images
images

चुनावमा गरिएका वाचा ३ वर्षमै पूरा गरिसक्यौं, अबको १० महिनाभित्र डेढ गुणा काम हुन्छ

वासुदेव थापा, मेयर, सूर्यविनायक नगरपालिका


  • 2.0K
    SHARES
  • २०७८ आषाढ २२ गते मंगलबार

    चुनावमा गरिएका वाचा ३ वर्षमै पूरा गरिसक्यौं, अबको १० महिनाभित्र डेढ गुणा काम हुन्छ

    वासुुदेव थापा सूर्यविनायक नगरपालिकाका मेयर हुन् । यो नगरपालिका राजनीतिक दल र जनप्रतिनिधिबीच सबैभन्दा कम विवाद हुने स्थानीय तहमध्ये एक हो । अहिलेसम्म नगरपालिकाले ल्याएका सबै बजेटहरु सर्वसम्मत रुपमा समयमै पेश हुने र पास गर्ने काम भइरहेका छन् । 

    यसरी सबैलाई मिलाएर अघि बढ्न सकेका मेयर थापा सबैको साथ र सहयोगले नगरपालिकाले छोटो समयमै राम्रो उपलब्धि हासिल गर्न सकेको बताउँछन् । यसै सन्दर्भमा यो अवधिमा नगरपालिकाले गरेका काम र प्राप्त भएका उपलब्धिको सन्दर्भमा केन्द्रित भइ मेयर थापासँग नेपालअर्थले गरेको समीक्षात्मक कुराकानी प्रस्तुत गरिएको छ । 

    तपाइँहरुको कार्यकालको ४ वर्ष बितेको छ । यो अवधिमा के के भए ? मुख्य उपलब्धिहरु बताइदिनुस् न !

    तपाइँले भन्नुभएजस्तै, हामी निर्वाचित भएको ४ वर्ष पूरा भएर पाँचौं वर्ष लागेको छ । तपाइँहरु उपत्यकापभत्रकै पत्रकार भएकोले हाम्रो उपलब्धिको बारेमा धेरै हदसम्म तपाइँहरु जानकार नै हुनुहुन्छ । यद्यपि म संक्षेपमा केही बताउन चाहन्छु । 

    हामीले निर्वाचित भएदेखि नै सूर्यविनायक नगरपालिकामा ‘समृद्ध नगरपालिका सुखी नगरवासी’को हाम्रो नारालाई सार्थक बनाउने दिशामा अग्रसर छौं । लामो समयदेखि स्थानीय तहमा जनप्रतिनिधिहरु नहुँदा यो नगरपालिका क्षेत्रमा आएका बजेटको पनि काम नभएर फ्रिज हुने, काम नहुने भएका थिए । हामी आएपछि आएका बजेटहरुलाई समयमै खर्च गर्ने र आयोजनाहरु सम्पन्न गर्ने कामहरु गर्यौं । 

    यसअन्तर्गत हामीले मुख्य जोड चाहिँ सडक पूर्वाधारमै दिएका छौं । त्यसपछि स्वास्थ्य, शिक्षा, खानेपानी र मठमन्दिर लगायत सम्पदाहरुको सुधारमा लाग्यौं । 

    नगरपालिका क्षेत्रमा मात्रै पछिल्लो ४ वर्षमा ६७ किलोमिटर सडक निर्माण भइसकेको छ । हामी आउँदा मुख्य राजमार्ग क्षेत्रबाहेक कालोपत्रे थिएन । अहिले टोलटोलमा पक्की बाटो पुगेको छ । २०/२५ किलोमिटर त हामीले ढलान नै गरेका छौं । 

    शिक्षा क्षेत्र अन्तर्गत ३४ वटा विद्यालयका पक्की भवनहरु योबीचमा बनेका छन् । नेपाल पुनर्निर्माण प्राधिकरणसँग सहकार्य गरेर हामीले सो भवन बनाएका हौं । 

    यो बीचमा करोड भन्दा बढी लागतका १२ वटा पक्की मोटरेबल पुल निर्माण भएका छन् । ५÷६ वटा पुल द्रुतगतिले बनिरहेका छन् । ग्रामीण कृषि सडक आयोजना (डोलिडार) अन्तर्गत ४० करोडमा रानीकोट–घ्याम्पेडाँडा को सडकहरु अहिले बनिरहेका छन् । दधिकोट, बालकोट र गुन्डु क्षेत्रमा अहिले यी सडकहरु अन्तिम चरणमा निर्माण भइरहेका छन् । 

