काभ्रे । कोभिड–१९ तीव्र गतिमा फैलिरहेको अवस्थामा सो रोगको सङ्क्रमण रोकथाम र न्यूनीकरणका लागि आज राति १२ः०० बजेदेखि काभ्रेपलाञ्चोकका दुई राजमार्ग र मुख्य सडकखण्डमा निषेधाज्ञा गरिने भएको छ ।
जिल्ला कमान्ड पोष्टका संयोजकसमेत रहनुभएका जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले यही वैशाख २६ गते राति १२ः०० बजेसम्मका लागि निषेधाज्ञा जारी गरिने बताए ।
जिल्लामा शनिबार मात्रै ९८ जनामा सङ्क्रमण भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । सो सङ्ख्यासहित हालसम्ममा जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ४०७ पुगेको छ ।
निषेधाज्ञाको समयमा काभ्रेपलाञ्चोकको भक्तपुर र काभ्रेपलाञ्चोकको सिमाना अरनिको राजमार्गको साँगादेखि बनेपा बजार, धुलिखेल सरदमुकाम, पाँचखाल नगरपालिकाको बजार क्षेत्र हुँदै दोलालघाटसम्म सडकको दायाँबायाँ पाँच सय मिटरको क्षेत्र बन्द रहने भएको छ ।
त्यस्तै विपी राजमार्गको धुलिखेल चोकदेखि काभ्रेभञ्ज्याङ, भकुण्डेहुँदै मङ्गलटारसम्म सडकको दायाँबायाँ दुई सय मिटर, बनेपा तीनदोबाटोदेखि नाला भगवती मन्दिरसम्मको सडक दायाँबायाँ पाँच सय मिटर क्षेत्र, बनेपा–पनौती–खोपासी सडक खण्डको पाँच सय मिटर दायाँबायाँ क्षेत्र र पाँचखाल नगरपालिकाको जेरोकिलोदेखि कुन्ताबेशीसम्मको सडक दायाँबायाँ क्षेत्रको दुई सय मिटर क्षेत्रमा निषेधाज्ञा गरिने भएको छ ।


