images
images

साउदी अरबले नेपाल रेडक्रसलाई दियो ८ हजार कम्बल र ६ हजार म्याट्रेस


  • 111
    SHARES
  • २०८३ मंसिर ८ गते मंगलबार

    साउदी अरबले नेपाल रेडक्रसलाई दियो ८ हजार कम्बल र ६ हजार म्याट्रेस

    काठमाडौं । साउदी अरबले बाढी प्रभावित तथा उच्च जोखिममा रहेका समुदायका लागि नेपाल रेडक्रस सोसाइटीलाई ८ हजार थान न्यानो कम्बल र ६ हजार थान म्याट्रेस सहयोग गरेको छ ।

    साउदी अरबको किङ सलमान ह्युम्यानिटेरियन एड एन्ड रिलिफ सेन्टर (केएस रिलिफ) ले उपलब्ध गराएको उक्त राहत सामग्री नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरिएको हो ।

    नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नेपालका लागि साउदी अरबका राजदूत फहद बिन मोहम्मद बिन मनिखरले सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारीलाई राहत सामग्री हस्तान्तरण गरेका हुन् ।

    यस सहयोगबाट रसुवा, नुवाकोट, धादिङ र गोरखाका बाढी प्रभावित तथा उच्च जोखिममा रहेका २ हजार घरपरिवार लाभान्वित हुनेछन् । प्राप्त सामग्री छनोटमा परेका प्रत्येक परिवारलाई ४ थान कम्बल र ३ थान म्याट्रेसका दरले वितरण गरिने नेपाल रेडक्रस सोसाइटीका महामन्त्री ऋषिरमण खनालले जानकारी दिए ।

    लाभग्राहीको छनोट तथा प्रमाणीकरण सम्बन्धित जिल्ला शाखा र स्थानीय सरकारको समन्वयमा गरिने रेडक्रसले जनाएको छ ।

    सहयोगका लागि धन्यवाद व्यक्त गर्दै नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. भण्डारीले प्राप्त राहत सामग्री जतिसक्दो चाँडो प्रभावित समुदायसम्म पुर्‍याइने बताए । उनले नेपाल सरकार, अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासङ्घ (आईएफआरसी), रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) लगायतका साझेदार संस्थाको सहयोगमा बाढी प्रभावित क्षेत्रमा प्रतिकार्यका गतिविधि सञ्चालन भइरहेको जानकारी दिए ।

    NRCS 1.JPG

    कार्यक्रममा साउदी अरबका राजदूत मनिखरले मानवीय सहायता प्रदान गर्ने साझा उद्देश्यका साथ साउदी अरब अघि बढिरहेको बताए । रेडक्रसजस्तो मानवीय संस्थामार्फत राहत सामग्री प्रभावित समुदायसम्म पुर्‍याउन पाउँदा खुसी लागेको उनको भनाइ थियो ।

    त्यस्तै, आईएफआरसी नेपालका प्रमुख डेभिड फिसरले विपद्पछि प्रभावित समुदायको आवश्यकता र प्राथमिकताका आधारमा नेपाल रेडक्रसले निरन्तर मानवीय सहायता प्रदान गरिरहेको भन्दै प्रशंसा गरे ।

    आईसीआरसी नेपालका प्रमुख सन्देश श्रेष्ठले बाढीपछि बेपत्ता भएका व्यक्तिका परिवारलाई सहयोग, बेपत्ता सदस्यको खोज तथा पहिचान र शव व्यवस्थापनका लागि आवश्यक सामग्री उपलब्ध गराउनेलगायतका काममा नेपाल रेडक्रस र सरकारलाई सहयोग गर्दै आएको बताए ।

    कार्यक्रममा नेपाल रेडक्रसको बाढी प्रतिकार्य कार्यक्रमका संयोजक रुद्रनारायण अधिकारीले प्रभावित क्षेत्रमा सञ्चालन भइरहेका गतिविधिबारे प्रस्तुतीकरण गरेका थिए ।

    साउदी अरबको केएस रिलिफ विश्वका विभिन्न देशमा विपद्, द्वन्द्व तथा मानवीय सङ्कटबाट प्रभावित समुदायलाई सहायता प्रदान गर्दै आएको प्रमुख मानवीय संस्था हो ।


    images
    images

    Logo