महोत्तरी । एक वर्षअघि कोभिड विशेष अस्पतालका रूपमा महोत्तरी अस्पताललाई विकास गरेर कोरोना नियन्त्रणका लागि दुई करोड ५५ लाख ५२ हजार लागतमा पाँच थान भेन्टिलेटर, श्यया, मोनिटर, इकोलगायतका आइसीयू सेटका उपकरण खरिद गरी ५० श्ययाको कोभिड विशेष अस्पताल सञ्चालन गरिएको थियो ।
गत वर्षको कोरोना महामारीका बेलामा पनि भेन्टिलेटर र आइसीयू सञ्चालनका लागि दक्ष जनशक्ति नपाएर सो अस्पतालले ती उपकरण प्रयोग गर्न सकेको थिएन भने वर्षभरि नै ती सामग्री प्रयोगविहीन बनेर थन्किएका थिए । अहिले कोरोना महामारीले आक्रान्त बनेका बेला ती करोडका उपकरण अझै प्रयोगविहीन अवस्थामै रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुरेश पाण्डेले बताए
गत वर्ष सो अस्पतालमा विभिन्न शीर्षकमा गरी कोभिड नियन्त्रणका नाममा रु ८ करोड बढी खर्च गरिएको थियो । ती खर्चको कुनै सदुपयोग नभएको र त्यसमा व्यापक अनियमितता भएको स्थानीयवासी शिवचन्द्र चौधरीले आरोप लगाए ।
अस्पतालमा अहिले कोभिड महामारीको सामना गर्न कुनै तयारी नरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा सतिश शाहले बताए । उनले उक्त अस्पताल अब स्थानीय निकाय मातहतमा गइसकेको र स्थानीय निकायबाट कोभिड नियन्त्रणको अहिलेसम्म ठोस कदम नचालिएकाले कोरोनाका बिरामी नराखिएको तथा उपचारसमेत शुरु नभएको जानकारी दिए ।



