काठमाडौं । शुक्रबार भएका २ वटा छुट्टाछुट्टै अर्थपूर्ण मर्जरको निर्णयले बजारमा नयाँ तरङ्ग सिर्जना भएको छ । यी २ सम्झौतालाई निकै महत्वका साथ हेरिएको छ ।
खासगरी २ अर्बबाट ८ अर्ब पुँजी पुर्याउनुपर्ने बाध्यता हुँदासमेत मर्जरमा नगएका नेपाली बैंकिङ क्षेत्रका महारथी बैंकहरुले मर्जरमा जाने सैद्धान्तिक सहमति गरेकाले यी दुवै मर्जरलाई अर्थपूर्ण रुपमा हेरिएको हो ।
शुक्रबार नै २ ठुला बैंकहरु हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकले समेत अन्तिम विवादको टुङ्गो लगाएका थिए भने नबिल बैंकले युनाइटेड फाइनान्ससँग मर्जरमा जाने सहमति गरेको थियो ।
पछिल्लो समय भएका यी मर्जरका घटनाले २ वटा सन्देश दिएको छ । पहिलो सन्देश यो छ कि अबको नेपाली बैंकिङ क्षेत्रमा समृद्ध र बलिया संस्थाको खाँचो छ न कि धरमर रुपमा टिकिरहने संस्था । यसका साथै दोस्रो सन्देशले क्रस होल्डिङ भएका बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जरमा जान दबाब सिर्जना गरेको छ ।
नेपालको बैंकिङ क्षेत्रमा पुराना, ठुला र प्रतिष्ठित मानिएका बैंकहरुले नै अब मर्जरको विकल्प नदेखेपछि अन्य बैंकरहरुमा पनि मनोवैज्ञानिक दबाब पर्न जाने देखिन्छ एकातिर भने अर्कातिर कमजोर शाखासञ्जाल रहेका र जनताको बीचमा जानै हिच्किचाउने गरेका बैंकहरुलाई यी मर्जरले थप चुनौती थपिदिने देखिन्छ ।
पछिल्लो समय एनआईसी एसिया बैंकले तीव्र शाखा सञ्जाल तयार गरी केही समय राम्रो प्रतिफलसमेत दिएको सन्दर्भमा मर्जरलाई भन्दा आफ्नै शाखा सञ्जाल वृद्धि गरी बजार बढाउने एवं बोनस एवं हकप्रदका माध्यमबाट पँुजी बढाउँदै लान सकिने मानसिकतामा हाल परिवर्तन आएको छ ।
पछिल्ला विवरणहरुमा एनआईसी एसिया बैंकको खस्किँदो अवस्था र अस्तव्यस्त व्यवस्थापनका कारण पनि बैंकरहरुमा सो परिवर्तन आएको आँकलन गर्न सकिन्छ ।
बजारमा कस्तो प्रभाव पर्न सक्छ ?
ठुला र पुराना बैंकहरु नै मर्जरमा गइसकेपछि अब साना र नयाँ बैंकहरुलाई मर्जरमा जानै पर्ने बाध्यता रहन्छ । यसो हुँदा पहिलो प्रयास शेयरको क्रस होल्डिङ रहेका बैंक तथा वित्तीय संस्थाबीच मर्जरको प्रयास हुनसक्छ भने त्यसपछिको चरणमा विभिन्न समूह र समुदायको तादात्म्यताका आधारमा मर्जर प्रक्रिया अघि बढ्न सक्छ । त्यस अवस्थामा विभिन्न साना र कमजोर हैसियत भएका संस्थाहरुको शेयरमा समेत चलखेल हुन सक्ने देखिन्छ ।
नेपाली शेयर बजारको मूल हिस्सा नै बैंकिङ क्षेत्रले समेटेको सन्दर्भमा बैंकिङ क्षेत्रमा आउने उतारचढावले समग्र शेयर बजारमा नै प्रभाव पार्ने समेत आँकलन गर्न सकिन्छ ।


