images
images

दसैँमा पनि रोजगारीकै खोजीमा देश छाड्दै नेपाली


  • 73
    SHARES
  • २०८३ कार्तिक ६ गते बिहीबार

    दसैँमा पनि  रोजगारीकै खोजीमा देश छाड्दै नेपाली

    काठमाडौँ, ५ कात्तिक। दसैँको उल्लास, पारिवारिक भेटघाट र मान्यजनबाट टीका तथा जमरा ग्रहण गर्ने चटारो चलिरहेका बेला पनि रोजगारीको खोजीमा विदेशिने नेपाली युवाको लर्को रोकिएको छैन।

    बडादसैँको दोस्रो दिन बिहीबार पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश जाने यात्रुको भीड देखिएको छ। रोजगारी, उच्च शिक्षा, पारिवारिक भेटघाट तथा व्यक्तिगत कामका लागि विदेश जाने नेपालीमध्ये अधिकांश युवा रोजगारीको खोजीमा विदेशिन लागेको देखिन्छ।

    चाडपर्वमा परिवारसँग बसेर खुसी साटासाट गर्ने र आफन्तसँग भेटघाट गर्ने परम्परा भए पनि आर्थिक अवस्था सुधार्ने र भविष्य सुरक्षित गर्ने बाध्यताले धेरै नेपालीलाई दसैँकै बेला घर छाड्नुपरेको छ। स्वदेशमा पर्याप्त रोजगारी र आकर्षक अवसर नहुँदा विदेशिने युवाको सङ्ख्या बढ्दो छ।

    विमानस्थलमा देखिने युवाको भीडले देशभित्र रोजगारी र आर्थिक अवसरको अभावलाई समेत उजागर गर्छ। युवाशक्ति विदेशिने क्रम बढ्दा गाउँघरमा जनशक्ति घट्ने, खेतबारी बाँझिने र कृषि, उद्योग तथा उत्पादनमूलक क्षेत्रमा श्रमिक अभाव हुने चुनौती थपिँदै गएको छ।

    रोजगारीका लागि विदेशिन लागेका सिरहाका लखनकुमार यादवले स्वदेशमा पर्याप्त रोजगारीका अवसर नहुँदा विदेश जान बाध्य भएको बताए। योग्यता र क्षमताअनुसारको काम नेपालमै पाउने अवस्था भएको भए दसैँको बीचमा परिवार छाडेर विदेश जानुपर्ने थिएन भन्दै उनले परिवारको भविष्य सुरक्षित गर्न विदेश रोज्नुपरेको बताए।

    शिक्षा, स्वास्थ्य र दैनिक जीवनयापनको खर्च जुटाउनुका साथै परिवारको आर्थिक अवस्था सुधार्ने र भविष्यका लागि बचत गर्ने उद्देश्यले विदेश जान लागेको उनको भनाइ छ।

    विमानस्थलमा भेटिएका गुल्मीका प्रकाश खत्रीले पनि स्वदेशमा पर्याप्त रोजगारीका अवसर सिर्जना नहुँदा युवापुस्ता भविष्य निर्माणका लागि विदेशतर्फ आकर्षित भइरहेको बताए। नेपालमा रोजगारीका अवसर सीमित हुनु, उपलब्ध काममा सेवासुविधा न्यून हुनु र विदेशमा आर्थिक तथा सामाजिक अवस्था सुधार्न सकिने सम्भावना देखिनुले युवालाई विदेश जान प्रेरित गरेको उनको भनाइ छ।

    छोरालाई विदेश पठाउन विमानस्थल पुगेका कैलालीका ठक्कर कलेलले वैदेशिक रोजगारीले परिवारको आर्थिक अवस्था सुधार्न र जीवनस्तर उकास्न सहयोग पुर्‍याए पनि देशको सक्रिय जनशक्ति विदेशिँदा दीर्घकालीन चुनौती उत्पन्न हुन सक्ने बताए।

    दक्ष, मेहनती र ऊर्जावान् युवा विदेशिने क्रम बढे कृषि, उद्योग, निर्माण, पर्यटन तथा अन्य उत्पादनमूलक क्षेत्रमा आवश्यक जनशक्तिको अभाव हुन सक्ने उनको चिन्ता छ।

    दसैँजस्तो पारिवारिक जमघटको पर्वमा समेत युवाहरू रोजगारीको खोजीमा विदेशिनुले स्वदेशमै पर्याप्त अवसर सिर्जना गर्नुपर्ने आवश्यकतालाई पुनः उजागर गरेको छ। परिवारको भविष्य सुरक्षित गर्न विदेशिनुपर्ने बाध्यता अन्त्य गर्दै युवालाई आफ्नै देशमा काम गर्ने वातावरण निर्माण गर्नु चुनौतीका रूपमा देखिएको छ।

    - राष्ट्रिय समाचार समिति (रासस) को समाचारमा आधारित




    images
    images

    Logo