    स्वास्थ्य क्षेत्र अन्तर्गत १० वटै वडाहरुमा हेल्थपोष्टहरु छन् । सूर्यविनायक नगरपालिकामा नगर हस्पिटल चाहिन्छ भनेर अहिलेको बजेटमा पनि हामीले ८ करोड विनियोजन गरेका छौं । इँटा टायल कारखानाको २० देखि २५ रोपनी जग्गा नेपाल सरकारसँग लिएर हामीले पूर्वाधारको काम गरिरहेका छौं । अहिले ९० प्रतिशत काम सम्पन्न भइसकेको छ । १० प्रतिशत काम सकिएपछि २५ शैय्याको सूर्यविनायक हस्पिटल आईसीयूर भेन्टिलेटर सहितको सुविधा दिनेछौं । यसलाई विस्तार गरेर १०० बेड पुर्याउने र अरु सेवा समेत थप्दै जाने योजना छ । 

    मठ मन्दिरको कुराहरुमा पनि पुरातत्व विभागसँगको सहकार्यमा यहाँका सम्पदाहरुको जिर्णोद्वार गर्ने क्रममा हामी लागेका छौं । केदारेश्वरको शिर मानिने डोलेश्वर मन्दिरलाई पनि नगरपालिकाले २ करोड रुपैयाँ दिएका छौं । 

    सामुदायिक वनतर्फ १५/१६ वटा वनको संरक्षण गरिएको छ । केन्द्र र प्रदेश सरकारसँग समन्वय गरेर खानेपानीका आयोजनाहरु निर्माण गरेका छौं । साना आयोजना हामी आफैं बनाउँछौं । हाम्रो क्षमताभन्दा बाहिर रहेका योजनाहरुका लागि हामीले केन्द्र र प्रदेश सरकारसँग समन्वय गरिरहेका छौं । 

    चुनावको बेला तपाइँहरुले गर्नुभएको वाचाहरु पूरा भए त ? 

    म आफैं त्यतिबेला पार्टीको उपसचिव, २ नम्बर क्षेत्र र नगरको इन्चार्ज थिएँ । त्यतिबेला नगरपालिकामा पार्टीको तर्फबाट घोषणापत्र बनाउने जिम्मा पनि मैले नै पाएको थिएँ । मेयरको टिकट पनि मैले पाएको अवस्थामा ४२ वटा बुँदामा घोषणापत्र बनाएको थिएँ । 

    ३ वर्षको अवधिमा घोषणापत्रमा उल्लेख भएका सबै कामहरु गरिसकिएको छ । नगरवासी, राजनीतिक दल, वुद्धिजीवी र पत्रकारको साथ र सहयोग हुने हो भने अबको १ वर्षसम्म भनेको भन्दा डेढ गुुणा काम हुन्छ । आजको मितिसम्म नगरपालिकामा सबै राजनीतिक दलले साथ दिइरहनुभएको छ । उहाँहरुले साथ नदिनुभएको भए यस्तो अवस्थामा काम हुुन सम्भव थिएन । 

    सूर्यविनायक नगरपालिकामा सत्तापक्ष/प्रतिपक्ष भन्ने कोही छैन, सबैलाई समान व्यवहार र सर्वसम्मत रुपमा कामहरु हुने गरेको छ । ऐन कानून, विधि र प्रक्रिया अनुसार काम गर्ने हो । कसले भोट हाल्यो वा हालेन भनेर व्यवहार हुने गरेको छैन । भोलि कहाँ हुने भन्ने कुुरा पनि गौण हो । तर, आफू यहाँ रहुञ्जेल सकेसम्म राम्रो गर्नुपर्छ भनेर म लागेको छुु । यसका लागि म अहोरात्र खटिएको छु । मेरा जनप्रतिनिधि साथीहरुलाई पनि खटाएको छुु । कर्मचारी साथीहरुलाई पनि इमान्दारितापूर्वक काम गर्न निर्देशन दिएको छुु । 

    पहिले नक्सापास लगायत विषयमा गुनासो आउने गरेको थियो । अहिले कर्मचारी थपेर त्यो कार्य व्यवस्थित बनाएका छौं । सूर्यविनायक नगरपालिकामा ढिलासुस्ती भएको गुनासो सुुनिएको छैन । केही कमजोरी बाँकी भएमा सुुधार गर्दै लैजान पनि हामी दृढ छौं । 

    तपाइँहरुको कार्यकालको अन्तिम बजेट आएको छ । के के विषयलाई प्राथमिकता दिनुभएको छ ? 

