काठमाडौं । अपर तामाकोशी जलविद्युत् आयोजना आएपछि दैनिक साढे ६ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा बचत हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अपर तामाकोशी आयोजनाले सुख्खा याममा समेत दैनिक १ करोड युनिटको हाराहारीमा विद्युत् उत्पादन गर्ने भन्दै हाल भारतबाट आइरहेको बिजुलीलाई यसले प्रतिस्थापन गर्ने बताए ।
‘अहिले सुख्खा याममा झन्डै पौने २ करोड युनिट बिजुली ढल्केवर प्रसारण लाइनबाट नेपाल आइरहेको छ । अपर तामाकोशीले सुख्खा याममा पनि झन्डै १ करोड युनिट बिजुलीको उत्पादन गर्छ,’ कार्यकारी निर्देशक शाक्यले भने, ‘अहिले हामीले करिब ६ रुपैयाँ ६८ पैसा तिरेर बिजुली आयात गरिरहेका छौं । यो नहुँदा दैनिक साढे करोडको विदेशी मुद्रा जोगिन्छ ।’
अपर तामाकोशीलाई प्राधिकरणले ३ रुपैयाँ २९ पैसा दिनेगरी विद्युत् खरिद सम्झौता गरेको छ । त्यसो गर्दा ३ रुपैयाँ ३९ पैसा बचत उनले बताए ।
आयोजनाको काम सकेपछि अपर तामाकोशीले असार १ गतेदेखि व्यवसायिक उत्पादन गर्ने तयारी गरेको छ । असारदेखि बर्षासमेत सुरु हुने भएकोले तामाकोशीको बिजुली बल्नेबित्तिकै देश विद्युत बचत (सरप्लस) को अवस्थामा पुग्ने कार्यकारी निर्देशक शाक्य बताउँछन् । विद्युत् बचत भएपछि तत्कालै भारत निर्यात गर्नसक्ने अवस्था आउने उनले बताए ।
आयोजना निर्माणको अन्तिम चरणमा पुगपछि अपर तामाकोशीले ड्याममा पानी भर्न सुरु गरिसकेको छ । अर्ध जलाशययुक्त आयोजनाको रुपमा रहेका तामाकोशीमा पानी भरिएपछि उत्पादन थाल्ने आयोजनाले जनाएको छ ।


