काठमाडौं । यस वर्ष एल निनोको प्रभावका कारण हिन्दकुश हिमालय क्षेत्रमा औसतभन्दा बढी वर्षा र तापक्रम वृद्धि हुने प्रक्षेपण गरिएको छ । नेपालसहित अफगानिस्तान, बङ्गलादेश र उत्तरी म्यानमारका विभिन्न क्षेत्रमा औसतभन्दा बढी वर्षा हुन सक्ने अनुमान गरिएको हो ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) सहित बेइजिङ नर्मल विश्वविद्यालय र चाइनिज एकेडेमी अफ साइन्सेसको वायुमण्डलीय भौतिक विज्ञान संस्थानले सार्वजनिक गरेको शीतकालीन मौसमी प्रक्षेपण प्रतिवेदनले यस्तो देखाएको हो ।
प्रतिवेदनअनुसार नेपालका अधिकांश क्षेत्रमा औसतभन्दा बढी वर्षा हुने सम्भावना छ । मध्य नेपालमा यसको प्रभाव अझ बढी देखिन सक्ने अनुमान गरिएको छ ।
यस्तै, पहाडी क्षेत्रमा औसतभन्दा बढी तापक्रम रहने भए पनि उच्च हिमाली क्षेत्रमा तुलनात्मक रूपमा चिसो हुने प्रक्षेपण गरिएको छ । उत्तरी नेपालमा औसतभन्दा बढी हिमपात हुने सम्भावना रहेकाले हिमपहिरो, हिमताल तथा नदी प्रणालीसँग सम्बन्धित जोखिम बढ्न सक्ने प्रतिवेदनमा उल्लेख छ ।
अमेरिकी राष्ट्रिय समुद्र तथा वायुमण्डलीय प्रशासन (एनओएए) को आकलनलाई उद्धृत गर्दै प्रतिवेदनले एल निनो सन् १९५० यताकै शक्तिशाली हुन सक्ने सम्भावना करिब ६० प्रतिशत रहेको जनाएको छ । यसको प्रभावले हिमालको तल्लो क्षेत्रमा वर्षा र उच्च क्षेत्रमा हिमपात बढाउन सक्ने वैज्ञानिकहरूको भनाइ छ ।
यद्यपि, समग्र क्षेत्रमा बढी वर्षाको सम्भावना रहे पनि हिन्दकुश हिमालयका केही भागमा खडेरी र डढेलोको जोखिम कायमै रहने प्रतिवेदनले औँल्याएको छ । विशेषगरी चीनको दक्षिणपूर्वी सिजाङ र म्यानमारका केही क्षेत्रमा वन तथा घाँसे मैदानमा डढेलोको जोखिम उच्चदेखि अति उच्च रहने अनुमान छ ।
इसिमोडका जलविज्ञ मनीष श्रेष्ठले मनसुन सकिएपछि पनि विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक तयारीलाई निरन्तरता दिनुपर्ने बताएका छन् ।