    अहिलेको बजेटमा चाहिँ हामीले स्वास्थ्य क्षेत्रलाई नै विशेष प्राथमिकता दिएका छौं । दोस्रो लहरको कोरोनाभाइरसले सूर्यविनायक नगरपालिकाका धेरै प्रभाव परेको छ । बाक्लो बस्ती भएको र जनघनत्व बढेको कारणले पनि यस्तो भएको हो । अब तेस्रो लहर आउँछ भनिएको छ । दोस्रो लहरको नियन्त्रण र तेस्रो लहर आउन नदिने तयारीमा हामी जुटेका छौं । 

    त्यसबाहेक अधुरा कामहरु पूरा गर्न हामी केन्द्रित भएका छौं । हामीले सुरु गरेका योजनालाई पूरा गर्ने योजना रहेमा छन् । त्यस्तै, शिक्षा लगायत अरु विषयमा पनि त्यतिकै प्राथामिकता दिएका छौं । अन्तिम बजेट भनेर हामीले जथाभाबी खर्च गरेका छैनाै‌ । सबैको सुझाव अनुसार बजेट विनियोजन गरेका छाैं ।

    दोस्रो चरणको कोभिडको नियन्त्रणको लागि तपाइँहरुले के के गर्नुभयो ? 

    हामीले नगरबासीलाई कोरोनाभाइरसबाट बच्ने उपायदेखि कारोना लागेमा उपचारसम्म गर्ने व्यवस्था गर्यौं । टोलटोलमा जनचेतना जगाउने, निशुल्क पीसीआर परीक्षण गर्यौं । कोभिड पुुष्टि भएकालाई खाली भएका अस्पताल खोजेर पठाउने व्यवस्था गर्यौं । हाम्रो आफ्नै हस्पिटल नभएकोले खाली भएका अस्पताल खोजेर निःशुल्क रुपमा एम्बुलेन्समार्फत् पठाउने व्यवस्था गर्यौं । 

    तपाइँहरुले बनाउँदै गरेको अस्पताल चाहिँ कहिले बनिसक्छ ? 

    यही समयमा सम्पन्न हुन्छ भनेर त भन्न सक्दिँन । तर, हामीले द्रुतगतिमा काम गरिरहेका छौं । त्यो बनिसकेपछि हस्पिटल सञ्चालनका सामानहरु पनि ल्याउनुुपर्यो । सबै प्रक्रियागत ढंगमा जानुुपर्ने भएकोले समय लाग्न सक्छ । मलाई जहाँसम्म लाग्छ, दशैंसम्म सञ्चालनमा आउँछ कि भन्ने सोचेका छौं । 

    कोरोना महामारीले २ वटा आर्थिक वर्षमा असर गरेको छ । योबीचमा विकास निर्माणका कामहरु कसरी गर्नुभयो ?

    हामीले कोरोनाको समयमा पनि स्वास्थ्य मापदण्ड पालना गरेर, रातको समयमा सामानहरु ल्याएर पनि काम गर्न लगायौं । काम हुन नसकेका ठाउँबाट रकमान्तर गरेर काम भएका ठाउँमा पठाइएको छ । सूर्यविनायक नगरपालिकामा ९५ प्रतिशत काम हुुन्छ । 

    शिक्षाको भौतिक पूर्वाधारको कुरा त गरिहाल्नुभयाे, गुणस्तर अभिवृद्धिको लागि चाहिँ के गर्नुभयो ? 

    भौतिक पूर्वाधारको कुरा त मैले अघि पनि भनेँ । ३४ वटा सामुुदायिक विद्यालयमा ३४ वटै भवन निर्माण सम्पन्न हुुनुु सानो कुरा होइन । गुुणस्तरको हिसाबले पनि सूर्यविनायक नगरपालिकामा सुरुमा राम्रो थियो । अरु नगरपालिका भन्दा राम्रो थियो । 

    तर, शिक्षक समायोजनका कारण शिक्षाको गुणस्तरमा अलिकति समस्या देखियो । योबीचमा निषेधाज्ञाका कारण भौतिक पठनपाठन पनि हुन सकेन, यसले पनि समस्या ल्यायो । यसलाई सुधार गर्न हामी जनप्रतिनिधिहरु लागेका छौं । 

    सूर्यविनायक नगरपालिका त पर्यटकीय रुपमा पनि सम्भावनायुक्त ठाउँ हो । यसका लागि के के काम भए ? 

