहार गर्ने मन्से पहिलो खेलाडी बने । उनले ४९ बलमै शतक पूरा गरेका थिए । अर्का ओपनर विनोद भण्डारी २७ बलमा ३० रन बनाउँदै अविजित रहे ।

    सुरुदेखि नै आक्रामक ब्याटिङ गरेको सुदूरपश्चिमले पावरप्लेमा कुनै विकेट नगुमाई ६० रन जोडेको थियो । मन्सेले २८ बलमा अर्धशतक पूरा गरेका थिए । लुम्बिनीका बलरमाथि निरन्तर दबाब बनाएका उनले १० ओभरको समाप्तिमा टोलीको स्कोर ९० रन पुर्‍याए । त्यसपछि पनि उनको आक्रामक ब्याटिङ जारी रह्यो र सुदूरपश्चिमले एकतर्फी रूपमा खेल आफ्नो पक्षमा पार्‍यो ।

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो ।

    लुम्बिनीका लागि दिलीप नाथले अविजित ४० रन बनाए । कप्तान रोहित पौडेलले ३०, निरोशन डिकवेलाले २८, अलि शेखले २४ र डार्सी सर्टले २१ रनको योगदान दिए । सुदूरपश्चिमका स्कट कुगलेइनले दुई विकेट लिए भने थरिन्दु रत्नायके र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट हात पारे ।

    लुम्बिनीले सुरुवातदेखि नै विकेट गुमाएको थियो । आशिफ शेख एक रन बनाएर आउट भए भने डार्सी सर्ट २१ रनमा पभेलियन फर्किए । त्यसपछि रोहित र डिकवेलाले इनिङ्स सम्हाल्ने प्रयास गरे पनि ११औँ ओभरमा डिकवेला आउट भए । कप्तान रोहित ३० रन बनाएर रनआउट भए । त्यसपछि सन्दीप जोरा चार रनमा आउट भए पनि अलि शेख र दिलीप नाथले आक्रामक ब्याटिङ गर्दै टोलीलाई सम्मानजनक स्कोरमा पुर्‍याए ।

    उपाधि जितेसँगै सुदूरपश्चिमले एक करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता लुम्बिनीले ८० लाख रुपैयाँमा चित्त बुझाएको छ ।

    लगातार तेस्रोपटक फाइनलमा पुगेको सुदूरपश्चिमले यसपटक तेस्रो प्रयासमा उपाधि जित्न सफल भएको हो । अघिल्लो संस्करणको फाइनलमा पनि सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा भएको थियो । त्यतिबेला लुम्बिनीले उपाधि जितेको थियो । यसपटक भने सुदूरपश्चिमले लुम्बिनीलाई नै हराउँदै अघिल्लो हारको बदला लिएको छ ।

    फाइनल खेल हेर्न त्रिवि क्रिकेट मैदानमा ठूलो सङ्ख्यामा दर्शक उपस्थित भएका थिए । टिकट बिक्री खुला भएको १५ मिनेटमै सबै टिकट बिक्री भएका थिए । खेल अवलोकनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, गृहमन्त्री सुधन गुरुङ, शिक्षामन्त्री सस्मित पोखरेल र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायत विशिष्ट व्यक्तिहरू पनि मैदान पुगेका थिए ।


    images
    images

    Logo