images
images

पहिलो श्रम गन्तव्य बन्यो यूएई


  • 550
    SHARES
  • २०८० पौष ७ गते शनिबार

    पहिलो श्रम गन्तव्य बन्यो यूएई

    काठमाडौँ । पछिल्लो महिना नेपालीको पहिलो श्रम गन्तव्य संयुक्त अरब इमिरेट्स (यूएई) बनेको छ । वैदेशिक रोजगार विभागका अनुसार सबैभन्दा धेरै मङ्सिर महिनामा १८ हजार ४ सय ९३ जनाले श्रम स्वीकृति लिएका हुन् । 

    अघिल्लो वर्ष मङ्सिर महिनामा तेस्रो श्रम गन्तव्य देश रहेको यूएई यो वर्ष भने सुुरुदेखि नै पहिलो श्रम गन्तव्य बन्न सफल भएको छ । विभागका अनुसार चालु आर्थिक वर्षको मङ्सिर महिनामा ७१ हजार २ सय ७६ जनाले श्रम स्वीकृति लिएकोमा यूएई पहिलो श्रम गन्तव्य देश बनेको हो । 

    विभागका अनुसार कतारका लागि १४ हजार १ सय ५९ जनाले श्रम स्वीकृति लिएर दोस्रो श्रम गन्तव्य देश भएको छ । जबकी अघिल्लो आर्थिक बर्ष मङ्सिर महिनामा कतार चौथोमा थियो । यो वर्ष मङ्सिरमा मलेसियाका लागि ९ हजार ७ सय ७५ जनाले मात्रै श्रम स्वीकृति लिएर चौथो श्रम गन्तव्य देश भएको छ । विभागका अनुसार यस वर्षको मङ्सिर महिनामा साउदी अरबका लागि १३ हजार ९ सय ८३ जनाले श्रम स्वीकृति लिएका छन् । 

    विभागका अनुसार चालुुु आर्थिक बर्ष २०८०/८१ को  पहिला  पाँच  महिनामा  रोजगारीका  लागि बदेसिएका मध्ये   सबैभन्दा   धेरै   मङ्सिरमा   गएका छन् । मङ्सिर महिनामा ७१ हजार २ सय ७६ युवाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका हुुन् । विभागका अनुसार चालु आवका पाँच  महिनामध्ये  कात्तिकबाहेक  अन्य  महिना  रोजगारीमा जानेको सङ्ख्या ५० हजारभन्दामाथि नाघेको छ । कात्तिकमा नेपालीको ठुला चाडपर्व दसैँ,  तिहार  भएका  कारण  यो  महिना  भने  बिदेसिनेको सङ्ख्या नबढेको हो ।

    गत आर्थिक बर्ष २०७९/८० को मङ्सिरमा श्रम स्वीकृति सङ्ख्या ६८ हजार ५ सय ६४ थियो । गत आर्थिक बर्षको सोही अवधिको तुलनामा श्रम स्वीकृति सङ्ख्या बढेका कारण चालु आर्थिक बर्षमा पनि विदेश जानेको सङ्ख्या उच्च हुने सङ्केत देखिएको छ । चालु वर्षको मङ्सिरसम्म वैदेशिक रोजगारीमा जानेको सङ्ख्या २ लाख ७७ हजार पुगेको छ । गत आर्थिक बर्षको मङ्सिरसम्म श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख २४ हजार २ सय ४३ थियो । गत वर्षको सोही अवधिको तुलनामा कम भए पनि यो वर्ष औसतभन्दा बढी युवा वैदेशिक रोजगारीमा जाने देखिएको छ ।

    विभागका निर्देशक एवं प्रवक्ता कविराज उप्रेतिले चाडपर्वका कारण रोकिएका युवा विदेश जान  सुरु  गरेकाले  सङ्ख्या  बढेको  जानकारी दिए । मङ्सिरमा नयाँको तुलनामा पुनः श्रम स्वीकृति  बढेका  कारण  समग्र  श्रम  स्वीकृति  सङ्ख्या  बढेको  हो  ।  दसैँ,  तिहार  र  छठपछि  पुनः श्रम स्वीकृतिको सङ्ख्या बढ्ने गर्छ । चालु आर्थिक बर्षको  कात्तिकसम्म  औसत  श्रम  स्वीकृति  लिनेको सङ्ख्या कम भए पनि मङ्सिरमा भने बढेको विभागको भनाइ छ । चालु  आर्थिक बर्षको  साउनमा  ५५  हजार  ५ सय ७५,  भदौमा ५० हजार ८ सय ८४, असोजमा ५६ हजार २ सय ३४ श्रम स्वीकृति लिएका छन् भने कात्तिकमा ४३ हजार ६ सय २२ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । मलेसिया जाने नेपालीको सङ्ख्या घटेसँगै  यो  वर्षको  सुरुमा  वैदेशिक  रोजगारीमा  जानेको सङ्ख्यामा धक्का लागेको थियो । 

    कोभिड महामारीपछि आर्थिक बर्ष २०७८/७९ बाट  लयमा  फर्किएको वैदेशिक रोजगारी चालु आर्थिक बर्षको सुरुको महिनाबाट  घट्न  थालेको  भए  पनि  मङ्सिरको  तथ्याङ्कले वैैदेशिक रोजगारीको अवस्थामा सुधार आउने देखिएको छ । गत  आव  ७ लाख  ७१  हजार  ३ सय २७  युवाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्याङ्क छ । अघिल्लो आर्थिक बर्ष २०७८/७९ मा यो सङ्ख्या छ लाख ३० हजार ९० ले श्रम स्वीकृति लिएर बिदेसिएका थिए । 

     

     


    images

    Logo