ललितपुर । ललितपुरको ग्वार्कोमा चक्रपथको मुख्य लेन नै बन्द भएपछि यात्रुले सास्ती भोगिरहेका छन् । तर अब नागरिकको यो सास्ती चाँडै सहज हुने छ। ग्वार्कोमा निर्माणाधीन फ्लाइओभरको काम तीव्रतर रूपमा अघि बढेपछि यस्तो सम्भावना देखिएको छ।
मुलुककै पहिलो फ्लाइओभर निर्माण ३० प्रतिशत सम्पन्न भएको छ। फ्लाइओभरको नयाँ डिजाइन स्वीकृत भएपछि असोजयता निर्माण तीव्र बनेको छ। पुस पहिलो सातासम्ममा फ्लाइओभरको पाइल (जग राखिने) काम सम्पन्न भइसकेको सडक विभाग अन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ। फ्लाइओभर निर्माणका लागि दुवैतिर १२/१२ गरी २४ वटा पाइल निर्माण गरिएको छ।
इन्जिनियर राकेश महर्जनले दैनिक २१ घण्टासम्म काम भइरहेको जानकारी दिनुभयो। २०७९ माघको अन्तिम साता काम सुरु गरिएको भए पनि असारमा काम रोकिएको थियो। डिजाइनमा त्रुटि भएको र आवश्यक उपकरण उपलब्ध हुन नसकेकाले निर्माण रोकिएको थियो। इन्जिनियर महर्जनले कामदारले सिफ्ट अनुसार कहिलेकाहीँ रातभर र कहिलेकाहीँ राति १२ बजेसम्म काम गरिरहेको बताए। उनले भने, “अहिलेसम्म फ्लाइओभरको मुख्य संरचनाका रूपमा रहेको जगको काम सम्पन्न भएको छ, सहायक संरचनाको काम भइरहेको छ। जगको काम सकेर त्यसमाथिको ढलान तथा पिलर निर्माण अघि बढाइएको छ।”
त्यसै गरी फ्लाइओभरको माथिल्लो भागको गर्डर (निर्माणमा प्रयोग हुने बिम) का लागि आवश्यक तयारी भइरहेको उनले बताए। इन्जिनियर महर्जनका अनुसार अब पुल चढ्ने ‘र्याम्प वाल’ बनाउने तयारी भइरहेको छ। उनका अनुसार फ्लाइओभरमा सवारीसाधन चढ्नका लागि आवश्यक आरइ वाल (पर्खालको प्रकार) को ढलान सुरु भइसकेको छ।
इन्जिनियरिङ, प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन (इपिसी) मोडलमा फ्लाइओभर निर्माण भइरहेको छ। यो मोडलमा कम्पनीले नै आयोजनाको ‘सर्वे, डिजाइन र कमिसनिङ’ गर्नुपर्ने हुन्छ। उनले भने, “इपिसी मोडेलमा सडक विभागले स्वीकृति दिए पनि त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निर्माण कम्पनीकै हुन्छ।”
आयोजनाको लागत बढे पनि त्यसको जिम्मेवार सम्बन्धित निर्माण कम्पनी नै हुने र त्यसमा सरकारले कुनै दायित्व बेहोर्नु नपर्ने उनको भनाइ छ। फ्लाइओभरको उचाइ छ मिटर हुने छ । बालकुमारीतर्फबाट चार प्रतिशतको ग्रेडमा चढेपछि फ्लाइओभर पुगिने छ। त्यतातर्फ दुई सय ८० मिटर लामो र्याम हुने र सातदोबाटोतर्फ झर्न एक सय ७५ मिटर लम्बाइको र्याम हुने छ।
‘सुपर स्ट्रक्चर’ ३५ मिटर लम्बाइको हुने फ्लाइओभरको जम्मा लम्बाइ चार सय ९० मिटर हुने छ। १७ करोड ६८ लाख रुपियाँ लागत रहेको फ्लाइओभर निर्माणको ठेक्का आरसी/समानान्तर/रेलिग्रे (संयुक्त) ले पाएको छ।


