काठमाडौं । कोरोनाको संक्रमण बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले ‘वर्क फ्रम होम’ प्रणाली सुरु गरेको छ । राष्ट्र बैंकले आइतबार आन्तरिक सर्कुलरस गर्दै प्रत्येक विभागलाई आवश्यकता अनुसार कर्मचारीलाई काम गराउन सर्कुलर गरेको हो ।
राष्ट्र बैंकले कर्मचारीलाई घरबाट काम गर्ने कि कार्यालयबाट भन्ने निर्णय गर्ने सम्पूर्ण जिम्मा विभागलाई दिएको छ । अब विभागीय प्रमुखल आफू मातहतका कर्मचारीलाई घरबाटै काम गराउन चाहेमा ‘वर्क फ्रम होम’को अनुमति दिन सक्नेछ । त्यसरी अनुमति पाएका कर्मचारीहरुले घरबाटै काम गर्दा पनि अफिसमै आएर काम गरेसरह हुनेछ ।
तर, कार्यालयमै आएर काम गर्नुपर्ने प्रकृतिका कामहरुका लागि भने त्यस्तो स्वीकृति दिइने छैन । घरबाटै काम गर्नेले पनि आवश्यकता अनुसार बैंकको सम्पर्कमा रहनुपर्ने र भनिएको समयमा तत्कालै कार्यालय उपस्थित हुनुपर्ने व्यवस्था समेत गरिएको छ ।
कुनै कर्मचारीले आफ्नो कार्यक्षेत्र बाहिर जाँदा भने बिदा स्वीकृत गराएर मात्रै जानुपर्ने राष्ट्र बैंक सर्कुलरमा उल्लेख गरिएको छ ।