    मैले तपाइँहरुलाई बताउनै पर्छ, अहिलेसम्म सूर्यविनायक नगरपालिकाको आम्दानी घरजग्गा र मालपोतको आधारमा मात्रै सीमित भयो । घरजग्गाको मूल्य माग र मूल्य बढ्ने र कारोबार हुने र यसमा किनबेच हुुँदा नगरपालिकाको आम्दानी आउने देखियो । 

    तर, यही अवस्था रहुञ्जेल नगरपालिकाले कर्मचारीलाई तलब खुवाउन पनि सक्दैन । यहाँ उद्योग कलकारखाना केही पनि छैन, यसले गर्दा आयस्रोत छैन । घरबहाल कर पनि इमान्दारितापूर्वक तिरिदैन । यस्तो अवस्था नेपालका सबै नगरपालिकाको अवस्था उस्तै छ । २० लाख घरभाडा आउँछ भने १ लाखको हिसाब देखाउने गरिएको छ । वर्षमा लाखौं आम्दानी हुने साथीहरुले १० हजार कर तिर्न गाह्रो मान्नुहुन्छ । विकास माग्न आउँदा चाहिँ एउटै योजनामा करोड माथिको आउँछ । 

    त्यसैले अबको अवस्थामा पर्यटन प्रवद्र्धन गर्न सकियो भने हाम्रो आम्दानी पनि बढ््छ भन्ने सोच हो । हरिया र अग्ला डाँडाकाँडा, राष्ट्रिय प्राणी उद्यान लगायत क्षेत्रको विकास गर्न सकियो भने यसले रोजगारी आम्दानी पनि बढ्थ्यो । 

    यही अनुसार नगरपालिकाको तर्फबाट डाँडाकाँडासम्म बाटो पुर्याउने, वृक्षारोपण गर्ने, होम स्टे तथा होटलहरुको प्रवद्र्धन गर्न प्रेरित गर्ने, साहसिक पर्यटन लगायतको विकास गर्न सहयोग गर्ने लगायत काम गरिरहेका छौं । रानीकोट, घ्याम्पेडाँडा, आशापुरी लगायत क्षेत्रमा हामीले स्थानीयलाई सहयोग गरेर काम अघि बढाएका छौं ।

    ४ वर्षमा तपाइँहरुले भोग्नुुभएका मुख्य समस्या चाहिँ के के हुन् ? 

    सबैभन्दा ठूलो समस्या त सडककै हो । तपाइँहरुलाई थाहै छ, हनुुमन्ते करिडोरमा लामो समयदेखि विवाद रहँदै आएको छ । त्यो समस्या समाधानको लागि मेरै संयोजकत्वमा समिति पनि बनेको छ । तर, विभिन्न स्वार्थ हाबी हुुँदा यसलाई निष्कर्षमा पुर्याउन सकिएको छैन । 

    यो करिडोर बनाउनै पर्नेछ । यसो गर्दा स्थानीयवासी र पर्यटकका लागि सहज हुुन्थ्यो । अनावश्यक ट्रापिक जाम हट्थ्यो । त्यसैले कसैले यो करिडोर छिटो बन्नुपर्छ भनिरहनुभएको छ । तर, यहीँ कसैको १०/२० रोपनी जग्गा समेत परेको छ । यो जग्गाको क्षतिपूर्ति नगरपालिकाले दिन सक्दैन, संघीय सरकारले दिँदैन । 

    यहाँ कसैको घरबास गुुम्ने अवस्था छ, उहाँहरु यो करिडोर बन्न नदिन मर्न मार्न समेत तयार हुने अवस्था छ । अदालतको आदेशले अर्को समस्या दिएको छ । यो समस्या समाधानका लागि मध्यपुर थिमि र सूर्यविनायक नगरपालिका मिल्नुपर्छ । तर, मध्यपुुर थिमिले बैठक बस्नै मानेको छैन । 

    यसलाई ल्यान्ड पुलिङमार्फत् टुुंग्याउने कुरा भएको छ । तर, प्रक्रिया पूरा गर्नुुपर्दा यसमा ढिलाइ भएको छ । अलिकति तलमाथि हुुँदा अख्तियारमा मुद्दा परिहाल्छ । प्रष्टीकरण दिँदादिँदै हैरान भइन्छ । यो सम्पन्न भयो भने नगर क्षेत्रको ट्राफिक व्यवस्थापन र सडक सुधारमा ठूलो प्रगति हुन्छ ।

    अरु क्षेत्रमा पनि पनि केही समस्या छन् । नेपालमा राम्रा मात्रै होइन, केही जालीझेली मान्छे पनि जन्मिएका छन् । अनावश्यक रुपमा मुद्दा हालिदिने, झगडा गर्ने, विवाद गर्ने लगायत समस्या छ । 

    कृषि र रोजगारी सिर्जनामा चाहिँ कसरी अगाडि बढ्नुभयो ? 

