काठमाडौं । ९ महिनामा वाणिज्य बैंकहरुले ५० अर्ब रुपैयाँ भन्दा बढी नाफा कमाएका छन् । चालु आर्थिक वर्षको साउनदेखि चैत महिनासम्म वाणिज्य बैंकहरुले सो बराबरको नाफा कमाएको सम्बन्धित बैंकहरुको वित्तीय विवरणमा उल्लेख गरिएको छ ।
बैंकहरुले प्रकाशित गरेको तथ्यांक अनुसार यो अवधिमा बैंकहरुले ५० अर्ब ७३ करोड ६० लाख ९० हजार रुपैयाँ खुद मुनाफा गरेको देखिएको छ । यसरी कामएको नाफामध्ये ३३ अर्ब ४५ करोड ८ लाख ५९ हजार रुपैयाँ शेयरधनीलाई वितरण गर्न मिल्ने अवस्थामा रहेको बैंकहरुको रिपोर्टमा उल्लेख गरिएको छ ।
यो अवधिमा सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक अगाडि देखिएको छ । सो बैंकले करिब ३ अर्ब ६८ करोड रुपैयाँ कमाएको छ । दोस्रोमा रहेको ग्लोबल आईएमईले ३ अर्ब ५७ करोड, राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब २७ करोड र एनआईशी एशिया बैंकले ३ अर्ब रुपैयाँ कमाएका छन् । यी बैंकहरु ३ अर्ब रुपैयाँ भन्दा बढी नाफा गर्ने बैंक रहेका छन् ।
३ अर्ब भन्दा कम नाफा भएका बाँकी बैंकमध्ये नेपाल इन्भेष्टमेन्ट बैंक, प्राइम कमर्शियल बैंक, एनएमबि बैंक, नेपाल बैंक, प्रभु बैंक, कृषि विकास बैंक र सिद्धार्थ बैंकले यो अवधिमा २ अर्ब भन्दा बढी कमाएका छन् ।
मेगा बैंक, सानिमा बैंक, कुमारी बैंक, नेपाल बंगलादेश बैंक, सिटिजन्स बैंक, एभरेष्ट बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी बैंक, हिमालयन बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, बैंक अफ काठमाण्डूू, सनराइज बैंक र एनसीसी बैंकको नाफा १ देखि २ अर्बको बीचमा रहेको छ । नेपाल एसबीआई बैंक, सिभिल बैंक र सेञ्चुरी बैंकको नाफा भने अझै अर्ब भन्दा माथि पुग्न सकेको छैन ।
वितरणयोग्य मुनाफा कति ?
तेस्रो त्रैमासको रिपोर्टलाई लाभांश क्षमताको मापन गर्ने त्रैमासको रुपमा लिने भएकोले यसमा बैंकहरुको वितरणयोग्य नाफा कति हुन्छ भन्नेमा महत्वपूर्ण भूमिका हुन्छ ।
चैत मसान्तसम्मको अवधिमा बैंकहरुको वितरणयौगय मुनाफा ३३ अर्ब ४५ करोड रहेकोमा सबैभन्दा बढी नबिल बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८० करोड रहको छ । नबिल मात्रै यस्तो एउटा बैंक हो जसको वितरणयोग्य नाफा खुद नाफाभन्दा बढी छ ।
नबिलपछि राष्ट्रिय वाणिज्य बैंकको वितरणयोग्न नाफा ३ अर्ब ४ करोड रुपैयाँ रहँदा अरु बैंकहरुको भने यस्तो नाफा ३ अर्ब रुपैयाँभन्दा कम रहेको देखिएको छ ।
धेरै वितरणयोग्य नाफा रहेका बैंकमध्ये तेस्रोमा रहेको ग्लोबल आईएमई बैंकको नाफा २ अर्ब ५६करोड रुपैयाँ छ । चैथो सूचीमा एनएमबि बैंक आइपुगेको छ, जसको नाफा २ अर्ब २७ करोड रुपैयाँ रहेको छ ।
बाँकी बैंकमध्ये ९ बैंकको वितरणयोग्य नाफा अर्ब भन्दा माथि छ । ११ वटा बैंकको वितरणयोग्य नाफा भने १ अर्ब समेत पुग्न सकेको छैन ।



