images
images

जलवायु परिवर्तनको मारमा हिमालकी रानी, नेपालमा ३९७ हिउँचितुवा


  • 105
    SHARES
  • २०८३ कार्तिक ७ गते शुक्रबार

    जलवायु परिवर्तनको मारमा हिमालकी रानी, नेपालमा ३९७ हिउँचितुवा

    काठमाडौँ, ६ कात्तिकः जलवायु परिवर्तनका कारण उच्च हिमाली क्षेत्रको पर्यावरणमा असर पर्दा दुर्लभ वन्यजन्तु हिउँचितुवाको बासस्थान र आहारामा चुनौती थपिएको छ। हिउँचितुवाको बासस्थानमा आएको ह्रासले आहारा प्रजाति घट्दै जाँदा यसको जीवनचक्रसमेत प्रभावित हुन थालेको संरक्षणकर्मीले बताएका छन्।

    दुर्लभ हिउँचितुवाको संरक्षणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्ष अक्टोबर २३ मा विश्व हिउँचितुवा दिवस मनाइन्छ। यस वर्ष ‘उच्च हिमाली पारिस्थितिकीय प्रणालीको संरक्षक, हिउँचितुवाको संरक्षण’ भन्ने नाराका साथ दिवस मनाइएको छ।

    नेपालसहित विश्वका १२ देशमा पाइने हिउँचितुवालाई स्वस्थ हिमाली पर्यावरणको सूचक मानिन्छ। नेपाल, अफगानिस्तान, भुटान, चीन, काजकिस्तान, किर्गिस्तान, भारत, मङ्गोलिया, रुस, पाकिस्तान, ताजिकिस्तान र उज्बेकिस्तानमा यसको बासस्थान छ।

    कृषि, वन तथा पर्यावरण मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा हिउँचितुवाको सङ्ख्या ३९७ रहेको छ। विश्वमा पाइने कुल हिउँचितुवामध्ये करिब १० प्रतिशत नेपालमा रहेको अनुमान छ। विश्वको कुल हिउँचितुवा बासस्थानको करिब दुई प्रतिशत क्षेत्र नेपालमा पर्छ। नेपालको उच्च हिमाली क्षेत्रमा करिब ३० हजार ५०० वर्ग किलोमिटर क्षेत्रफलमा यसको बासस्थान रहेको छ। विश्वभर हिउँचितुवाको सङ्ख्या चार हजारदेखि सात हजारसम्म रहेको अनुमान छ।

    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ पारिस्थितिकविद् हरिभद्र आचार्यले जलवायु परिवर्तनको असर उच्च हिमाली क्षेत्रमा पनि परिरहेकाले हिउँचितुवाको जीवनचक्र र दैनिक गतिविधि प्रभावित हुनु स्वाभाविक भएको बताए। उनका अनुसार बासस्थानमा आएको ह्रासले हिउँचितुवाको आहारा प्रजाति घटाउँदा खानाको अभाव हुने चुनौती थपिएको छ।

    हिउँचितुवालाई प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय सङ्घ (आईयुसिएन) को जोखिमसम्बन्धी रातो सूचीमा राखिएको छ। ‘हिमालकी रानी’का रूपमा चिनिने यो जनावर लजालु स्वभावको हुने भएकाले यसको प्रत्यक्ष अवलोकन गर्न कठिन हुन्छ। यो सामान्यतया समुद्री सतहबाट ५४० देखि पाँच हजार मिटर उचाइसम्म पाइन्छ।

    हिउँचितुवाको संरक्षणलाई प्राथमिकता दिँदै मन्त्रालयले ‘हिउँचितुवा संरक्षण तथा कार्ययोजना (२०२४–२०३०)’ तयार गरी कार्यान्वयनमा ल्याएको छ। उपलब्ध तथ्याङ्कअनुसार पूर्वी नेपालको तुलनामा पश्चिमी क्षेत्रमा हिउँचितुवाको सङ्ख्या बढी छ।

    ठूला बिराला प्रजातिमध्ये सबैभन्दा कम अध्ययन गरिएका वन्यजन्तुमध्ये हिउँचितुवा पनि एक हो। जलवायु परिवर्तन, बासस्थानको संरक्षण र आहारा प्रजातिको उपलब्धताले यसको दीर्घकालीन अस्तित्वमा महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले यसको संरक्षणमा थप ध्यान दिनुपर्ने देखिएको छ।




    images
    images

    Logo