रियाद । साउदी अरबको राजधानी रियादमा हुथी आक्रमणमा तीन नेपालीसहित ११ जना घाइते भएका छन् । रियादस्थित वित्तीय केन्द्रको एक अग्लो भवनमा हुथी विद्रोही समूहले गरेको आक्रमणमा परी उनीहरू घाइते भएका हुन्।
साउदी अरबको सरकारी समाचार संस्था साउदी प्रेस एजेन्सी (एसपीए) का अनुसार मंगलबार वित्तीय केन्द्रस्थित एक भवनलाई लक्षित गरी आक्रमण गरिएको थियो। आक्रमणमा दुई साउदी नागरिक, दुई भारतीय, तीन नेपाली र चार इजिप्सियन नागरिक घाइते भएकाे स्थानीय अधिकारीले बताएका छन्।
आक्रमणमा घाइते भएका नेपालीको नाम, ठेगाना, कार्यरत कम्पनी र स्वास्थ्य अवस्थाबारे भने साउदी अधिकारीले विस्तृत विवरण सार्वजनिक गरेका छैनन्। घटनालगत्तै सम्बन्धित सुरक्षा तथा उद्धार निकाय परिचालन गरिएको र मानवीय क्षति तथा सम्पत्तिको सुरक्षाका लागि आवश्यक सबै प्रक्रिया अपनाइएको सिभिल डिफेन्सले जनाएको छ।
यमनमा सक्रिय हुथी विद्रोही समूहलाई लक्षित गर्दै साउदी नेतृत्वको गठबन्धन सेनाका प्रवक्ता मेजर जनरल तुर्की अल मल्कीले रियादको वित्तीय केन्द्रस्थित एक टावरमा ‘कायरतापूर्ण आतंकवादी आक्रमण’ भएको बताएका छन्। एक साताभित्र रियादको वित्तीय केन्द्रस्थित सोही भवनमा भएको दोस्रो आक्रमण हो।
यसअघि गत नोभेम्बर १९ मा पनि उक्त भवनलाई लक्षित गरी आक्रमण भएको थियो। त्यसबेला भवनमा भौतिक क्षति पुगे पनि कुनै मानवीय क्षति भएको थिएन।