    कृषि क्षेत्रमा हामीले धेरै ठूलो ठूलो काम गर्न सकेका छैनौं । ट्याक्टर, बिउबीजन, तरकारी लगायतमा व्यक्तिगत र समूहगत रुपमा केही अनुदान दिने र बजार व्यवस्थापनका लागि केही काम भइरहेका छन्, त्यसबाहेक ठूलो काम भएका छैनन् । 

    कृषि क्षेत्रमा व्यापक लगानी गर्न हाम्रो नगरपालिकामा ठाउँ पनि छैन । त्यसरी लगानी गर्ने हो भने नगरपालिकाले करोडौं अनुदान दिन सक्छ । तर, बढ्दो जनसंख्या र सिँचाइको अभाव र नगरबासीको जग्गा समेत घट्दै जाँदा यस्तो गर्न सम्भव नभएको हो । यद्यपि हामीले भ्याएसम्मको काम गरेका छौं । 

    भक्तपुुरका ४ नगरपालिकामध्ये सूर्यविनायक कृषिको लागि सम्भावित ठाउँ पनि हो । बढ्दो शहरीकरणसँगै कृषियोग्य भूमि घट्दै गएको छ । कृषियोग्य भूमिको संरक्षण र शहरीकरण विस्तारको व्यवस्थापन चाहिँ कसरी गरिरहनुभएको छ ? 

    हामीले कृषि गर्न चाहनेलाई कृषि ऋण मिलाइदिने र नगरपालिकाबाट दिनुपर्ने अनुुदान, छुट लगायतका सुविधा दिइरहेका छौं । तर, नगरवासीले आफ्नो जमिनलाई कृषि जमिनको रुपमा उल्लेख गर्न चाहनुहुन्न, किनकी कृषि जमिनको मूल्यांकन निकै कम हुन्छ । 

    घडेरीका लागि हो भने निकै धेरै हुन्छ । कृषियोग्य भूमि भनेर नक्सापास रोक्न हामी सक्दैनौ । जमिनको संरक्षण गर्ने भनेर नक्सापास नगर्ने, किनबेच नगर्ने काम भने हामीले गरेका छैनौं । तर, कृषि गर्नेलाई प्रोत्साहनको काम चाहिँ हामीले गरिरहेका छौं । 

    शहरीकरण नै भए पनि व्यवस्थित शहरीकरणका लागि चाहिँ के के गर्नुभएको छ ? 

    यसका लागि निजी क्षेत्रलाई ल्यान्ड पुलिङ गरेर पूर्वाधारको काम गर्न दिने नीति बनाएका छौं । यो एकदमै उपयोगी साबित भएको छ । नगरपालिका आफैंले गर्न पूर्वाधार र जनशक्ति छैन । निजी क्षेत्रले गर्दा छिटो काम पनि हुने गरेको छ । अहिले नगरपालिका क्षेत्रमा ४/५ वटा यस्ता परियोजनाहरु सञ्चालन भइरहेका छन् । 

    अन्त्यमा नगरवासीहरुलाई भन्नुपर्ने केही छ ? 

    म हाम्रा नगरबासी, राजनीतिक दल, नागरिक समाज लगायतलाई के भन्न चाहन्छु भने तपाइँहरुको साथ र सहयोगले नै हामी आजको दिनसम्म आउन सफल भयौं । अब हाम्रो कार्यकाल १० महिना मात्रै बाँकी छ । तर, यो लामो समय हो । अझै साथ र सहयोग गरिराख्नुभयो भने बाँकी अवधिमा पनि राम्रो काम गरेर सूर्यविनायक नगरपालिकाको बजेटलाई तपाइँहरुको सल्लाह र सुझाव अनुसार खर्च गर्ने र अधुरा कामहरु पूरा गर्नेछु भन्न चाहन्छु । 


    images

    Logo